१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ भदौ २२ बुधबार ०७:४४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबार वैद्यखानामा बेथिति

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ भदौ २२ बुधबार ०७:४४:००

कच्चा पदार्थ अभावमा डेढ महिनायता औषधि उत्पादन ठप्प, कर्मचारी आउँछन्, हाजिर गरेर घर फर्किन्छन्

सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’मा चालू आर्थिक वर्षदेखि औषधि उत्पादन ठप्प छ । कर्मचारीहरू पदस्थापनमै अल्झिएका कारण कच्चा पदार्थको अभावमा औषधि उत्पादन रोकिएको हो । वैद्यखानामा विकास समितिका ४२ जना, सरकारी दरबन्दीअन्तर्गतका दुईजना र अन्य एकजना गरी हाल ४५ जना कर्मचारी कार्यरत छन् । तर, औषधि उत्पादन ठप्प भएपछि वैद्यखानामा कर्मचारीहरू हाजिरी गरेर घर फर्किरहेका छन् । 

एक सय ५० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको सिंहदरबार वैद्यखाना डेढ महिनायता निमित्त कार्यकारी निर्देशकको नियुक्तिको विवादमा अल्झिएको छ । निर्देशकको पदस्थापन र कर्मचारीहरूको आपसी विवादका कारण वैद्यखानाका सबै काम रोकिएपछि कर्मचारीहरू हाजिरी गरेर घर फर्किरहेका छन् । 

ऋषिराज रेग्मी वरिष्ठ मार्केटिङ अधिकृत, सिंहदरबार वैद्यखाना

उत्पादन शाखामा रहेका २२ जना कर्मचारी काम नहुँदा डेढ महिनादेखि फुर्सदिला छन् । औषधि उत्पादन ठप्प हुँदा कर्मचारीहरू हाजिरी गरेर घर फर्किने गरेका छन् ।

गत आर्थिक वर्षमा उत्पादन गरिएको त्रिफलालगायतका केही आयुर्वेदिक औषधि बिक्री–वितरण गरिए पनि औषधि उत्पादन ठप्प हुँदा कर्मचारीहरू हाजिरी गरेर घर फर्किरहेका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए । उनका अनुसार उत्पादन शाखामा रहेका २२ जना कर्मचारी काम नहुँदा डेढ महिनादेखि फुर्सदिला छन् । उत्पादन शाखामा कार्यरत एक कर्मचारी भन्छन्, ‘औषधि बनाउन कच्चा पदार्थ नै छैन । हाजिरी गरेर दिनभरि गफ गरेर बस्नेबाहेक काम छैन । दिनभरि वैद्यखानामा भइरहेको बेथितिबारे कुरा गर्ने, एकले अर्कोलाई दोष लाउने गरेर दिन बित्छ ।’ 

वर्षौँदेखि कर्मचारीको आपसी विवादका कारण खस्किँदै गएको वैद्यखानामा यो वर्ष उत्पादन शून्यमा झरेको हो । गत आर्थिक वर्षसम्म ११ वटा औषधि उत्पादन भइरहेको वैद्यखानामा गत असारमा निमित्त कार्यकारीको पदस्थानको विषयमा विवाद चुलिएयता वैद्यखानाको उत्पादन पनि रोकिएको हो । बर्सेनि पाँच करोडको बिक्री लक्ष्य लिएको वैद्यखानाको उत्पादन निरन्तर घट्दै गएको छ । वैद्यखानाका उत्पादन शाखाको तथ्यांकअनुसार ०६६/६७ देखि ०६९/७० सम्म वैद्यखानामा एक सय ५० किसिमका आयुर्वेदिक औषधि उत्पादन हुन्थे । खस्किँदो व्यवस्थापनका कारण ०७१/७२ देखि ०७४/७५ को अवधिसम्म आइपुग्दा ४० प्रकारका औषधि उत्पादन भएको तथ्यांक छ । 

गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको जम्मा ३१.९६ प्रतिशत मात्रै औषधि उत्पादन भएको थियो । उत्पादन शाखाका अनुसार आव ०७८/७९ मा ४५ हजार आठ सय १२ केजी औषधि उत्पादन गर्ने लक्ष्य लिइए पनि १४ हजार ६ सय ३८ केजी औषधि मात्रै उत्पादन भएको छ । यस्तै, आव ०७७/७८ मा समेत ५७ हजार आठ सय २७ केजी औषधि उत्पादन गर्ने वार्षिक लक्ष्य लिएकोमा १३ हजार चार सय ६३ केजी मात्रै औषधि उत्पादन भएको तथ्यांक छ । चालू आवमा डेढ महिना बितिसक्दासमेत कच्चा पदार्थ खरिदको टुंगो छैन । उत्पादन भइरहेका औषधिको समेत कच्चा पदार्थ अभावमा उत्पादन सुरु हुन सकेको छैन ।  

निर्देशक नियुक्तिबारे चारवटा मुद्दा सर्वोच्चमा विचाराधीन
सिंहदरबार वैद्यखानाको निर्देशक नियुक्तिका विषयमा सर्वोच्चमा चार निवेदन परेका छन् । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रीस्तरीय निर्णयपछि आरोप–प्रत्यारोपमा मुद्दा दायर भइरहेका छन् । यो विवादलाई पहिलोपटक डा. सबरी साहले सर्वोच्च पुर्‍याएका थिए । 

गत असारमा मन्त्रीस्तरको निर्णयले डा. साहलाई हटाएर दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा. श्यामबाबु यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि साहले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यादवलाई तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट सिंहदरबार वैद्यखानामा काजमा खटाएका थिए । आफूलाई हटाउनु कानुनविपरीत रहेको भन्दै उनी १९ असारमा उत्प्रेषणको रिट लिएर पुगे । जसमाथि सर्वोच्चले १० असारको निर्णय खारेज हुने गरी अन्तरिम आदेश दियो । उक्त आदेश कार्यान्वयन नभएको भन्दै साहले फेरि निवेदन हाले ।

जसमा विपक्षीसँग सर्वोच्चले जवाफ माग्यो । यो विवाद चल्दै गर्दा फेरि १ साउनमा आफूलाई निमित्त निर्र्देशक दाबी गर्दै साहलाई प्रतिवादी बनाई डा. यादव सर्वोच्च पुगे । सिंहदरबार वैद्यखाना विकास समितिले पनि ५ साउनमा डा. साहलाई विपक्षी बनाउँदै अर्को रिट दायर गर्‍यो । अर्को रिट भने १३ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुमा कामकाज गर्न पठाइएका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेदविज्ञ (दसौँ तहका) डा. सबरी साह’लाई विपक्षी बनाई दायर गरेकी थिइन् । 

सिंहदरबार वैद्यखाना सञ्चालक समितिले डा. यादवलाई वैद्यखानाका निमित्त कार्यकारी निर्देशकका लागि सिफारिस गरेपछि १५ असारमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डा. यादवलाई सिंहदरबार वैद्यखानाका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका थिए । तर, डा. साहले भने आफूलाई वैद्यखानाबाट हटाउन नपाउने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि अदालतले २१ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० असारको निर्णय तथा सोसम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु–नगराउनु, यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गर्‍यो । तर, १५ असारमा डा. यादवलाई दिइएको निर्देशकको जिम्मेवारीको विषयमा सुनुवाइ गरिएको छैन । यो मुद्दाको सुनुवाइका लागि २६ भदौका लागि पेसी तोकिएको छ ।