मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ २० सोमबार १४:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्नाको वंश विस्तार र स्थानान्तरणकाे पहिलो प्रयास असफल

चितवन ल्याइएका सबै अर्ना मरेसंगै राज्यको डेढ करोड व्यर्थ

Read Time : > 1 मिनेट
२०७९ भदौ २० सोमबार १४:१३:००

वंश विस्तार गर्न चितवन राष्ट्रिय निकुञ्ज ल्याइएका सबै अर्नाको मृत्यु भएसँगै राज्यको डेढ करोडभन्दा बढी रकम खेर गएको छ। ०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना काठमाडौंबाट तीनवटा अर्ना चितवन ल्याइएको थियो। पछि वंश विस्तार गरेर आठवटा पाडापाडी जन्मिएका थिए।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ०७१ पुस २२ मा नेपाल सरकारको सचिवस्तरीय बैठकले पाँच भाले र १५ पोथी गरी २० वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज ल्याउने निर्णय गरेको थियो। ल्याइएका र विस्तार भएकामध्ये केही प्राकृतिक रूपमा मर्दा केहीलाई बाढीले बगायो भने केहीलाई बाघले खायो। ‘कालगति र बाघको आक्रमणबाट जोगिएर बचेका तीनवटा पोथी अर्नालाई पनि इक्लोजर (तारबार)को कमजोर ठाउँबाट छिरेर बाघले भदौ पहिलो हप्ता मार्‍याे। ०७४ को बाढीमा पाँच अर्ना मरेका थिए। 

अर्ना मरेर सकिएपछि राज्यको एक करोड ३६ लाख ४४ हजार रुपैयाँ व्यर्थ भएको छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जको कार्यालयबाट अर्ना व्यवस्थापनका लागि ६३ लाख १८ हजार र  राष्ट्रिय प्रकृति संरक्षण कोषबाट एक करोड १० लाख ४६ हजार चार सय ६२ रुपैयाँ खर्च भएको छ। तिवारीका अनुसार निकुञ्जको कार्यालयबाट अर्ना व्यवस्थापनका लागि आर्थिक वर्ष ०७६/७७ मा स्थानान्तरित अर्नाहरूका लागि इन्क्लोजर निर्माण तथा व्यवस्थापनका लागि ५८ लाख १८ हजार, ०७७/७८ मा सोलार पावरसहित नयाँ अर्ना इन्क्लोजर निमार्णमा पाँच लाख खर्च भएको थियो। अर्ना व्यवस्थापनका लागि ०७४ देखि ०७९ सम्म निकुञ्जले एक करोड २५ लाख ३० हजार छुट्याएकोमा बाँकी रकम भने खर्च हुन सकेन।

राष्ट्रिय प्रकृति संरक्षण कोषले ०७३/७४ मा अर्ना स्थानान्तरणका लागि हरियो वन जेडएसएलका लागि दुई चरण गरेर झन्डै ४० लाख, ०७४/७५ मा अर्ना व्यवस्थापनका लागि हरियो वन कार्यक्रमअन्तर्गत नै १२ लाखभन्दा बढी, ०७५/७६ मा झन्डै १६ लाख, ०७६/७७ मा साढे २० लाख र ०७७/७८ मा झन्डै साढे २२ लाख  खर्च गरेको थियो।

‘दुर्लभ बन्दै गएको अर्नाको क्षतिको त कुनै तुलना नै गर्न सकिँदैन,’ तिवारीले भने, ‘यद्यपि, चितवन ल्याइएका अर्नाले पाडापाडी पाउनुले यहाँ अर्नाको वंश विस्तार गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।’ चितवनमा अर्नाको संख्या शून्य भएको एक हप्ता बित्दा पनि सम्बन्धित निकायले भने यसको कारण पत्ता लगाउन कुनै अध्ययन थालेका छैनन्।

मन्त्रिपरिषद्ले क्रमिक रूपमा २० अर्ना ल्याउने निर्णय गरे पनि बाँकी पाँचवटा अर्ना चितवन ल्याइएको छैन। ०७३ मा कोसीबाट १२ वटा अर्ना चितवन निकुञ्जमा ल्याउँदा नै चितवनबाट पाँचवटा गैँडा कोसीलाई दिने प्रतिबद्धता जनाइएको थियो। तर, निकुञ्जले गैँडा नदिएको र पठाइएका अर्नासमेत मरेर सकिएपछि अब कोसीटप्पुले थप अर्ना दिने सम्भावना छैन।

पाडापाडी जन्माएर वंश विस्तार हुँदासमेत व्यवस्थापकीय कमजोरी हुँदा अर्ना सकिएको संरक्षणकर्मी बताउँछन्। अर्ना राखिएको खोरमा दैनिक निरीक्षण, उनीहरूको अवस्थाबारे निकुञ्ज बेखबर हुँदा यो अवस्था आएको उनीहरूको बुझाइ छ। अर्नालाई सुरक्षित गर्न ३० हेक्टर क्षेत्रफलको इन्क्लोजर निर्माण गरिएको थियो।

कोसीमा मात्रै अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भन्दै अन्यत्र स्थानान्तरण गरेर अर्नाको संख्या विस्तार र विकासका लागि  चितवनमा अर्ना ल्याइएको थियो। यद्यपि, सन् १९६१ सम्म चितवनको घना जंगलमा पनि अर्ना पाइन्थ्यो। अर्नाको सरदर आयु २५ वर्षको हुन्छ। यिनीहरूले आफ्नो जीवनकालमा पाँचवटासम्म बच्चा जन्माउन सक्छन्। भाले अर्ना तीन–चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजनन योग्य हुन्छ। यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुन्छ।