
भारतीय समाजवादी, प्रजातन्त्रवादी एवं कम्युनिस्ट पार्टीका नेताले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई महान् समाजवादी एवं भारतीय लोकतन्त्रवादीका सच्चा मित्र भन्दै सम्झेका छन् । गिरिको सम्झनामा प्रदीप गिरि मित्र समाजद्वारा आयोजित कार्यक्रममा उनीहरूले गिरिबाट नेपाली र भारतीय दुवैले प्रेरणा लिएको बताएका छन् ।
भारतीय कंग्रेसका नेता जनार्दन द्विवेदीले प्रदीप गिरिमा जस्तो समाजवादी गुण धेरै मानिसमा नभएको भन्दै प्रशंसा गरे । गिरिसँग लामो मित्रताको चर्चा गर्दै उनले नेपालमा कम्युनिस्ट र समाजवादीहरू मिल्नुपर्ने बताए । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता सीताराम यचुरीले भारतका समाजवादी र साम्यवादीबीच गहिरो मित्रता रहेका गिरिको निधन दुवै देशका जनताका लागि अपूरणीय क्षति भएको बताए ।
भारतीय कंग्रेसकै नेता मोहन प्रकाशले गिरिले भारतमा निर्वासित जीवन कष्टकर ढंगले व्यतीत गरेको सम्झिए । बिहान–साँझ के खाने भन्ने चिन्तामाझ, गिरिले नेपालमा समाजवादी आन्दोलन सफल बनाउने सपना देखेर समर्पित भएको र यसबाट आफू प्रभावित भएको बताए । जनता दल युनाइटेडका नेता केसी त्यागीले भारतीय राजनीति र अन्तर्विरोधबारे गिरि धेरै नै जानकार भएको बताए । उनले गिरिसँग लोकतान्त्रिक आन्दोलनका क्रममा र प्रचण्डसँग भूमिगतकालमा संवाद गर्ने क्रममा सहकार्य भएको स्मरण गरे ।
समाजवादी नेता विजय प्रतापले गिरि महान् समाजवादी रहेको र उनले नेपथ्यमा रहेर समाजवादी आन्दोलनलाई योगदान दिएको सम्झना गरे । समाजवादी चिन्तक एवं प्रोफेसर आनन्द कुमारले समाजवादीहरूले सपना देखेजस्तो असली समाजवादी जीवन गिरिले व्यतीत गरेको धारणा राखे । समाजवादी नेता प्रोफेसर राजकुमार जैनले बनारसको समाजवादी स्कुलमा दीक्षित रहेर गिरिले नेपाल र भारतको समाजवादी आन्दोलनमा ठूलो योगदान दिएको बताए ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले मुलुकको आर्थिक विकास र समुन्नतिका लागि वैकल्पिक विचार र चिन्तन बोकेर गिरिले सम्मानित जीवन व्यतीत गरेको बताए । पूर्वराजदूत केभी राजनले गिरि जनताका सच्चा भएको स्मरण गरे । पूर्वराजदुत राकेश सुदले राजनीतिमा लामो समय व्यतीत गरे पनि गिरि सामाजिक अभियन्ता, समाजसेवी र बुद्धिजीवी रहेको बताए ।