Skip This
शरद् ऋतुमा आरोहीको रौनक बढ्ने संकेत, १०२ आरोहीले लिए अनुमति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १५ बुधबार o८:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शरद् ऋतुमा आरोहीको रौनक बढ्ने संकेत, १०२ आरोहीले लिए अनुमति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १५ बुधबार o८:४६:oo

यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १४ भदौसम्म २५ देशका एक सय दुई अरोहीलाई आरोहणको अनुमति दिएको छ । विभिन्न पाँचवटा हिमाल आरोहण गर्न स्वीकृति लिनेहरूमा १९ जना महिला आरोही पनि रहेका छन् । सबैभन्दा धेरै मनास्लु (८,१६३ मि) आरोहणका लागि आठवटा टिमबाट १९ जना महिलासहित ८८ जनाले स्वीकृति पाएको पर्यटन विभागले जनाएको छ ।

सर्वोच्च शिखर सगरमाथा (८,८८४.८६ मि) आरोहणका लागि एक महिलासहित पाँच जनाले स्वीकृत लिएको छ । यस्तै, धौलागिरी (८,१६७ मि) हिमाल आरोहण गर्न पाँच जना, हिमलुङ हिमाल (७,१२६ मि) आरोहण गर्न तीनजना रसरिवुङ (६,३४६ मि) आरोहणका लागि एक जनाले स्वीकृति लिएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि स्वीकृति लिनेहरूले एक करोड ४२ लाख रुपैयाँ रोयल्टी बुझाएका छन् ।

विभिन्न हिमाल आरोहणका लागि स्वीकृति पाउनेमा सबैभन्दा धेरै अमेरिकी चार महिलासहित २२ जना रहेका छन् । दोस्रोमा अर्जेन्टिनाबाट दुई महिलासहित १६ जनाले आरोहणको स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्सबाट १० जना, इन्डियाबाट ६ जनाले आरोहणको स्वीकृति लिएको विभागले जनाएको छ ।

हिमाल आरोहणको स्वीकृति लिनेहरूमा अष्ट्रेलिया, क्यानडा, कोस्टारिका, चेक रिपब्लिक, इस्टोनिया, फ्रान्स, जर्मनी, इन्डिया, इराक, इजरायल, इटाली, जापान, मोरोक्को, नेदरल्यान्ड, पोल्यान्ड, रोमानिया, रसियन फेडेरेसन, साउथ अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, युकेका आरोहीहरू रहेका छन् । 

शरद्कालीन ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही निकै न्यून हुन्छन् । सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । यो वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोहण दलबाट ७४ महिलासहित तीन सय २५ जनाले अनुमति पाएका थिए । 

वसन्त ऋतुमा इतिहासकै सबैभन्दा धेरै एक सय ३१ आरोहण दलबाट झन्डै एक हजारजनाले २७ हिमाल आरोहणका लागि स्वीकृति लिएका थिए । वसन्त ऋतुमा आएका आरोहीको संख्याले शरद्कालीन ऋतुबाट नेपालको पर्यटन लयमा फर्किने अपेक्षा गरिएको छ । 

त्यसो त नेपाल भ्रमणमा आउने विदेशी पर्यटक निरन्तर बढिरहेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । कोभिड सुरु हुनुअघि सन् २०१९ को तुलनामा २०२२ मा ७५ प्रतिशतसम्म पर्यटक आगमन रिकभर भइसकेको छ । 

शरद् ऋतुसँगै सुरु हुने पर्यटकीय सिजनमा पर्यटक आगमन लयमा फर्किने अपेक्षा रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सन् २०२२ को पहिलो सात महिना (जनवरी–जुलाई)सम्म दुई लाख ८५ हजार तीन सय ६३ पर्यटक जहाज चढेर नेपाल आएका छन् । जुलाई २०२२ मा सन् २०१९ को जुलाईको तुलनामा नेपाल भित्रिने पर्यटक ७६ प्रतिशतले सुधार आएको उनको भनाइ छ ।  शरद् ऋतुमा हिमाल चढ्न आउने आरोहीका कारण पनि पर्यटक आगमन बढ्ने पर्यटन विभागको भनाइ छ । यो सिजन ट्रेकिङका लागि पनि उत्कृष्ट मानिन्छ ।