
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भारतीय राष्ट्रिय सुरक्षा कलेजका प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गरेका छन्। भारतीय एयर भाइस मार्सल तेजवीर सिंह नेतृत्वको प्रशिक्षार्थी टोलीसँग मन्त्री शर्माले अर्थ मन्त्रालयमा अन्तर्क्रिया गरेका हुन्।
कोरोना महामारीपछि नेपालको आर्थिक स्थिति, नेपाल–भारत व्यापार, नेपाल–बंगलादेश सिधा व्यापारको सम्भावना तथा समग्र दक्षिण एसियाको विकासलगायतका विषयमा अन्तर्क्रिया भएको अर्थ मन्त्रालयले जनाएको छ।
सो छलफलमा मन्त्री शर्माले कोरोना महामारीमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायले ‘फ्रन्ट लाइन’ मा रहेर काम गरेको जानकारी गराएका थिए। महामारीमा सुरक्षा निकायसँगै स्थानीय तहले निकै प्रभावकारी कार्य गरेकोसमेत उनले बताएका थिए।
‘कोरोना महामारीमा सम्पूर्ण निकाय र स्थानीय तहले सबभन्दा प्रभावकारी कार्य गरेका थिए,’ उनले भने, ‘यस किसिमको महामारी कुन वेला कसरी आउँछ, थाहा हुँदैन। त्यसैले सेनाजस्तै ‘एलर्ट’ रहनुपर्छ। स्थानीय तह तथा सम्पूर्ण निकायलाई तयारी राखेका छौँ।’