मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ भदौ १२ आइतबार ०७:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाउँ पसेनन् जीवन बिमा कम्पनी

सक्रिय बिमा पोलिसीमध्ये बागमती प्रदेशको हिस्सा ६९ प्रतिशत छ, कर्णाली प्रदेशमा २ प्रतिशत मात्रै

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ भदौ १२ आइतबार ०७:२३:००

बिमाको पहुँच बढाउन बिमा समितिले जीवन बिमा कम्पनीको संख्या बढाए पनि उनीहरू ग्रामीण भेगमा पुग्न सकेका छैनन् । पुरानाजस्तै नयाँ खुलेका कम्पनी पनि सहरकेन्द्रित मात्रै भएको समितिको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष ०७८/७९ को तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूले जारी गरेको सक्रिय बिमा पोलिसीमध्ये बागमती प्रदेशको हिस्सा ६८.७ प्रतिशत छ । एउटै प्रदेशले कुल बिमा पोलिसीको आधाभन्दा बढी हिस्सा ओगटेको छ । जबकि कर्णाली प्रदेशमा कुल सक्रिय पोलिसीको हिस्सा १.७ प्रतिशत मात्रै छ । समितिको यो तथ्यांकले जीवन बिमा कम्पनीहरू पूर्ण रूपमा व्यवसायीमुखी भएको देखिन्छ ।  

तथ्यांकअनुसार प्रदेश नम्बर एकमा कुल सक्रिय बिमा पोलिसमा ८ प्रतिशत हिस्सा रहेको छ । मधेस प्रदेशको ४.५ प्रतिशत, गण्डकी प्रदेशको ४.७, लुम्बिनी प्रदेशको ७.९ र सुदूरपश्चिम प्रदेशको हिस्सा भने ४.२५ प्रतिशत छ । गत आवमा कुल एक करोड ३० लाख ९९ हजार ६३२ बिमा पोलिसी सक्रिय रहेको तथ्यांकमा उल्लेख छ । तर, नियमनकारी निकाय बिमा समितिले कम्पनीहरूलाई गाउँ जान प्रेरित गरिरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । ‘बिमा भनेको सामाजिक कार्य पनि हो, त्यसैले गाउँ–गाउँमा पु¥याउनुपर्छ भनेका छौँ,’ उनले भने, ‘तर, कम्पनीहरूलाई जबर्जस्ती गर्न सकिएको छैन ।’ 

बालबच्चा पोलिसीमा पनि आकर्षण बढ्दै
पछिल्लो समयमा मानिसहरू आफ्ना सन्ततिप्रति बढी सचेत हुन थालेका देखिएको छ । समितिको तथ्यांकअनुसार गत आवमा नौ लाख २५ हजार सात सय ९७ बालबच्चा पोलिसी सक्रिय भएको छ । बालबच्चा पोलिसीको संख्या बढ्दै जाँदा मानिसहरू स्वैच्छाले जीवन बिमा पोलिसी खरिद गर्न थालेको देखिन्छ । सामान्यतया नेपालमा फोर्सफुल्ली मात्रै जीवन बिमा पोलिसी खरिद गर्ने अभ्यास छ । आफन्त, साथीभाइ वा चिनजानका व्यक्तिले जबर्जस्ती गरेपछि मात्रै बिमा गर्ने चलन छ । तर, पछिल्लो समय मानिसहरू आफ्नो आवश्यकताअनुसार विभिन्न खालका पोलिसी खरिद गरेको देखिन्छ । अधिकांश बालबच्चा पोलिसीले अभिभावकको पनि जोखिम रक्षावरण गर्ने भएकाले यो आकर्षित मानिन्छ । 

त्यस्तै, समीक्षा अवधिमा २० लाख ३८ हजार तीन सय ४९ सावधिक जीवन बिमा पोलिसी जारी भएको छ । चार लाख ५० हजार नौ सय ८७ अग्रिम भुक्तानी सावधिक जीवन बिमा पोलिसी जारी भएको छ । पाँच लाख १५ हजार आठ सय ४७ रूपान्तरिक सावधिक जीवन बिमा पोलिसी जारी भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आठ लाख ९१ हजार एक सय १३ वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी, एक लाख ४६ हजार नौ सय ३० आजीवन जीवन बिमा पोलिसी, २२ हजार दुई सय ५२ एकल भुक्तानी जीवन बिमा, ३९ लाख ९४ हजार एक सय ६६ म्यादी जीवन बिमा र ४१ लाख १४ हजार एक सय ९१ लघुबिमा जारी भएको छ । 

 सवा खर्बको व्यवसाय  
गत आव ०७८/७९ मा जीवन बिमा कम्पनीहरूले एक खर्ब ३८ अर्ब ६४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । जसमध्ये ४१ अर्ब ४४ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन भएको छ भने ९७ अर्ब १९ करोड रुपैयाँ नवीकरणीय बिमाशुल्क संकलन भएको छ ।

 नेपालमा सञ्चालित जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले अझै पनि व्यवसायको नेतृत्व गरिरहेको छ । कम्पनीले गत आवमा ३५ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क संकलन  गरेको छ । जसमध्ये सात अर्ब ३७ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेको छ भने २८ अर्ब एक करोड रुपैयाँ नवीकरणीय बिमाशुल्क आर्जन गरेको छ । समीक्षामा अवधिमा कम्पनीको आठ लाख ७७ हजार पाँच सय ७९ बिमा पोलिसी सक्रिय छ । त्यस्तै, गत आवमा ६ वटा जीवन बिमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमाबापत १९ करोड ७० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । जारी बिमा पोलिसीको संख्या भने ५५ हजार चार सय ९२ छ ।  

धेरै व्यवसाय गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन दोस्रोमा परेको छ । कम्पनीले गत आवमा मात्रै १८ अर्ब २२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । जसमध्ये तीन अर्ब ११ लाख रुपैयाँ प्रथम बिमाशुल्कबापत संकलन गरेको छ भने १५ अर्ब १० करोड नवीकरणीय बिमाशुल्क आर्जन गरेको छ । कम्पनीको सक्रिया बिमा पोलिसी संख्या सात लाख नौ हजार सात सय ८० छ । त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड बिमाशुल्क आर्जन गरेको छ । जसमध्ये चार अर्ब ६८ करोड रुपैयाँ प्रथम बिमाशुल्क र नौ अर्ब ६५ करोड नवीकरणीय बिमाशुल्क आर्जन गरेको छ । कम्पनीको १४ लाख ८१ हजार आठ सय ९४ सक्रिया बिमा पोलिसी छन् । 

 कम्पनीहरूलाई जबर्जस्ती गर्न सकिएको छैन
 राजुरमण पौडेल कार्यकारी निर्देशक,बिमा समिति 

बिमा भनेको व्यवसाय मात्रै होईंन, सामाजिक कार्य पनि हो । त्यसैले गाउँ–गाउँमा पु¥याउनुपर्छ भनेका छौँ । तर, कम्पनीहरूलाई जबर्जस्ती गर्न सकिएको छैन । हामीले कम्पनीलाई गाउँ जान प्रेरित गरिहेका छौं ।