१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री राष्ट्रसंघको महासभामा नजाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:५o:oo

४ मंसिरअघि अमेरिकाको औपचारिक भ्रमण पनि नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा र संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका नजाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा ४ असोजदेखि उच्च नेताहरूको सम्बोधन हुने कार्यक्रम छ । 

यसअघि असार अन्तिम सातालाई तय भएको अमेरिकाको औपचारिक भ्रमण हुन नसकेपछि दुई देशबीच कूटनीतिक संयन्त्रमा प्रधानमन्त्रीको भ्रमणको गृहकार्य भइरहेको थियो । तर, प्रधानमन्त्री देउवाले अब राष्ट्रसंघको महासभामा नजाने निर्णय लिएका छन् ।

‘आसन्न निर्वाचनमा व्यस्त हुनुपर्ने अवस्थालाई ध्यान राख्दै संयुक्त राष्ट्रसंघीय महासभामा पनि प्रधानमन्त्री सहभागी नहुने र त्यसअघि वा पछिका लागि गृहकार्य गरिएको औपचारिक भ्रमणमा पनि नजाने निर्णय सुनाउनुभएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘४ मंसिरको निर्वाचनभन्दा अगाडि प्रधानमन्त्रीको विदेश भ्रमण अब हुँदैन ।’

नेपाल र अमेरिकाको कूटनीतिक संयन्त्रमा प्रधानमन्त्री देउवा राष्ट्रसंघीय महासभा अघि वा पछि अमेरिकाको औपचारिक भ्रमणका क्रममा वासिङ्टन डिसी जाने गरी गृहकार्य भइरहेको थियो । कुनै कारणले वासिङ्टन जाने अवस्था नभएमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग न्युयोर्कमै साइडलाइन भेटवार्ताका लागि पनि प्रयास भएको थियो । तर, प्रधानमन्त्री देउवाले अब औपचारिक भ्रमण वा साइडलाइन भेटवार्ताका लागि कुनै प्रयास वा गृहकार्य नगर्न कूटनीतिक अधिकारीलाई निर्देशन दिएका छन् । 

अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लुले १३ साउनमा बालुवाटारमा प्रधानमन्त्री देउवालाई अमेरिकाको औपचारिक भ्रमणका लागि गृहकार्य भइरहेको र प्रधानमन्त्रीलाई भ्रमण गराउन अमेरिका तत्पर रहेको बताएका थिए । सरकारले ९ साउनमा अमेरिकालाई चिठी लेखेर एसपिपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णय जानकारी दिएको थियो । 

एसपिपीबारे सरकारको पत्रप्रति अमेरिका असन्तुष्ट थियो । ‘एसपिपी अघि नबढाउने निर्णय, एसपिपीका विषयमा सत्तारूढ कांग्रेस र गठबन्धन पार्टीहरूको फरक–फरक विवादास्पद भनाइलगायतका कारणले भ्रमण त्यति सजिलो थिएन, तर प्रयास भइरहेको थियो,’ एक जानकार कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘तर, अमेरिकाले प्रधानमन्त्री देउवासँग सहकार्य गर्न चाहेको थियो । अहिले अमेरिकाको भन्दा पनि प्रधानमन्त्री देउवाकै चाहनाअनुसार भ्रमणको गृहकार्य रोकिएको हो ।’ 

यसअघि प्रधानमन्त्री देउवा १ वा २ असोजमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पछिल्लो पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित रहेको र संयुक्त राष्ट्रसंघीय महासभामा पनि उच्चस्तरीय भ्रमण हुने बताएकी थिइन् । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको औपचारिक भ्रमण गरेर फर्केपछि प्रधानमन्त्रीको भ्रमणको गृहकार्य भएको थियो । प्रधानसेनापति शर्माले १३ देखि १७ असारसम्म अमेरिकाको भ्रमण गरेका थिए । 

सरकारले ६ असारमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेपछि अमेरिका असन्तुष्ट रहँदै आएको थियो । यो सरकारी निर्णयलगत्तै अमेरिका गएका प्रधानसेनापति शर्माले ‘कोल्ड रेस्पोन्स’ पाएको कूटनीतिक वृत्तमा चर्चा छ । 

प्रधानमन्त्री देउवाले २३ देखि २८ वैशाखसम्म ०५९ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन माओवादीलाई आतंककारी घोषणा गरेर उनीहरूविरुद्ध सेना परिचालन गरेपछि देउवाको अमेरिका भ्रमण भएको थियो । दुई दशकको अन्तरपछि उनी नै प्रधानमन्त्रीका रूपमा जान लागेका थिए । 

महासभामा को जान्छ ?
गत वर्ष संयुक्त राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री देउवा महासभामा सहभागी भएनन् । यस वर्ष महासभामा को जाने भन्ने अन्योल छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा परराष्ट्रमन्त्री खड्का वा परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीमध्ये एकको नेतृत्वमा प्रतिनिधिमण्डल न्युयोर्क पठाउन चाहन्छन् । निकटस्थ स्रोतका अनुसार निर्वाचनका कारण उदयपुरमा सक्रिय हुनुपर्ने कारण देखाउँदै परराष्ट्रमन्त्री खड्काले यसपटक न्युयोर्क जाने इच्छा देखाएका छैनन् । ‘प्रधानमन्त्री नजाने पक्का छ, महासभामा कसलाई पठाउने भन्ने विषयमा प्रधानमन्त्रीले नै निर्णय लिनुहोला,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । 

ad
ad