१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अनिल यादव नयाँ पत्रिका
२०७९ भदौ ९ बिहीबार ०५:५९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कलाको आवरणमा मानव तस्करी : केकी, आर्यनसहित १४ जनालाई नर्वे पुर्‍याउन पर्यटन बोर्डको कागजात किर्ते

Read Time : > 4 मिनेट
अनिल यादव, नयाँ पत्रिका
२०७९ भदौ ९ बिहीबार ०५:५९:००

फिल्म सुटिङको बहानामा १४ जना व्यक्तिलाई नर्वे पुर्‍याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरिएको खुलेको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट पेस गरिएको किर्ते सिफारिसमा भिसा माग गरिएका १४ जनाको सूचीमा दुई चर्चित कलाकार अभिनेत्री केकी अधिकारी र अभिनेता हरिश (आर्यन) सिग्देलको नामसमेत छ ।

दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ । जसमा केकी, आर्यन, म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य र निर्माता रोशन पराजुलीबाहेक अन्य नाम अपरिचित छन् । पराजुलीकै कम्पनीमार्फत फिल्म निर्माणका लागि भिसा अप्लाई भएको देखिन्छ । उनले यसअघि ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेका थिए । जसमा भारतीय चर्चित गायक मिका सिंहको स्वर छ । भिडियोमा आर्यन सिग्देलदेखि पल शाह र दुर्गेश थापासम्मको अभिनय छ । 

‘केही चल्तीका कलाकारको नाम देखाएर अन्यलाई नर्वे पुर्‍याउने नियतजस्तो देखिन्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने, ‘हाम्रो लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेर जुन किसिमले भिसा प्राप्त गर्न खोजिएको छ, यसबाट हामी झस्किएका छौँ । यो हाम्रो पत्र होइन भनेर दूतावासलाई तत्काल जवाफ फर्काएका छौँ । त्यस्तै, यसअघि पनि यस्तो दुरुपयोग भएको हुन सक्छ भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गहिरिएर अनुसन्धान गर्न पत्राचार गरेका छौँ ।’

दूतावासको मेलपछि खुल्यो तथ्य
गत बुधबार साँझतिर भारतस्थित नर्वेजियन दूतावासबाट पर्यटन बोर्डमा एउटा मेल आयो । मेलमा भनिएको थियो, ‘नेपालबाट फिल्म सुटिङका लागि भनेर १४ जनाको भिसा माग गरिएको छ । भिसा दिनका लागि पर्यटन बोर्डले सिफारिस गरेको पत्र पनि आएको छ । यो फेक हो कि रियल ?’ 

पर्यटन बोर्डकै लेटरहेडमा रहेको उक्त सिफारिसपत्रमा प्रमुख कार्यकारी अधिकृत रेग्मीकै हस्ताक्षर थियो । दूतावासबाट प्रमाणीकरणका लागि यस्तो मेल विरलै आउँथ्यो । मेलले बोर्डमा तरंग ल्यायो । कारण, यस्तो सिफारिस कसैले गरेकै थिएन । 

‘त्यो मेरो हस्ताक्षर नै होइन, हामीले सिफारिस गरेको पत्र नै होइन,’ रेग्मीले भने, ‘पर्यटन बोर्डको किर्ते कागजात बनाएर मानव तस्करी गर्न खोजिएको देखियो । यद्यपि, यसमा पर्यटन बोर्डकै कोही कर्मचारीको हात छ भने त्यसमा पनि अनुसन्धान हुनुपर्छ ।’

पर्यटन बोर्डकै सहप्रवक्ता मणि लामिछानेका अनुसार भिसा अप्लाईका लागि प्रयोग गरिएको बोर्डको लेटरहेड पनि दुई वर्ष पुरानो हो । ‘पत्रको चलानी नम्बर पनि हाम्रोसँग मिल्दैन,’ उनले भने, ‘पत्रमा प्रयोग गरिएको अंग्रेजी भाषा पनि हास्यास्पद छ । सम्बोधन पनि मिल्दैन । बोर्डअन्तर्गतको बाह्य पर्यटन विभागबाट गरिएको सिफारिस भनिएको छ, जब कि हामीकहाँ त्यस्तो विभाग नै छैन ।’ 

के भनेर मागिएको छ भिसा ?
भिसा आवेदनमा केकीलाई फिल्मको प्रमुख महिला कलाकार, आर्यनलाई प्रमुख पुरुष कलाकारका रूपमा भिसा मागिएको छ । त्यस्तै, निर्देशकका रूपमा दीपकप्रसाद आचार्यको नाम छ । उनी म्युजिक भिडियो निर्देशन र कलाकारितामा सक्रिय छन् । निर्माताका रूपमा रोशन पराजुलीको नाम छ । उनले यसअघि ‘बोतलको बिर्को’ बोलको म्युजिक भिडियो निर्माण गरेका थिए । 

यसबाहेक अन्य नाम चिनिएका छैनन् । विभिन्न प्राविधिक पद खडा गरेर उनीहरूलाई नर्वे पुर्‍याउन खोजेको देखिन्छ । फिल्मको एडमिन/फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामेरापर्सनका रूपमा सरोज गुरुङ, सहनिर्माताका रूपमा भक्तबहादुर रानामगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइटम्यानका रूपमा मीनराज गुरुङको नाम छ ।

फिल्म प्राविधिकहरूको छाता संगठन चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले यी नामहरूबारे अनभिज्ञता जनाए । ‘पछिल्लो समय सुटिङको बहाना गरेर नक्कली प्राविधिक बनाउँदै विदेश पुर्‍याउने प्रचलन बढेको छ,’ उनले भने, ‘यसमा पनि यस्तै उद्देश्य हुन सक्छ । यो प्रवृत्तिले राम्रा प्राविधिक पनि मारमा परेका छन् । फिल्म सुटिङका लागि उनीहरूले भिसा नपाएको अवस्था छ ।’

भिसा माग गर्ने १४ जनाको सूचीमा रहेकी अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्रसँग आफ्नो कुनै पनि सम्झौता नभएको बताएकी छिन् । निर्देशकका रूपमा भिसा अप्लाई गरिएका दीपकप्रसाद आचार्यले भने आफूले करिब एक वर्षअघि निर्माता भनिएका रोशन पराजुलीलाई चिनेको, तर किर्ते प्रकरणबारे केही जानकारी नभएको बताए । ‘यो के हो म आफैँ पनि अनुसन्धान गरिरहेको छु,’ उनले भने, ‘मेरो पुरानो साथी दिलीप न्यौपानेमार्फत मैले यिनलाई चिनेको हुँ । मिका सिंहको स्वर रहेको म्युजिक भिडियो बनाएको याद छ ।

त्यसपछि ‘सारंगीको धुनले’ गीतको रिमेकका लागि मलाई निर्देशनको अफर गरेका थिए । पछि यो प्रोजेक्ट ढिला हुने भयो भनेर अर्को दुईवटा म्युजिक भिडियो निर्देशनका लागि अफर गरे । आइल्यान्डमा सुटिङ गर्ने भनेपछि हावा लागेर वास्ता गरेको थिइनँ । हालै म अस्ट्रेलिया जाने अघिल्लो दिन ‘आर्यन र केकीलाई लिएर आइसल्यान्डमा सुटिङ गर्ने कन्फर्म भयो, तपाईंले मलाई पासपोर्ट कपी दिनुपर्‍यो’ भनेर मागेका थिए । त्यसपछि साथीमार्फत नै कपी दिएको थिएँ । त्यतिवेला केकी, आर्यन र छायाकार अर्जुन तिवारी मात्रै जाने कुरा थियो, तर यहाँ त १४ जनाको नाम रहेछ । ती कसैलाई चिन्दिनँ । अहिले बुझ्दा यहाँ त अर्कै धन्दाको उद्देश्य रहेको भन्ने देखियो ।’

निर्देशक आचार्यका अनुसार दूतावासका लागि भिसा निवेदनमा लेखिएजस्तो फिल्म निर्माणका लागि निर्माता पराजुलीसँग कुनै कुरा भएको थिएन । ‘फिल्म बनाउने त कुरै थिएन, नाम नै पहिलोपल्ट सुन्दै छु,’ उनले भने, ‘दुईवटा म्युजिक भिडियो निर्देशनको दुई लाख पारिश्रमिक लिने मौखिक कुराकानीचाहिँ भएको थियो । त्यसपछि बीचमा केही कुराकानी भएको थिएन । अचानक यस्तो फेक डकुमेन्ट प्रयोग भएको खबर सुनेँ । यो खबर बाहिरिएपछि मैले पराजुलीलाई राति फेसबुकमा म्यासेज पनि पठाएँ, तर रिप्लाई आएन । उल्टै फेसबुक डिएक्टिभ गर्‍यो । अहिले साथीसँग बुझ्दा भारत बस्छ भन्ने सुनेँ ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी कमल थापाले घटनाबारे अनुसन्धान थालेको बताए । ‘मंगलबार पत्र आएको थियो,’ उनले भने, ‘हामीबाट बुझ्ने काम भइरहेको छ । एक साताभित्र यसबारे विस्तृत कुरा खुला । मानव बेचिबिखन हो या किर्ते मात्रै हो, विस्तृत अनुसन्धानपछि मात्रै भन्न सक्छौँ ।’

पर्यटन बोर्डको कागजात दुरुपयोग भएको छ, अनुसन्धान हुनुपर्छ : धनञ्जय रेग्मी, सिइओ, नेपाल पर्यटन बोर्ड

केही चल्तीका कलाकारको नाम देखाएर अन्यलाई नर्वे पुर्‍याउने नियतजस्तो देखिन्छ । हाम्रो लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेर जुन किसिमले भिसा प्राप्त गर्न खोजिएको छ । यो हाम्रो पत्र होइन भनेर दूतावासलाई तत्काल जवाफ फर्काएका छौँ । त्यस्तै, यसअघि पनि यस्तो दुरुपयोग भएको हुन सक्छ भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गहिरिएर अनुसन्धान गर्न पत्राचार गरेका छौँ । पर्यटन बोर्डको लेटरहेडमा मेरो नक्कली हस्ताक्षर छ । पर्यटन बोर्डको किर्ते कागजात बनाएर मानव तस्करी गर्न खोजिएको देखियो । यद्यपि, पर्यटन बोर्डकै कर्मचारीको हात छ भने पनि अनुसन्धान हुनुपर्छ ।

मेरो नाममा दुरुपयोग गरेको भए दोषीमाथि कारबाही होस् : केकी अधिकारी, अभिनेत्री

मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र, यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्वजानकारी पनि थिएन । साथै, मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीउपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु । 

पर्यटन बोर्डबाट फोन आएपछि म झस्किएको छु : आर्यन सिग्देल, अभिनेता
रोशन पराजुलीसँग मेरो पहिले पनि एउटा म्युजिक भिडियो निर्माणका क्रममा सहकार्य भएकाले नयाँ प्रोजेक्टका लागि तयार भएको हुँ । नर्वेमा दुइटा म्युजिक भिडियो गर्ने हो, पाँच–सात दिनमा सुटिङ सकिन्छ भनेर कुरा भएको थियो । त्यहाँ मान्छे छोड्न जाने त होइन नि भनेर मैले त्यतिवेलै प्रश्न गरेको थिएँ । तर, उसले त्यस्तो होइन, चार–पाँचजना मात्रै जाने हो भनेको थियो । केकी अधिकारी जाने त कुरै थिएन । १५ दिनअघि मात्रै उसले भिसाका लागि भनेर मेरो पासपोर्ट लगेको थियो । जब पर्यटन बोर्डबाट किर्ते भएको कुरासहित फोन आयो, म झस्किएको छु । मैले तत्काल ह्वाट्सअपमा सम्पर्क गर्दा, ऊ दिल्लीमा रहेछ । अलिकति गडबड भयो, म मिलाउँदै छु भन्यो । त्यसपछि सम्पर्कविहीन भयो । अहिले आएर सुन्दै छु, उसको त पहिलेदेखि त्यस्तै धन्दा रहेछ । गलत काम गर्नेलाई कारबाही हुनुपर्छ, यसमा सहयोग गर्न तयार छु ।

यस्तो विकृतिले वास्तविक कलाकार नै शंकाको घेरामा परेका छन् : राजकुमार राई, पूर्वअध्यक्ष, चलचित्र विकास बोर्ड 
सुटिङ, सांस्कृतिक कार्यक्रम, च्यारिटी, अवार्डलगायतको आवरणमा मानव तस्करीको ट्रेन्ड नेपालमा पछिल्लो समय मौलाइरहेको विकृति हो । पछिल्लो घटना त एउटा झिल्को मात्रै हो । यस्तो कारणले कतिपय देशमा राजेश हमाल, राजेशपायल राईजस्ता कलाकारले नै भिसा नपाएको पनि मलाई थाहा छ । म निर्माता संघको अध्यक्ष हुँदा पनि दूतावासबाट धेरै फोन आउँथ्यो । निर्माता संघकै लेटरप्याड पनि दुरुपयोग गरेर दूतावासमा फेक डकुमेन्ट पुग्ने गर्छन् । यसलाई कानुनी दायरामा ल्याउनुपर्छ । यसले चलचित्र क्षेत्रकै बदनाम गराएको छ ।