मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार ०९:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली चिया निकासीमा रोक नलगाउन भारतलाई उद्योगमन्त्रीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार ०९:०८:००

भारतीय राजदूत श्रीवास्तवले भने, ‘नेपाली चियामा थप शुल्क र कर लगाउने विषय संसदीय समितिमा  छलफलमै रहेको छ, यसमा नेपालको चिन्ता र चासोलाई आवश्यक सहजीकरण गर्नेछु’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली चियाको निकासीमा रोक नलगाउन भारतलाई आग्रह गरेका छन् । शिष्टचार भेटका लागि मंगलबार उद्योग मन्त्रालय पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई उद्योगमन्त्रीले नेपालको चिया निर्यातमा असर पर्ने कुनै पनि नीति निर्णय नलिन आग्रह गरेका हुन् । 

मन्त्री बडूले भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर लगाउने विषय सञ्चारमाध्यममा आइरहेकोबारे राजदूतको ध्यानाकर्षण गराए । ‘भारत सरकारले नेपाली चिया निर्यातमा असर पर्ने निर्णय गर्नेछैन भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यस विषयमा सहजीकरणका लागि अनुरोध गर्दछु ।’ मन्त्री बडूले भारतले गहुँ र चिनीको निर्यात रोकेको उल्लेख गर्दै यी वस्तुको आपूर्तिमा सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

मन्त्री बडूले दुवै देशबीच सहमति भई हस्ताक्षरको चरणमा रहेको पारवहन सन्धिमा हस्ताक्षर गर्ने कार्यलाई शीघ्रतासाथ सम्पन्न गर्नसमेत आग्रह गरे । त्यस्तै, कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा तीव्रता दिन तथा एकीकृत जाँचचौकी निर्माण, भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदीमाथिको पुल निर्माणकार्य छिटो सुरु गर्न र नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको दार्चुलाकै दुम्लिङ राप्तास्थित महाकाली नदीमाथि झोलुंगे पुल निर्माणमा आवश्यक सहमति प्रदान गर्नसमेत आग्रह गरे ।

शिष्टाचार भेटमा भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताए । मन्त्री बडूले उठाएका विषय भारत र नेपाल दुवै देशका साझा हितका विषय भएको उल्लेख गर्दै उनले भारत सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूले गम्भीरतापूर्वक सहजीकरण गर्ने बताए ।

उनले नेपाली चियामा थप शुल्क र कर लगाउने विषय संसदीय समितिमा छलफलमै रहेको उल्लेख  गर्दै नेपालको चिन्ता र चासोका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । पेट्रोलियम तथा एलजी ग्यासको पाइपलाइन विस्तार, आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणासमेत राखे ।