
नयाँ–नयाँ ठाउँ पुग्दा त्यहाँका मान्छेको बारेमा जान्न पाइन्छ, त्यहाँको संस्कृतिका बारेमा थाहा पाइन्छ । घुम्न जाँदा सपिङ अर्काे रहर हो ।
म घुमघाम भनेपछि हुरुक्कै हुन्छु । कलाकारिता पेसामा भएकाले धेरैजसो त कामकै सिलसिलामा घुमघाम भइरहन्छ । तर, कहिलेकाहीँ कामबाट पूरै मुक्ति लिएर पूरै आराम गर्ने हिसाबले पनि घुम्छु । म नेपालका प्रायःजसो ठाउँमा पुगेकी छु ।
विदेशमा भने अमेरिका, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, म्यानमार, श्रीलंकालगायत देश पुगेकी छु । तर, जहाँ पुगे पनि मलाई सबैभन्दा मन परेको देश नेपाल नै हो । विदेश जाँदा कतिखेर काठमाडौं फर्किऊँ भन्ने हुन्छ । जहाँ पुगे पनि काठमाडौंको यादले सताउँछ ।
यद्यपि, विदेशमा घुमेकामध्ये राम्रो लागेको ठाउँको चर्चा गर्नुपर्दा म थाइल्यान्डलाई बिर्सिन्नँ । तर, मेरो ड्रिम प्लेस थियो, ‘पेरिस’ । त्यो पनि घुमिसकेँ । आहा कति राम्रो, शब्दमा वर्णन नै गर्न सक्दिनँ । अस्ट्रेलियाको सिड्नीचाहिँ एकपल्ट श्रीमान् (निश्चल बस्नेत)सँग घुम्न मन छ ।
विदेश जाँदा विशेष गरी मलाई समुद्री तटतिर जान मन पर्छ । मलाई ठूलाठूला बिल्डिङले भन्दा पनि त्यहाँको प्राकृतिक कुराले बढी छुन्छ । घुम्नु भनेको मेरा लागि सिकाइ पनि हो ।
नयाँ–नयाँ ठाउँ पुग्दा त्यहाँका मान्छेको बारेमा जान्न पाइन्छ, त्यहाँका संस्कृतिका बारेमा थाहा पाइन्छ । घुम्न जाँदा सपिङ अर्काे रहर हो । सपिङका लागि सुरुमै बजेट छुट्याएकी हुन्छु । एयरपोर्टको ड्युटी फ्रीबाटै सुरु हुन्छ, मेरो सपिङ । त्यसपछि त घुमफिर नसकिएसम्म ननस्टप गइरहन्छ ।