‘वान वे’ प्रणाली बदल्न सके केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर चोकका ट्राफिक जाम एकैपटकमा ‘सामसुम’ हुन्छ
काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ट्राफिक जाम हुने चोक केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर हुन् । यी चोकमा ‘अल्ट्रा’ आधुनिक ट्राफिक लाइट राखे पनि जाम हट्न सक्दैन । यसका लागि सवारी आवागमनमा अख्तियार भइरहेको हालको ‘रुट प्रणाली’ नै बदल्नुपर्छ । यो तुरुन्तै लागू गर्न सकिन्छ । यसका लागि सरकारको एक रुपैयाँ पनि खर्च हुँदैन ।
सबैभन्दा धेरै जाम हुने केशरमहल, सोह्रखुट्टे र महाराजगन्जतर्फबाट आएका सवारीसाधनलाई नारायणहिटी संग्रहालयको उत्तरढोका हुँदै जय नेपाल हलतर्फ पठाउन सक्छौँ । ठमेल र असनतर्फ जाने सवारीसाधनका लागि भने विश्वज्योति हलअगाडिको सडकलाई हालको व्यवस्थाभन्दा ठीकविपरीत दिशातर्फ ‘वान वे’ बनाउनुपर्ने हुन्छ ।
त्रिपुरेश्वर, सिंहदरबार, थापाथली, बानेश्वरतर्फ जाने सवारीसाधनका लागि जय नेपाल हल–कृष्ण पाउरोटी, पुतलीसडक–सिंहदरबार–माइतीघर मण्डला–थापाथली हुँदै त्रिपुरेश्वरसम्म जाने सडकलाई ‘वान वे’ बनाउन सकिन्छ । यही क्रममा त्रिपुरेश्वर–सुन्धारा–जमल हुँदै केशरमहल सडकखण्ड पनि ‘वान वे’ बनाउनुपर्छ । अर्को भद्रकालीबाट सहिद गेटतर्फ आउने सडकलाई पनि हाल भइरहेको भन्दा ठीकविपरीत दिशातर्फ ‘वान वे’ बनाउनुपर्छ । माइतीघर मण्डलाबाट भद्रकालीतर्फ आउने सडक सञ्चालन प्रणाली पनि साबिकको ठीकविपरीत दिशातर्फ ‘वान वे’ बनाउनुपर्छ ।
यसो गर्दा केशरमहल–संग्रहालय उत्तरढोका–जय नेपाल हल–कृष्ण पाउरोटी–पुतलीसडक–सिंहदरबार–माइतीघर मण्डला–थापाथली–त्रिपुरेश्वर–सुन्धारा–भोटाहिटी–जमल हुँदै पुनः केशरमहलसम्म आइपुग्दा यस खण्डका सडक पूर्ण रूपमा ‘वान वे’ बन्छन् । बानेश्वरतर्फबाट आउने सवारीसाधन थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कतर्फ जान्छ । पाटनबाट आएका सबै सवारीसाधन थापाथलीबाट त्रिपुरेश्वर–सुन्धारा हुँदै भद्रकाली र जमलतर्फ एकैपटक जान सक्छन् । कालीमाटीबाट आएका सवारीसाधन त्रिपुरेश्वरबाट सुन्धारा हुँदै सहिदगेटबाट भद्रकाली–सिंहदरबार र सुन्धाराबाट रत्नपार्क–जमल हुँदै केशरमहलतर्फ एकैपटक जान सक्छन् ।
नारायणहिटी संग्रहालयको उत्तरढोकातर्फ बाहेक यसअन्तर्गतका सबै सडक चार लेनका छन् । चार लेनको ‘वान वे’मा एकै दिशाबाट मात्रै सवारीसाधन गुड्दा केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर चोकको ट्राफिक जाम एकैपटक सामसुम हुन्छ ।
व्यस्त चोकमा ‘घामड’ होइन, ‘स्मार्ट’ ट्राफिक प्रहरी चाहिन्छ
व्यस्त चोकहरूमा सजाय दिने उद्देश्यले ‘घामड’ ट्राफिक प्रहरीलाई खटाउने चलन छ । तर, त्यसो होइन । यस्ता चोकमा ‘स्मार्ट’ ट्राफिक प्रहरी खटाउनुपर्छ । चोकलाई व्यस्तताका आधारमा वर्गीकरण गरिनुपर्छ । यस्ता चोकमा ‘मेरिट’का आधारमा ट्राफिक प्रहरी खटाउनुपर्छ । सोही आधारमा उनीहरूको ‘करिअर डेभलपमेन्ट’ प्रणाली बनाउनुपर्छ । साथमा ‘इन्सेन्टिभ’को व्यवस्था पनि गरिनुपर्छ । यसो गर्दा ‘स्मार्ट’ र ‘करिअर’ भएका ट्राफिक प्रहरी व्यस्त चोकको ‘ड्युटी’ गर्न उत्साहित हुन्छन् । उनीहरूको ‘मोरल’ पनि उच्च हुन्छ ।
‘फ्लाइओभर’ र अकासेपुल निर्माण खर्च जुटाउन गाह्रो छैन
मेरो अनुभवले उपत्यकाभित्र मात्रै दैनिक चार लाख लिटर पेट्रोल र साढे तीन लाख लिटर डिजेल खपत हुन्छ । प्रतिलिटर एक रुपैयाँ मात्रै अतिरिक्त कर उठाउँदा एकै दिन साढे सात लाख रुपैयाँ संकलन हुन्छ । वर्ष दिनमा बढेर २७ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्छ । पाँच वर्ष मात्रै यही दरमा कर उठाउँदा एक अर्ब ३६ करोड ८७ लाख ५० हजार रुपैयाँ संकलन हुन्छ । यो बजेटले कोटेश्वर र चाबहिल चोकमा ‘इलिभेटर’जडित अकासेपुल र महाराजगन्ज चोकमा ‘फ्लाइओभर’ बनाउन सकिन्छ ।
कोटेश्वरको जाम हटाउन अकासेपुल र ट्राफिक लाइट नै चाहिन्छ
काठमाडौं र भक्तपुरको मुख्य नाका हो कोटेश्वर । ललितपुर–भक्तपुर, भक्तपुर–ललितपुर र काठमाडौं–ललितपुर, ललितपुर–काठमाडौंतर्फ पनि सवारीसाधन आवागमन काटेश्वरचोकबाटै हुन्छ । तर, यो चोकमा सवारीसाधनको धेरै चाप काठमाडौं–भक्तपुर र भक्तपुर–काठमाडौंतर्फको आवागमनबाट हुन्छ । यसका लागि जडीबुटी, लोकन्थली, पेप्सीकोलामा ट्राफिक लाइट राख्न सक्छौँ । काठमाडौंतर्फ तिनकुने, मीनभवन र गैरीगाउँमा पनि ट्राफिक लाइट राख्नुपर्ने हुन्छ । ललितपुरतर्फ भने भाटभटेनी सुपरमार्केटअगाडि ट्राफिक लाइट राख्नुपर्छ । कोटेश्वरचोकमा पैदलयात्रीको उपस्थिति पनि बाक्लै हुन्छ । यसका लागि तीनतर्फबाट आउजाउ गर्न सकिने अकासेपुल राख्नुपर्ने हुन्छ । यति गर्दा कोटेश्वरको जाम हट्छ ।
चाबहिलको जाम हटाउन ‘आइल्यान्ड’ पुनर्निर्माण र ‘एलिभेटर’सहितको अकासेपुल
चाबहिलचोकमा ट्राफिक जाम अत्यधिक हुन्छ । यसको खास कारण वास्तु नमिलेको ‘आइल्यान्ड’ हो । जसले चालकलाई नै ‘कन्फ्युज’ बनाइदिन्छ । सडकको चौडाइ र सवारीसाधनको आवागमन विश्लेषण गरी ‘आइल्यान्ड’लाई नयाँ ढंगले बनाउनुपर्छ । जसले ट्राफिक जाम हटाउँछ । अहिले चोकमा अकासेपुल त राखिएको छ । तर, विनाअध्ययन राखिएको पुलले पैदलयात्रीलाई सेवा दिन सकेको छैन । जस्तो, गोपीकृष्ण हलतर्फबाट आउने पैदलयात्रीले उक्त अकासेपुल कसरी प्रयोग गर्ने ?
महाराजगन्जको जाम हटाउने विकल्प : ‘फ्लाइओभर’ वा अकासेपुल
महाराजगन्ज चोक व्यस्तमध्येको एक हो । यस चोकमा ‘फ्लाइओभर’ वा अकासेपुलमध्ये एक राखिनुपर्छ । कलंकी र महाराजगन्ज चोकको प्रकृति करिब–करिब मिल्छ । अन्डरपास मात्रै बनाउँदा कलंकीको जाम हट्यो । त्यसैगरी ‘फ्लाइओभर’ वा ‘अन्डरपास’ बनाउँदा उक्त चोकको जाम हट्न सक्छ । पैदलयात्रीका लागि भने उक्त चोकमा पनि चारैतर्फबाट एकैपटक आवागमन गर्न सकिने ‘एलिभेटर’सहितको अकासेपुल बनाउनुपर्छ । यति गर्न सके जाम हट्छ ।
गोल्डेनगेटअघिको आइल्यान्ड हटाउनुपर्छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डेनगेट’ अन्तर्राष्ट्रिय उडानबाट आउनेहरूको मुख्य नाका हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय भिभिआइपी यही द्वार भएर आउजाउ गर्छन् । तर, द्वार निकै साँघुरो छ । ठूला बसलाई त ‘टर्न’ लिनसमेत मुस्किल पर्छ । यसलाई बदल्न जरुरी छ । यसका लागि साबिकको आइल्यान्ड हटाउनुपर्छ । फराकिलो गरी ‘फाउन्टेन’सहितको नयाँ आइल्यान्ड बनाउनुपर्छ । र, सडक फराकिलो बनाउनुपर्छ । यसले द्वारको सौन्दर्य पनि बढाउँछ । सवारीसाधन पनि सजिलै आउजाउ गर्न सक्छन् ।