
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने योजना बनाएका छन् ।
सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा नेता गान्धीले आफ्नो योजनाबारे बताएका हुन् ।
भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्षसमेत रहेका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रूपमा छलफल गर्ने तयारी गरेको जनाइएको छ ।
मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेन्डा बनाउने उनको भनाइ छ । सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेन्डा बनाएको थियो ।
आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तीव्रता दिएको बताइएको छ । रासस