मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ भदौ २ बिहीबार ०६:२३:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिर्गौलाका दुई हजार बिरामी डायलाइसिसको पालो कुर्दै, १२२ मेसिन भने तीन सातादेखि बाक्सामै

Read Time : > 9 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ भदौ २ बिहीबार ०६:२३:००

डायलाइसिसको पालो कुर्दाकुर्दै बाँके खजुराका धनबहादुर गुरुङलगायतले ज्यान गुमाए, तर सरकारले २२ अस्पतालमा पठाएका १३३ मध्ये १० मेसिन मात्रै जडान गरिएका छन्, कोसी प्रादेशिक अस्पतालले त जडान गरेका ६ मेसिन पनि ‘मन्त्रीको बाहुलीबाट उद्घाटन गर्ने’ भन्दै सेवा दिएको छैन

एक महिनाअघि आफैँले खरिद गरेका दुई मेसिन सञ्चालन गर्न नसकेको गजेन्द्रनारायण सिंह अस्पतालमा विभागले दिएका चार मेसिन पनि बेवारिसे 

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले एक महिनाअघि आफैँले खरिद गरेका दुई डायलाइसिस मेसिन सञ्चालनमा ल्याउन सकेको छैन । यसबाहेक दुई साताअघि संघ सरकारले दिएका चार मेसिन पनि बेवारिसे बनेका छन् । अस्पतालले ३० लाख खर्चिएर गत २५ असारमा दुई मेसिन खरिद गरेको थियो । हाल अस्पतालमा सञ्चालनमा रहेका चार मेसिनबाट १५ बिरामीले नियमित सेवा लिँदै आएका छन् । पाँच बिरामी पालो कुरिरहेका छन् । स्टोरमा थन्क्याइएका मेसिन सञ्चालन गरिए उनीहरूले सजिलै डायलाइसिस सेवा पाउने थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहले भवन र जनशक्तिको अभावले मेसिन सञ्चालन हुन नसकेको बताए । ‘हाल सात कर्मचारीले दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएका छन् । नयाँ मेसिन चलाउने हो भने नयाँ भवन र थप १० जनशक्ति आवश्यक पर्छ,’ उनले दाबी गरे । गजेन्द्रनारायण सिंह अस्पतालमै तीन वर्षअघि बिग्रिएका तीन डायलाइसिस मेसिन मर्मत नहुँदा कवाडी बनेका छन् । 

...                                        ...

‘विपन्न नागरिक औषधि उपचार कोष’मा नाम टिपाएका ६ हजारमध्ये दुई हजार ९७ मिर्गौला बिरामी सरकारी डायलाइसिस सेवाका लागि पालो कुरिरहेका छन् । यस्ता केही बिरामीको त पालो कुर्दाकुर्दै ज्यान नै गएको छ । कोही निजी अस्पतालमा महँगो शुल्क तिरेर डायलाइसिस गराउन बाध्य छन् । तर, सरकारले खरिद गरेर विभिन्न अस्पतालमा पठाएका एक सय २२ डायलाइसिस मेसिन भने झण्डै एक महिनादेखि बाक्सामै थन्क्याइएका छन् ।

तीनजना मात्रै इन्जिनियर छन्, समय लाग्छ : रुद्र मरासिनी,व्यवस्थापन महाशाखा प्रमुख, स्वास्थ्य सेवा विभाग
अस्पतालहरूमा पठाइएका डायलाइसिस मेसिन विभागकै इन्जिनियरले जोड्ने हो । हामीकहाँ तीनजना मात्रै प्राविधिक छन् । अहिले भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मेसिन जडानको काम भइरहेको छ । बायोमेडिकल इन्जिनियर भएका अस्पतालले आफैँ जडान गर्न सक्छन्, तर अन्तिममा विभागकै प्राविधिकले हेरेर ओके गर्नुपर्छ । त्यसैले सबै अस्पतालमा नयाँ मेसिन सञ्चालनमा आउन कम्तीमा १५ दिनभन्दा बढी समय लाग्छ । 

स्वास्थ्य सेवा विभागले प्रदेश र जिल्लाका २२ अस्पतालमा १० साउनयता एक सय ३३ डायलाइसिस मेसिन पठाएको थियो । अधिकांश मेसिन १० साउनमै पठाएको थियो । तर, बिरामी डायलाइसिसको पालो नपाएर छटपटाइरहँदा नयाँ मेसिन भने जडान हुन सकेका छैनन् । 

कतिपय अस्पतालमा मेसिन जडानका लागि आवश्यक पूर्वाधार नै छैनन् । पूर्वाधार भएका अस्पतालमा मेसिन जडानका लागि प्राविधिक छैनन् । डायलाइसिस मेसिन सेटअप गर्न बायोमेडिकल इन्जिनियर आवश्यक पर्छन् । मेसिन वितरण गरेको विभागले आफ्नै इन्जिनियरबाट जडान गरिदिने बताएको छ । तर, तीन इन्जिनियर मात्रै रहेको विभागले कहिले जडान गरिदिन्छ निश्चित छैन । 

‘अस्पतालहरूमा पठाइएका डायलाइसिस मेसिन विभागकै इन्जिनियरले जोड्ने हो । हामीकहाँ तीनजना मात्रै प्राविधिक छन् । अहिले भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मेसिन जडानको काम भइरहेको छ,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख रुद्र मरासिनीले भने, ‘बायोमेडिकल इन्जिनियर भएका अस्पतालले आफैँ जडान गर्न सक्छन्, तर अन्तिममा विभागकै प्राविधिकले हेरेर ओके गर्नुपर्छ । त्यसैले सबै अस्पतालमा नयाँ मेसिन सञ्चालनमा आउन अझै कम्तीमा १५ दिनभन्दा बढी समय लाग्छ ।’ तर, कतिपय अस्पतालमा मेसिन जडानका लागि आवश्यक पूर्वाधार नै निर्माण नभएकाले यो अवधिमा असम्भव हुने देखिन्छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएका पाँचमध्ये तीन मेसिन मात्रै सञ्चालनमा आएका छन् । विराटनगरको कोसी प्रादेशिक अस्पतालले पाएका ६ मेसिन जडान गरे पनि मन्त्रीको बाहुलीबाट उद्घाटन गर्ने भन्दै कुरिरहेको छ । 

२५ बिरामी पालो कुरिरहेको भरतपुर अस्पतालले नयाँ डायलाइसिस मेसिन पाएन, क्यान्सर अस्पतालले सञ्चालन गर्न अझै एक महिना लाग्ने
डायलाइसिसका बिरामीको ठूलो चाप रहेको भरतपुर अस्पतालले स्वास्थ्य सेवा विभागसँग पाँच थान मेसिन र आरओ मेसिन मागे पनि पाएन । यहाँ २५ बिरामी नाम लेखाएर डायलाइसिसको पालो कुरिरहेका छन् । 

‘बिरामीको चाप बढी भएकाले मेसिन मागे पनि विभागले पठाएन,’ अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले भने, ‘मेसिन प्राप्त नभएपछि म कारण बुझ्न काठमाडौंस्थित विभागमै पुगेँ । तर, सम्बन्धित शाखाको सम्बन्धित व्यक्तिसँग भेट हुन सकेन ।’

यसअघि संघ सरकारले भरतपुर अस्पताललाई दिएका दुई थान डायलाइसिस मेसिनमा सुरुमै समस्या देखिएपछि सञ्चालन नै हुन सकेनन् । ती मेसिन स्टोरमै थन्किएका छन् । यसबाहेक चार मेसिन पनि बिग्रिएर बसेका छन् । सञ्चालनमा रहेका नौ मेसिनबाट एक सय ३० बिरामीलाई सेवा दिँदै आएको छ । 

चितवनकै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भने चारवटा डायलाइसिस मेसिन झरेको २० दिन पूरा भइसक्दा पनि अझै जडान हुन सकेका छैनन् । १० साउनमै मेसिन आइपुगे पनि जडान गर्न अझै एक महिना लाग्ने अस्पताल निर्देशक डेजकुमार गौतमले बताए । 

‘डायलाइसिस सेवा सुरु गर्न पानी जमाउने ट्यांकीलगायतका केही संरचना आवश्यक पर्ने रहेछ,’ उनले भने, ‘अस्पतालले मेसिन आएकै दिन चार दिनको सीमा राखेर हेमोडायलाइसिसका लागि पाँच सय लिटरको आरओ इकाइ र स्वचालित हर्मेटिकल्ली सिल ढोकाको दररेटसहितको टेन्डरका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ । टेन्डर आह्वानबाहेक कामले गति लिन सकेको छैन ।’ मिर्गौलाका समेत समस्या भएका क्यान्सरका बिरामी यो अस्पतालमा छन् । प्राप्त मेसिन सञ्चालनमा ल्याएपछि उनीहरू अन्यत्र गएर घन्टौँ लाइनमा बसी डायलाइसिस गराउनुपर्ने बाध्यता नरहने निर्देशक गौतमले बताए । ‘हामीले पाएका चारवटा मेसिन सञ्चालनमा आएपछि दैनिक १२ जनासम्मलाई सेवा दिन सकिन्छ भन्ने छ,’ उनले भने । 

भेरी अस्पतालमा ६ थान नयाँ डायलाइसिस मेसिन, सञ्चालनको मिति निश्चित छैन 
तीनवटा मेसिनले दैनिक तीन सिफ्टमा नौजनाका दरले डायलाइसिस गराउँदा नेपालगन्जको भेरी अस्पतालमा हाल ३० बिरामीले नियमित सेवा लिइरहेका छन् । ४५ मिर्गौलाका बिरामी डायलाइसिसको पर्खाइमा छन् । यो चाप व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागले ६ थान नयाँ डायलाइसिस मेसिन पठाए पनि कहिलेदेखि सञ्चालन हुने निश्चित छैन । १२ साउनमा नयाँ मेसिन आए पनि पानी प्रशोधन गर्ने आरओ प्लान्ट जडानको काम भइरहेकाले सञ्चालनको ठ्याक्कै मिति भन्न नसक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए । 

‘आरओ प्लान्टका लागि घर निर्माण भइरहेको छ । एक–डेढ सातामा भौतिक निर्माण सकाएर अन्य प्राविधिक काम सुरु गर्न सकिने अपेक्षा छ,’ उनले भने, ‘आरओ प्लान्टको काम सकिनेबित्तिकै डायलाइसिस मेसिन जडान गर्छौँ । नयाँ मेसिन पुरानो आइसियू कक्षमा राख्ने तयारी छ, सुरुमा पाँचवटा मात्रै चलाउँछौँ ।’ नयाँ मेसिन जडान भए दैनिक १५ जनाले डायलाइसिस सेवा पाउने उनको भनाइ छ । भेरीमा हाल ६ मेसिन रहेकामा दुईवटा बिग्रिएका छन् भने एउटा इमर्जेन्सीका लागि राखिएको छ । ‘नयाँ मेसिन जडान भएपछि हाल सञ्चालनमा रहेका पुराना चार मेसिन इमर्जेन्सी, एचआइभी संक्रमित, हेपाटाइटिस बी र अन्य संक्रामक रोग लागेका बिरामीका लागि राखिनेछ,’ उनले भने । 

दाङका दुई अस्पतालमा झारिएका १८ डायलाइसिस मेसिन पनि प्रयोगविहीन
स्वास्थ्य सेवा विभागले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आठ गरी १८ डायलाइसिस मेसिन पठाएको १३ साउनमै हो । तर, जडानको काम नै सुरु भएको छैन । 

‘मेसिन आए पनि अन्य आवश्यक सामग्रीह रू आएको छैन । रगत सफा गर्ने उपकरण पनि आवश्यक पर्छ,’ प्रादेशिक अस्पतालकी डायलाइसिस प्रमुख लिना बडेलले भनिन्, ‘अहिले जडान गर्ने प्राविधिक पनि छैनन् ।’ हाल राप्ती प्रादेशिक अस्पतालमा पाँच मेसिनबाट २३ बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । नयाँ आठ मेसिन जडान भए ६० जनासम्मले सेवा पाउने बडेलले बताइन् । 

त्यस्तै, पाँच मेसिनबाट २५ बिरामीले सेवा लिइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ मेसिन जडानको सुरसार छैन । नयाँ १० मेसिन जडान भए त्यस क्षेत्रका सबै मिर्गौलारोगीले डायलाइसिस सेवा पाउने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराई बताउँछन् । उनका अनुसार हाल ४० बिरामी डायलाइसिसको पालो कुरिरहेका छन् । 

बिग्रिएका पुराना तीन मेसिनको ठाउँमा नयाँ मेसिन रिप्लेस गर्‍यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले, दुई थान जगेडामा 
२१ अस्पतालमा पठाइएको मेसिन बाकसमै रहँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पाएका पाँचमध्ये तीन मेसिन भने सञ्चालनमा आएका छन् । पुराना बिग्रिएका तीन मेसिनको ठाउँमा तीन थान नयाँ मेसिन रिप्लेस गरिएको र शय्याको अभावमा दुई थान भने जडेगामा राखिएको अस्पतालका निर्देशक डा. भरत खत्रीले बताए । 

अस्पतालमा यसअघि नौ मेसिन थिए । तीमध्ये तीनवटा बिग्रिएका छन् । बिग्रिएका मेसिन पनि मर्मतको काम भइरहेको उनको भनाइ छ । ‘कुनै मेसिनले काम गरेन भने जगेडा मेसिन रिप्लेस गर्छौँ, यसले सेवा अवरुद्ध हुन दिँदैन,’ डा. खत्रीले भने । अस्पतालमा हाल दुई सिफ्टमा दैनिक ३५ बिरामीले सेवा लिइरहेका छन् । तीन सिफ्टमा सेवा लिने अस्पतालको योजना भए पनि नर्स अभावका कारण नसकिएको निर्देशक डा. खत्रीले बताए । डायलाइसिस वार्डमा १० नर्स थप भए दैनिक थप १७ बिरामीलाई सेवा दिन सकिने उनको दाबी छ । हाल एक मात्र नेफ्रोलोजिस्टको दरबन्दी रहेकोमा एक दरबन्दी थप्न सके सेवा विस्तार गर्न सकिने पनि उनले बताए । 

‘नर्स र नेफ्रोलोजिस्टको अभाव छ । बिग्रिएका मेसिन मर्मत भएपछि सञ्चालनका लागि शय्या पनि अभाव हुन्छ,’ डा. खत्रीले भने, ‘हाल वार्डमा १५ शय्या छन् । शय्या बढाउन मात्रै सके पनि थप ६ नयाँ बिरामीलाई सेवा दिन सक्ने अवस्था छ ।’ डायलाइसिस वार्डका इन्चाज गीता तिवारीका अनुसार अस्पतालबाट सेवा लिने बिरामीको संख्या एक सय २० छ । ६० बिरामीले पालो कुरिरहेका छन् । कुरेका बिरामीले पालो पाउनका लागि चारदेखि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ । 

इलाम अस्पतालमा दुई मेसिन पुग्यो, तर सञ्चालनमा आउन दुई महिनासम्म लाग्न सक्ने
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका अस्पतालमा डायलाइसिस सेवा नहुँदा विगतमा यस क्षेत्रका मिर्गौलाका बिरामी डायलाइसिसका लागि झापा झर्नुपथ्र्यो । दुई महिनाअघि इलाम अस्पतालले तीन डायलाइसिस मेसिनबाट सेवा सुरु गरेपछि बिरामीहरूले त्यहीँबाट सेवा पाउन थालेका छन् । अझै दुई साताअघि नयाँ दुई मेसिन गएपछि त उनीहरू खुसी छन् । तर, नयाँ मेसिन सञ्चालनका लागि भने समय लाग्ने भएको छ । 

‘दुईवटा मेसिन हामीले ल्याएका छौँ । तर, इन्स्टल भएको छैन । यो पनि स्वास्थ्य सेवा विभागले नै गर्ने हो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमुख साहले भने, ‘अन्य ठाउँमा पनि दिएको छ । सबैतिर एकैपटक गर्दा एक–दुई महिना लाग्न सक्छ ।’ 

पाँचवटा मेसिन सञ्चालनमा ल्याउँदा इलाम अस्पतालसँग जनशक्ति भने अपुग हुन्छ । ‘दुई महिनाअघि मात्रै सेवा सुरु गरेकाले हामी अहिले परीक्षणकालमै छौँ । अब नयाँ दुई मेसिन जडान भए सातामा ३० बिरामीलाई डायलाइसिस सेवा दिन सक्छौँ भन्ने छ,’ डा. साहले भने, ‘तर, जनशक्ति म्यानेज गर्नुपर्छ । अहिले तीन नर्सिङ स्टाफ र एक टेक्निसियन गरी चारजना हुनुहुन्छ । अब दुई मेसिन थपिएपछि जनशक्ति थप गर्नुपर्छ ।’ 

बिरामीको निःशुल्क डायलाइसिस सेवा सञ्चालनका लागि भने इलाम अस्पतालले स्वीकृति पाएको छैन । तीन साताअघि स्वास्थ्य सेवा विभागलाई पत्र पठाएकोमा विभागको टिम आएर हेरेपछि मात्रै निर्णय गर्ने मेसु डा. साहले बताए । उनका अनुसार अस्पतालले अहिले आन्तरिक स्रोतबाटै निःशुल्क सेवा मिलाइरहेको छ । ‘अस्पतालको आन्तरिक स्रोतबाटै अहिले निःशुल्क डायलाइसिस सेवा दिइरहेका छौँ,’ उनले भने, ‘जहिलेसम्म आन्तरिक स्रोतले धान्छ त्यसवेलासम्म सेवा दिनेछौँ । नयाँ दुई मेसिन जडान भएपछि त निःशुल्कका लागि स्वीकृति पाउँछौँ भन्ने लागेको छ ।’

कोसी अस्पतालले ६ मेसिन जडान त गर्‍यो, संघीय मन्त्रीको बाहुलीबाट उद्घाटन गर्ने भन्दै सञ्चालन होल्ड
६ पुराना मेसिन रहेको विराटनगरको कोसी अस्पतालमा दुईवटा बिग्रिएकाले चारवटा मात्रै सञ्चालनमा छन् । मिर्गौलाका ३० बिरामीले यहाँबाट डायलाइसिस सेवा लिइरहेका छन् । अस्पतालले चार मेसिनबाट सेवामा समस्या भएको गुनासो गरेपछि स्वास्थ्य सेवा विभागले ६ नयाँ मेसिन थपिदियो । २२ साउनमा पाएको मेसिन अस्पतालले केही दिनमै जडान पनि गर्‍यो । तर, जडान गरिएका मेसिनबाट बिरामीलाई धमाधम सेवा दिनुको साटो अस्पतालले संघीय मन्त्रीको बाहुलीबाट उद्घाटन गर्ने भन्दै प्रतीक्षा गरिरहेको छ । जब कि उद्घाटन कहिले हुने पनि निश्चित छैन ।

‘हामीले ६ वटै मेसिन जडान गरिसक्यौँ । अब संघीय मन्त्री ल्याएर उद्घाटन गर्ने योजना बनाएका छौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यज्ञ खरेलले भने, ‘उद्घाटन कहिले हुन्छ, ठ्याक्कै भन्न सक्दिनँ, मन्त्रीको पनि समय मिल्नुपर्‍यो नि ! भदौको ५–७ गतेतिर गर्छौँ होला ।’ कोसीमा हाल नाम टिपाएर डायलाइसिसका लागि पालो कुर्ने बिरामी भने नरहेको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए । 

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएका १० डायलाइसिस मेसिन पनि स्टोरमै थन्किए
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएका १० डायलाइसिस मेसिन पनि स्टोरमै थन्किएका छन् । प्रतिष्ठानमा हाल २० मेसिन सञ्चालनमा छन् । मेसिन जडानका लागि योजना बनाइरहेको अस्पतालका सहायक निर्देशक डा. लोकेश जैसवालले बताए । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले भने मेसिन थपिएपछि ठूलो कोठा, आवश्यक बेड र जनशक्तिको पनि आवश्यक पर्ने भएकाले केही समय लाग्ने बताए । बिपीमा दैनिक सयभन्दा बढी मिर्गौलारोगीले डायलाइसिस गर्दै आएका छन् । पर्याप्त मेसिन अभावका कारण उनीहरूले समयमै डायलाइसिस गर्न पाएका छैनन् । 

वीरगन्जको नारायणी अस्पतालले पाँच मेसिन पाएको दुई साता बित्यो, जडानको टुंगो छैन 
नारायणी अस्पतालमा पाँच डायलाइसिस मेसिन आएको दुई सातासम्म पनि कुन ठाउँमा जडान गर्ने टुंगो भएको छैन । ठाउँकै अभावका कारण तत्काल जडान सम्भव नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले बताए । ‘मेसिन राख्न आवश्यक संरचना निर्माण गर्न पनि दाता खोज्नुपर्ने अवस्था छ । अस्पतालमा अहिले भएको ठाउँमा दुईवटासम्म मेसिन जडान गर्न सकिएला,’ डा. प्रधानले भने । हाल पाँच मेसिन सञ्चालनमा रहेको यो अस्पतालमा दैनिक १० बिरामीले डायलाइसिस गराउँदै आएका छन् । 

काठमाडौंकै अस्पतालमा पनि जडान भएनन् नयाँ मेसिन
जिल्ला र प्रदेशका अस्पतालमा मात्रै होइन, काठमाडौंकै अस्पतालमा पनि नयाँ डायलाइसिस मेसिन सञ्चालनमा आएका छैनन् । काठमाडौंमा वीर अस्पताललाई १०, गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई तीन, त्रिवि शिक्षण अस्पताललाई चार, नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई चार र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई २० थान डायलाइसिस मेसिन दिएको छ । यीमध्ये प्रहरी अस्पताल महाराजगन्जले मात्रै सबै मेसिन सेवा सुरु गरेको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा विभागका इन्जिनियरले मेसिन जडान गरिरहेका छन् । अन्यमा अस्पतालको आन्तरिक स्रोतबाट एक–दुई थान जडान भए पनि विभागका प्राविधिक पुग्न सकेका छैनन् ।

वीर अस्पतालका कार्यकारी अधिकारी प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले विभागबाट १० सेट मेसिन आएको र जडानको प्रक्रियामा रहेको बताए । उनका अनुसार हालसम्म तीन मेसिन जडान गरिएको छ । अहिले वीरमा १८ मेसिनबाट सेवा सञ्चालन भइरहेको छ । यहाँ करिब चार सय बिरामी डायलाइसिसका लागि पालो कुरिरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका चार थान मेसिन पनि जडानको प्रक्रियामै रहेको चिकित्सक डा. प्रेमराज ज्ञवालीले बताए । यी मेसिन सञ्चालनमा आए अस्पतालमा २५ डायलाइसिस मेसिन पुग्नेछन् । यहाँ मिर्गौलाका तीन सय बिरामी डायलाइसिसका लागि पालोमा छन् । 

प्रहरी अस्पतालकी निर्देशक डा. आशा सिंहले विभागबाट पाएका चारवटै डायलाइसिस मेसिन सञ्चालनमा आएको बताइन् । ‘हाम्रोमा विगतका तीन मेसिन बिग्रिएका थिए । त्यसैमा नयाँ मेसिन रिप्लेस गरेर सेवा सञ्चालन गरेका छौँ,’ उनले भनिन्, ‘सबै गरी हाल अस्पतालमा १४ मेसिन सञ्चालनमा छन् ।’ प्रहरी अस्पतालले खासगरी आफ्नै कर्मचारीलाई सेवामा प्राथमिकता दिने गरेको छ । यहाँ दुई सयभन्दा बढी बिरामी डायलाइसिसको पालो कुर्दै छन् । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले तीन सेट मेसिन पाए पनि सञ्चालन हुन सकेको छैन । 

कलैया अस्पतालले पाएको दुई थान मेसिन एक वर्षदेखि प्रयोगविहीन, तीन नयाँ थपिए 
संघ सरकारले कलैया अस्पताललाई गत वर्ष नै पठाएको दुई थान डायलाइसिस मेसिन एक वर्षसम्म स्टोरमै थन्किएका छन् । तर, अस्पताललाई नयाँ तीन मेसिन पुनः पठाएको छ । नयाँ मेसिन पनि दुई सातादेखि स्टोरमै छन्, सञ्चालनको टुंगो छैन । मेसिन कहाँ जडान गर्ने भनेर छलफल चलिरहेको स्टोर शाखा सहायक रमेश यादवले बताए । जिल्ला अस्पतालले पाएका पाँच मेसिन थन्किँदा यहाँ आइपुग्ने बिरामी भने डायलाइसिसका लागि वीरगन्जको नारायण अस्पताल र नेसनल मेडिकल कलेज पुग्न बाध्य छन् । ती अस्पतालमा पनि सेवा नपाउनेहरू भरतपुर अस्पतालसम्म पुग्ने गरेका छन् । 

कहाँ–कहाँ भएनन् जडान ?

  • २५ बिरामी पालो कुरिरहेको भरतपुर अस्पतालले नयाँ डायलाइसिस मेसिन पाएन, क्यान्सर अस्पतालले सञ्चालन गर्न अझै एक महिना लाग्ने
  • ४५ बिरामी डायलाइसिसको पालो कुरिरहेको भेरी अस्पतालमा ६ थान नयाँ डायलाइसिस मेसिन, तर सञ्चालनको मिति निश्चित छैन 
  • दाङका दुई अस्पतालमा पठाइएका १८ डायलाइसिस मेसिन पनि प्रयोगविहीन
  • इलाम अस्पतालमा दुई मेसिन पुगे, तर सञ्चालनमा आउन अझै दुई महिनासम्म लाग्ने
  • चार मेसिन पुगेको कर्णाली प्रदेश अस्पतालका निर्देशक भन्छन्– स्वास्थ्य सेवा विभागले नै जडान गरिदिनुपर्ने हो, गरेको छैन
  • धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएका १० डायलाइसिस मेसिन पनि स्टोरमै थन्किए
  • वीरगन्जको नारायणी अस्पतालले पाँच मेसिन पाएको दुई साता बित्यो, कहिले जडान हुन्छ, टुंगो छैन 
  • सेती र डडेल्धुरा अस्पतालले गत वर्ष नै पाउने भनेको मेसिन अझै पाएनन् 
  • कलैया अस्पतालका दुई थान मेसिन एक वर्षदेखि प्रयोगविहीन, विभागले तीन नयाँ थपिदियो
  • काठमाडौंका वीर, शिक्षण र गंगालाल अस्पतालमा पनि जडान भएनन् १७ नयाँ मेसिन, चार मेसिन पाएको नेपाल प्रहरी अस्पतालले सञ्चालनमा ल्यायो, राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा २० मेसिन जडान हुँदै

सप्तरीमा सौरभ यादव, चितवनमा विवेक पोख्रेल, बाँकेमा विश्वराज पछल्डङ्ग्या, दाङमा दीपक बोहरा, झापामा चिरञ्जीवी घिमिरे, विराटनगरमा गणेश लम्साल, धरानमा देवेन्द्र कार्की, धनगढीमा तेजराज भट्ट, सुर्खेतमा रमेश रावल, पोखरामा रोहितराज पराजुली, लमजुङमा शान्ता कमली, वीरगन्जमा तिवारी यादव