मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार ०७:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पेडियाट्रिक फाइजर खोपको दोस्रो अभियान ५ भदौबाट 

दोस्रो चरणमा १५ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार ०७:५८:००

कोभ्याक्स सुविधामार्फत बालबालिकालाई लगाउन निःशुल्क उपलब्ध भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष उमेर पुगेका ३९ लाख बालबालिकालाई दिइनेछ 

कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोपको दोस्रो अभियान ५ भदौबाट सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले ५ भदौबाट दोस्रो अभियान सञ्चालन हुने बताए । 

पहिलो अभियानमा लगाउन छुटेकालाई सम्बन्धित स्वास्थ्य संस्थाले दिइरहेको छ । सरकारले पहिलो अभियानअन्तर्गत २७ जिल्लाका १९ लाख १९ हजार ४० बालबालिकालाई खोप लगाउने अनुमान गरेको थियो । तर, गत बिहीबारसम्मको तथ्यांकअनुसार १५ लाख ५९ हजारले लगाएका छन् । खोप भने १८ लाख ५१ हजार खर्च भएको देखिएको छ । तथ्यांक आउने क्रम जारी भएकाले लगाउनेको संख्या बढ्ने अनुमान सरकारी अधिकारीहरूको छ । 

कोभ्याक्स सुविधामार्फत बालबालिकालाई लगाउन निःशुल्क उपलब्ध भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष उमेर पुगेका ३९ लाख बालबालिकालाई दिइनेछ । उक्त उमेरसमूहमा ८४ लाख बालबालिका आबद्ध हुनेछन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पर्याप्त मात्रामा खोप उपलब्ध भएको छ । 

बालबालिकालाई लगाइने कोरोनाविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको सरकारी अधिकारीहरूले बताएका छन् । परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए ।

सरकारले २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई ९ देखि १५ असारसम्म खोप लगाएको थियो । त्यही समूहलाई २ देखि ८ साउनसम्म दोस्रो मात्राको खोप दिएको छ । दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ भदौसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म सञ्चालन गर्ने जनाएको छ । दोस्रो चरणमा १५ लाखभन्दा बढी बालबालिकाले खोप लगाउने अनुमान गरिएको छ । 

दोस्रो चरणका ५० जिल्ला

प्रदेश १ : भोजपुर, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर 
मधेस प्रदेश : बारा, रौतहट, सर्लाही 
बाग्मती प्रदेश : रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक 
गण्डकी प्रदेश : बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ 
लुम्बिनी प्रदेश : कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम
कर्णाली प्रदेश : पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट
सुदूरपश्चिम प्रदेश : अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला