१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिसिक्यामेरा : उपत्यकाको अपराध र  दुर्घटना अनुसन्धानमा प्रभावकारी औजार 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५२:oo

सिसिक्यामेराका कारण अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग मात्रै होइन, निर्दोषलाई न्याय दिलाउन पनि मद्दत भएको छ 

सिसी (क्लोज सर्किट) क्यामेरा नभएको भए ललितपुर महालक्ष्मी– ४ का ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ हातहतियार तथा खरखजना मुद्दामा यतिवेला जेलमा हुन्थे । तर, प्रहरीले जब सिसिक्यामेरामा कैद फुटेज विश्लेषण गर्‍यो । उनलाई षड्यन्त्रपूर्वक आफ्नै हितैषीले फसाउन खोजेको खुल्यो । 

प्रहरीले गत १३ असारमा श्यामकृष्ण चढ्ने स्कुटरको डिकीमा अत्याधुनिक पेस्तोलसहित दुई राउन्ड गोली फेला पारेको थियो । प्रहरीले श्यामकृष्णसँग बयान लियो । तर, उनले हतियारको स्रोत खुलाउन सकेनन् । अनुसन्धान फरक ढंगबाट लैजाने निष्कर्षमा प्रहरी पुग्यो । श्यामकृष्णको आवागमन हुने सबै ठाउँका ‘सिसिक्यामेरा फुटेज’ संकलन गरिए । सूक्ष्म तवरले फुटेज विश्लेषण भए । 

सोही क्रममा पार्क गरिराखेको उनको स्कुटरनजिक ललितपुर महालक्ष्मी– ८ लुभुका ४३ वर्षीय अनिल श्रेष्ठ पुगेको देखियो । गतिविधि शंकास्पद लागेपछि प्रहरीले अनुसन्धानलाई अझ गहिरो बनायो । यही क्रममा खुल्यो– श्यामकृष्ण चढ्ने स्कुटरको डिकीमा पेस्तोलसहित गोली उनैले राखेका रहेछन् । 

पाँचथर तुम्बेया गाउँपालिका– ५ का ४२ वर्षीय शिव लिम्बूलाई पनि जेल जानबाट सिसिक्यामेराले बचाएको छ । प्रहरीले उनी चढ्ने मोटरसाइकलबाट कस्तुरीको बिना फेला पारेको थियो । सिसिक्यामेरामा कैद फुटेज अध्ययनपछि खुल्यो, उनको मोटरसाइकलमा पाँचथर चिलिङदिङ– ४ का आदम भनिने सुभाष राईले कस्तुरीको बिना राखेका रहेछन् । 

यद्यपि, उनी १५ दिन जिल्ला वन कार्यालयको हिरासत कक्षमा बस्न बाध्य हुनुपर्‍यो । चाबहिल शान्ति गोरेटोस्थित खाजा पसलअगाडि पार्क गरिराखेको मोटरसाइकलमा कस्तुरीको बिना राख्न सुभाषले गुल्मी मदाने गाउँपालिका– ३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठलाई प्रयोग गरेका थिए । जब कृष्णले बिना राखे, त्यसलगत्तै सुभाष आफैँले प्रहरीलाई सुराक दिएका थिए । 

गत १२ पुसमा ३४ वर्षीया युवतीलाई १६ घन्टा नियन्त्रणमा लिई पटक–पटक बलात्कार भएको जाहेरी प्रहरी कार्यालयमा पर्‍यो । पीडित युवती अभियुक्तमध्ये कसैलाई चिन्न सक्ने अवस्थामा थिइनन् । प्रहरीले घटनास्थल निरीक्षण गर्‍यो । गेस्टहाउसआसपासका सबै सिसिक्यामेरा फुटेज नियन्त्रणमा लियो । एक–एक गर्दै फुटेजको विश्लेषण गर्‍यो । अन्ततः घटनामा संलग्न नौ अभियुक्त पहिचान भए । प्रहरी सबैलाई पक्राउ गर्न सफल भयो । 

उपत्यकाभित्र भएका माथिका तीनैवटा घटना फरक मिति र ठाउँका हुन् । घटनाका प्रकृति पनि फरक नै छन् । तर, तीनवटै घटनामा समान पक्ष के छ भने सिसिक्यामेरा फुटेज । जसले अपराध अनुसन्धानमा प्रहरीलाई सघाएको मात्रै छैन, निर्दोषले न्याय पनि पाएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सन्तोषसिंह राठौर सिसिक्यामेरा अपराध अनुसन्धानमा महत्वपूर्ण औजार साबित भएको बताउँछन् । ‘सिसिक्यामेरा नभएको भए वास्तविक अपराधी जेल बाहिर हुन्थे । पीडित उल्टै जेल परिरहेको हुन्थ्यो । चाबहिल र ललितपुरको पछिल्ला घटना यसका गतिलो उदाहरण हुन्,’ उनले भने, ‘यसको अर्थ सिसिक्यामेरा अपराध अनुसन्धानमा प्रहरीका लागि महत्वपूर्ण औजार साबित भएका छन्, यसलाई हामी सुखद मान्न सक्छौँ ।’

उपत्यकाभित्र दैनिक सरदर २८ वटा सवारी दुर्घटना हुन्छन् । दुर्घटनामा दैनिक कम्तीमा एकजनाको ज्यान जान्छ । एकजना गम्भीर घाइते हुन्छन् भने २२ सामान्य घाइते हुन्छन् । दुर्घटनाको अनुसन्धान जटिल विषय हो । ‘म्यानुअल्ली’ अनुसन्धान गर्दा प्रहरीले विगतमा धेरै समस्या झेल्नुपथ्र्यो । तर, सिसिक्यामेरा फुटेका कारण पछिल्ला दिनका दुर्घटनाको अनुसन्धान सजिलो बन्न पुगेको प्रहरीको अनुभव छ । 

कार्यालयका प्रवक्ता एसपी राठौरले भने, ‘ट्राफिक प्रहरीलाई पनि सिसिक्यामेराले सहज बनाइदिएको छ । दुर्घटना अनुसन्धानमा होस् या दुर्घटनापछि फरार सवारीचालक पहिचानमा होस्, सिसिक्यामेरा उपयोगी साबित भएका छन् ।’

हराएका सामग्री फेला पर्न सिसिक्यामेरा 
गोरखा देउरालीका तेजप्रसाद अगाईं ट्याक्सी चढेर थापाथलीबाट गोल्कुपाखा जाँदै थिए । उनी गोल्कुपाखा त निर्धारित समयमा नै पुगे, तर झोला ट्याक्सीमै छुट्यो । झोलाभित्र केही नगद र महत्वपूर्ण कागजात थिए । 

जाहेरी बोकेर उनी ट्राफिक महाशाखा पुगे । घटनाको विवरण ट्राफिक प्रहरीलाई बताए । ट्राफिक प्रहरीले घटनास्थलआसपासका सबै सिसिक्यामेरा फुटेज संकलन गर्‍यो । फुटेज विश्लेषण गर्‍यो । नभन्दै ८ माघका दिन थापाथलीमा तेजप्रसाद चढेको ट्याक्सी बा.१ज ८०३० रहेको खुल्यो । प्रहरीले ट्याक्सीसहित चालक नियन्त्रणमा लियो र छुटेको सामग्री फिर्ता गरायो ।

काठमाडौंका सन्दीप खत्री गत १९ पुसमा सिनामंगलबाट ट्याक्सी चढेर एयरपोर्ट गए । झोलामा केही नगद र महत्वपूर्ण कागजात थिए । ओर्लने वेला उनले झोला ट्याक्सीमै बिर्से । जब झोला सम्झे, त्यसवेलासम्म ट्याक्सी लापत्ता भइसकेको थियो । बा.२ज ४२१३ नम्बरको ट्याक्सीमा झोला छुटेको भन्दै उनी जाहेरी बोकेर ट्राफिक प्रहरी महाशाखा पुगे ।

घटनाको बेली–विस्तारपछि ट्राफिक प्रहरीले अनुसन्धान सुरु गर्‍यो । घटनास्थलआसपासको सबै सिसिटिभी फुटेज संकलन गर्‍यो । अनि एकएक गर्दै केलाउन थाल्यो । तर, जाहेरीमा उल्लेख गरिएको ट्याक्सी नम्बर केही गरी पनि फेला पार्न सकेन । 

प्रहरीले फेरि अर्को ढंगबाट घटनाको अनुसन्धान गर्‍यो । यसपटक भने सन्दीप चढेको ट्याक्सी बा.२ज ४२१३ नम्बरको नभई बा.२ज ४२१२ नम्बरको रहेको खुल्यो । प्रहरीले ट्याक्सीसहित चालकलाई पक्राउ गर्‍यो । नभन्दै छुटेका सबै सामग्री सन्दीपले सकुशल पाए ।

उपत्यकामा कति छन् सिसिक्यामेरा ?
सिसिक्यामेरा जडान तथा सञ्चालन कार्याविधि, २०७२ ले सिसिक्यामेरा प्रयोगलाई सार्वजनिक, व्यापारिक र निजी गरी तीन तहमा विभाजन गरेको छ । प्रहरीसँग सार्वजनिक स्थानका क्यामेराको तथ्यांक रहे पनि व्यापारिक र निजी गरी तहमा राखिएका सिसिक्यामेराको हिसाब छैन । उपत्यकाभित्रका सबै सर्वजनिकस्थल अहिले सिसिक्यामेराको पहुँचभित्र रहेको प्रहरीको भनाइ छ ।

उपत्यकाभित्र सार्वजनिक प्रयोजनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले तीन हजार ३३ सिसिक्यामेरा राखेका छ । जसमध्ये आठ सय ५० वटा ‘प्यान टिल जुम’ क्यामेरा हुन् भने बाँकी ‘फिक्स्ड’ क्यामेरा हुन् । केही क्यामेरा ‘प्यानोरोमा’ प्रणालीका पनि छन् । तर, त्यसको संख्या कम छ । व्यापारिक र निजी प्रयोजनमा राखिएका सिसिक्यामेरा पनि उल्लेख्य छन्, जुन प्रहरीले चाहेको बखत नियन्त्रणमा लिन सक्छ । तर, त्यसको संख्या भने यकिन छैन । 

सार्वजनिकअन्तर्गत सार्वजनिकस्थल, सडक, सार्वजनिक मञ्च, सरकारी कार्यालय, विमानस्थल, कूटनीतिक नियोग, सांस्कृतिक सम्पदा, महत्वपूर्ण प्रतिष्ठानमा राखिने क्यामेरा हुन् । सबै प्रकारका बैंक, वित्तीय संस्था, मल, डिपार्टमेन्ट स्टोर, सुनचाँदी पसलमा राखिने क्यामेरा भने व्यापारिक प्रयोजनअन्तर्गत पर्छन् । व्यक्तिगत सुरक्षाका लागि राखिने सिसिक्यामेरा भने निजीअन्तर्गत पर्छन् । 

आगामी वर्षभित्र कार्यालयले भिएमएस (भिडियो म्यानेजमेन्ट कमान्ड) क्यामेरा पनि जडान गर्ने योजना बनाएको छ । पहिलो चरणमा यस्ता क्यामेरा एक सय ४५ वटा राखिने कार्यालयको भनाइ छ । जडान गरिएका र अब जडाने हुने सबै सिसिक्यामेराको स्टोरेज क्षमता तीन महिनाको रहेको प्रहरीको भनाइ छ । यसपछि उपत्यकाभित्रका लगभग सबै सार्वजनिकस्थल, सडक, नाका सिसिक्यामेराको पहुँचभित्र हुने कार्यालयका प्रवक्ता एसपी राठौरले बताए । सबैको स्टोरेज क्षमता तीन महिनाको हुन्छ ।
 

ad
ad