१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ १ मंगलबार १५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काम नसकिँदै मन्त्रीहरूले गरे पुलको उद्घाटन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:५o:oo

हुलाकी सडकअन्तर्गत पर्ने तिलावे खोलामा निर्माण भइरहेको पुलको सम्पूर्ण काम नसकिँदै शनिबार उद्घाटन गरिएको छ । निर्माणाधीन पुलको एप्रोच सडक र नदीको तटबन्धनको काम नसकिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातारणमन्त्री प्रदीप यादवले संयुक्त रूपमा अधुरो पुलको उद्घाटन गरेका हुन् । पूर्ण रूपमा निर्माण सम्पन्न नभएको जानकारी हुदाँहुँदै पनि उनीहरूले हतारमा पुलको उद्घाटन गरेका हुन् । 

गत बुधबार उद्घाटनको कार्यक्रम तय गरिए पनि शनिबार मात्र मन्त्रीद्वय पुलको उद्घाटन गर्न पुगेका थिए । समयसीमाभन्दा ढिला गरी निर्माण भइरहेको पुलको दुवैतर्फको करिब ९० मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम सम्पन्न नहुँदै पुलको उद्घाटन भएको स्थानीयले बताएका छन् । 

हुलाकी सडकको तिलाबे खोलाको १०३ मिटर लामो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय युवाले गतवर्ष समूह गठन गरेर दबाब दिएका थिए । विगत लामो समयदेखि निर्माणाधीन पुलको काम सम्पन्न नहुँदै उद्घाटनको नाममा पुलमा राजनीतिकरण गरिएको युवा अभियन्ता राकेश यादवले बताए । काम पूरा नहुँदै उद्घाटन गरेर जनतालाई मूर्ख बनाइएको उनको भनाइ छ । अगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेश सभाको निर्वाचनमा राजनीतिक फाइदा हुने देखिएकाले काम नसकिँदै पुलको उद्घाटन भएको उनले बताए । अर्का युवा जय यादवले अधुरो तिलाबे पुलको उद्घाटनको बहिष्कारसँगै आफूहरूको विरोध जारी रहेको बताएका छन् । 

शनिबार उद्घाटन गरिएको पुलको एप्रोच सडक र नदीको तटबन्धको काम सम्पन्न नभएको पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले बताए । अहिले पुलको ९० प्रतिशत काम सकिएको र बर्खा सकिएलगत्तै ती दुवै काम सुरु गरिने ठेकेदार रौनियारले बताए । अहिले बर्खामा एप्रोच सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिलेको उनको भनाइ छ । 

२०७२ जेठ २५ मा पप्पु-लुम्बिनी जेभीले सात करोड ७१ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार सम्झौताअनुसार पुलको काम २०७५ जेठ २४ मा काम सक्ने जनाइएको थियो । तर, ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएको थियो । 


 

ad
ad