१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार ०८:४९:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक प्रभाकरलाई  समय थोरै, चुनौती धेरै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार ०८:४९:००

मासिक १५ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित मुख्य प्रशिक्षक प्रभाकरलाई थोरै समयमा नेपाली टोलीलाई जितको लयमा ल्याउनेदेखि एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने चुनौती 

सन् १९९० दशककै भारतीय चर्चित क्रिकेटर मनोज प्रभाकरले अबको दुई वर्ष सिनियर नेपाली क्रिकेट टोलीलाई निखार्नेछन् । प्रभाकरको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कस्तो नतिजा ल्याउनेछ ? यसको विश्लेषण अहिले नै गर्न मिल्दैन । खेलाडीका रूपमा प्रभाकर भारतीय क्रिकेटमा सफल मानिन्छन् । डेढ दशक भारत, अफगानिस्तान, रणजी ट्रफी र इन्डियन प्रिमियर लिगको अनुभवलाई प्रभाकरले नेपाली क्रिकेटरसँग बाँड्नेछन् । नेपाली क्रिकेटरले पनि यो दुई वर्षमा उनीसँग राम्रो नै ज्ञाने लिनेछन् ।

श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले अचानक छाडेपछि दुई साता नेपाली टोली प्रमुख प्रशिक्षकविहीन भयो । नेपाल क्रिकेट संघ (क्यान)ले गत माघमा मुख्य प्रशिक्षकहरूको सर्ट लिस्टमध्ये एकजनालाई नै मुख्य प्रशिक्षक बनाउने योजना बनाएको थियो । तर, भारतीय क्रिकेट बोर्डको प्रस्तावमै क्यानले प्रभाकरलाई नेपाली टोलीका मुख्य प्रशिक्षक बनायो । 

पूर्वप्रशिक्षक दासानायकेको प्रशिक्षणमा नेपालले अमेरिका र स्कटल्यान्डमा खराब प्रदर्शन नै गर्‍यो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका रूपमा आएका प्रभाकरका लागि चुनौती धेरै छन् । प्रभाकरले मासिक नेपाली १५ लाख रुपैयाँ थाप्नेछन् । यसै शनिबार नेपाल आउँदा प्रभाकरको पहिलो परीक्षा नै केन्यासँगको मैत्रीपूर्ण खेल हुनेछ ।

नेपाली क्रिकेटमा रहेका अनेक थरीका समस्याबीच प्रभाकरले सामना गर्नुपर्ने देखिन्छ । नेपाली टोलीमा भएको गुट–उपगुट चिर्नु नै उनको पहिलो कार्य हुनेछ । साथै, छरिएर बसेका नेपाली खेलाडीलाई एकै स्थानमा ल्याउने जिम्मेवारी पनि उनकै काँधमा छ । यद्यपि, उनलाई त्यति सहज भने हुनेछैन । प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । उनको यो नै पहिलो मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी हो । यसअघि अफगानिस्तान टोलीका बलिङ मुख्य प्रशिक्षक बन्नु नै ठूलो उपलब्धि थियो । 

सीमित स्रोत–साधनको प्रयोग
अफगानिस्तानलाई टेस्ट राष्ट्र बनाउनमा प्रभाकरको योगदान महत्वपूर्ण मानिन्थ्यो । उनीमाथि खस्किएको नेपाली क्रिकेटलाई सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी नतिजा निकाल्ने चुनौती रहेको छ । उनलाई नेपालमा भएको सीमित साधनको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । वर्तमान टोलीमा नयाँ युवा खेलाडीको वर्चस्व रहेको छ । टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन् । ब्याटिङ पक्षको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता प्रभाकरलाई छ । 

‘अहिले नेपाली टोली ब्यालेन्स टोली छ । युवा टोलीको वर्चस्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ,’ उनले भने, ‘अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउन प्रशिक्षकसँग हामीले योजना माग्छौँ । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गर्छौँ ।’ घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रस्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसिएटका शीर्ष टोलीका रूपमा लिइन्छ । लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशबीच आकाश–पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ ।

एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने
पछिल्लोपटक नेपालले स्कटल्यान्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा नेपालले जित निकाल्यो । नेपालले बाँकी तीन खेल गुमायो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकापछि नेपालले स्कटल्यान्डमा राम्रो नतिजा ल्याउने विश्वास थियो । यद्यपि, कप्तान सन्दीप लामिछानेले पनि स्कटल्यान्डको भ्रमणमा धेरै खेल जित्ने दाबी गरेका थिए । तर, उनको त्यो सपना पूरा भएन । दुई महत्वपूर्ण सिरिजमा खराब नजिता व्यहोरेपछि मात्र नेपाली टोलीमा भएको खराबी केलाउन थालेको हो । नेपाल पराजित हुनुको मुख्य कारण नै टोलीको एकता तथा ब्याटिङ समस्या नै थियो । 

आइसिसी विश्वकप लिग–२ को अन्तिम नतिजाले एकदिवसीय मान्यता रहने वा नरहने बताउनेछ । शीर्ष पाँच स्थानमा रहने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्नेछ । अहिले नेपाल छैटौँ स्थानमा छ । नेपालले लक्ष्य भेट्टाउन सकेन भने एकदिवसीय मान्यता गुमाउने डर त्यतिकै छ । प्रभाकरले नेपाली टोलीलाई जितको लयमा लैजाने जिम्मेवारीसँगै एकदिवसीय मान्यता रक्षा गर्नुपर्ने हुन्छ । 

प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले थप उचाइ प्राप्त गर्ने क्यानका कोषाध्यक्ष रोशन सिंहले विश्वास लिएका छन् । ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेका थियौँ,’ सिंहले भने, ‘पारिवारिक कारणले उहाँ जानुभयो ।’ क्यानले रिक्त भएको पदमा लामो कसरतपछि प्रभाकरलाई जिम्मा दिने निर्णय गरेको उनले बताए । ‘प्रभाकरलाई १४–१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ,’ उनले भने, ‘उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ ।’ 

ब्याटिङ पक्ष सुधार्नुपर्ने 
नवनियुक्त प्रमुख प्रशिक्षक प्रभाकरले कमजोर ब्याटिङ पक्ष सुधार्नु अत्यन्तै जरुरी छ । उनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोलीको ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा कमजोरी पुरानै हो । निकै महत्वपूर्ण खेलमा खराब ब्याटिङका कारण नै नेपालले हारको सामना गर्नुपरेको अवस्था छ । नामिबिया, ओमान र अमेरिकासँगको प्रतिस्पर्धामा नेपालका बलरले विपक्षीलाई सस्तै योगफलमा रोकेका थिए । तर, खराब ब्याटिङले गर्दा नै सहज लक्ष्यसमेत नेपालले पछ्याउन सकेन ।

यसैकारण नेपालले आइसिसी विश्वकप लिग–२ मा राम्रो स्थान हात पार्न नसकेको हो । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधारका लागि अन्य विकल्प खोज्नुपरे पनि क्यान तयारी हुनुपर्छ । क्यानले योजना बनाएर एकदिवसीय, दुईदिवसीय अथवा तीनदिवसीय खेलाउनुपर्नेछ । विश्वकप क्रिकेट लग–२ को शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।