मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २८ शनिबार ०८:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा ६ सय ८८ उद्योग थपिए

Read Time : > 1 मिनेट
२०७९ श्रावण २८ शनिबार ०८:०५:००

परम्परागत खेती प्रणालीमा खेती हुँदै आएको पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसायलाई नाफामुखी र व्यावसायिक बनाउनेतर्फ आकर्षण बढी भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङले जनाएको छ । 

लमजुङमा एक वर्षमा ६ सय ८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ०७८ साउनदेखि ०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६ सय ८८ नयाँ उद्योग थपिएका हुन् । कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै चार सय ६१ उद्योग कृषि तथा वन पैदावरसम्बन्धी छन् । सोबाहेक एक सय ४८ सेवामूलक, ४० वटा उत्पादनमूलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् । 

घरेलु कार्यालयमा दर्ता संख्याअनुसार जिल्लामा गत वर्ष चार सय ३२ जना महिला र दुई सय ८२ पुरुष गरी कुल सात सय १४ जना नयाँ उद्यमी थपिएका छन् । उक्त उद्योगहरूमा एक हजार ८४ महिला र एक हजार दुई सय ९७ पुरुष गरी दुई हजार तीन सय ८१ जनाले रोजगार पाएको तथा रोजगारीमा आबद्ध भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ । विगत चार आर्थिक वर्षको उद्योग दर्ता तथ्यांकअनुसार सबैभन्दा धेरै अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा जिल्लामा नौ सय ७० उद्योग थपिएका थिए । 

आर्थिक वर्ष ०७४÷७५ मा दुई सय ७६, ०७५ र ०७६ मा चार सय ६८ र ०७६ र ०७७ मा ६ सय ६९ उद्योग दर्ता भएको घरेलु कार्यालयको तथ्यांक छ । गत वर्ष कोरानाका कारण बेरोजगारी बढेकाले पनि कृषितर्फ मानिसको आकर्षण बढेको कार्यालयले जनाएको छ । पछिल्लो समय भने कोरोना दर घटेसँगै कृषिमा आकर्षण पनि घटेको पाइएको छ ।  

दर्ता भएका अधिकांश उद्योगहरूमध्ये कृषि फार्म, कृषि औजार, ब्युटिपार्लर, पर्यटन उद्योग, दालमोठ उद्योग, बेकरी उद्योग, सिलाइकटाइ, कुटानी–पिसानी, अलैँची, बंगुर फार्म, मौरीपालन उद्योगलगायत रहेका छन् । जिल्लामा कृषि फार्म र उत्पादनमूलक उद्योगहरू थपिने क्रम बढिरहेको छ ।