प्रहरीमा लम्पसारवादले बढाएको जोखिम

तल्लो तहका कर्मचारीलाई हेडक्वार्टरले ममाथि न्याय गर्छ भन्ने भरोसा नभएपछि उनीहरू नेताहरूको चाकरीमा जानु अन्यथा होइन

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

केही दिनअघि एकजना साथीले बोलाएपछि भेट्न जाँदा त्यहाँ हालै बढुवा भएका एकजना एसपीसाब मिठाई बोकेर पुग्नुभएको थियो । उहाँ मैले पनि चिनेको अफिसर हुनुहुन्छ र राम्रो पनि मानिनुहुन्छ । त्यति हुँदाहुँदै पनि बढुवा हुँदा उहाँ मिठाई बोकेर बाहिरी मान्छेकहाँ किन जानुपर्यो ? म चकित भएँ । यस घटनाले नेपाल प्रहरी कुन अवस्थामा पुगेको छ भन्ने देखाउँछ । प्रहरीभित्र राजनीति छिरेको धेरै भइसक्यो । प्रहरीको सरुवा–बढुवामा ०४६ सालदेखि नै राजनीतिक नेतृत्वबाट बदमासी हुँदै आएको छ । ०४६ मा प्रजातन्त्र आएपछि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा त्यतिवेला गृहमन्त्री हुनुहुन्थ्यो । उहाँबाटै प्रहरी संगठनभित्र राजनीति सुरु भएको हो । त्यतिवेला रत्नशमशेर जबरा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो, उहाँलाई विनाकारण हटाएर देउवाले स्वार्थवश मोतिलाल बोहरालाई आइजिपी बनाउनुभयो । 

त्यसयताका दिनमा प्रहरीलाई सुधार्नेतर्फ कोही पनि लागेनन् । यदाकता प्रहरी बलियो हुनुपर्छ भन्ने नेतृत्व गृह मन्त्रालयमा नआएको होइन, तर धेरैजसो प्रहरी मेरो बिर्ता हो, उनीहरूले मेरो आदेश तामेल गर्नुपर्छ भन्ने सोचसाथ अघि बढे । जसले गर्दा प्रहरी अहिलेको अवस्थामा आइपुगेको हो । त्यसको सिकार म आफैँ पनि भए । पटक्कै सम्झौता नगर्ने मेरो कार्यशैली हो । प्रहरीको बर्दी लगाएपछि कानुनसम्मत काम गर्नुपर्छ । कानुनले गर् भनेको काम गर्ने, नगर् भनेको काम नगर्ने मेरो पहिलेदेखिकै मान्यता हो । म त सिपाहीबाट जागिर खाएको मान्छे, इन्सपेक्टर भएँ, त्यसपछि २७ वर्षसम्म आफ्नो ब्याचमा नम्बर एक थिएँ । यसबीच व्यापक चलखेल भए । लम्पसारवादीहरू हाबी हुँदै गए । चाकडी रुचाउने राजनीतिकर्मीहरू ‘यस म्यान र ‘यस वुमन’ खोज्न थाले । हाम्रा प्रहरी साथीहरू पनि तिनकै पछि लागे ।   

एसपीबाट एसएसपी हुँदासम्म म आइजिपीको दरिलो प्रतिस्पर्धी थिएँ । एसएसपी बढुवामा पनि मलाई तल पार्न खोजिएको हो । तर, त्यतिवेलाका आइजिपी रविन्द्रप्रताप शाहले मेरा लागि अडान लिनुभयो । त्यतिवेला विजयकुमार गच्छदार गृहमन्त्री हुनुहुन्थ्यो । उहाँ कुनै पनि हालतमा यसलाई प्रमोसन गर्नु हुँदैन, गरे पनि तल्लो नम्बरमा राख्नुपर्छ भनेर लाग्नुभएको थियो । तर, यति राम्रो अफिसर कोही पनि छैन भनेर आइजिपीसाबले मेरो पक्षमा अडान लिनुभयो, नत्र बढुवा नै गर्दिनँ भनेर गृहमन्त्रीलाई मनाउन सक्नुभएको थियो । 

एसएसपी भएपछि म संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको थिएँ । दुर्भाग्यवश त्यतिवेला कमजोर प्रकृतिका प्रकाश अर्याल आइजिपी भए । मलाई अन्यायपूर्ण रूपमा बढुवामा पछि पार्दा उनी एक शब्द बोल्न सकेनन् । अहिलेका चर्चित अर्थमन्त्री (जनार्दन शर्मा) त्यतिवेला गृहमन्त्री हुनुहुन्थ्यो । शान्ति मिसनमा जानुअघि मैले उहाँलाई भेटेको थिएँ । यदि मलाई बढुवामा अन्याय हुन्छ भने म जान्नँ, अडान लिनुहुन्छ भने जान्छु भनेको थिएँ, उहाँले तपाईंजस्तो मान्छेलाई अन्याय हुन दिन्नँ भन्नुभयो । तर, उहाँले न्याय दिनुभएन । 

मिसनमै भएको वेला बिहान पाँचै बजे तत्कालीन आइजिपीले भाइबरमा फोन गरेर भन्नुभयो– ल है, मैले नसक्ने भएँ, तपाईं आफैँले के–के गर्नुपर्छ, गर्नुस् भन्नुभयो । तपाईं आइजिपी हुनुहुन्छ । तपाईंबाहेक म कहीँ पनि जान्नँ । तपाईंले नै बोल्नुपर्छ मैले भनेँ । त्यतिवेला मलाई दोस्रो नम्बरमा डिआइजीमा बढुवा गर्दा एआइजी डा. दिनेश पोखरेल हुनुहुन्थ्यो । उहाँले रमेश खरेललाई १ बाट २ नम्बरमा पुर्याउनु हुँदैन भनेर अडान लिनुभयो, तर आइजिपी एक शब्द बोल्न सकेनन् । किनकि अडान लिनसक्ने उहाँमा क्षमता थिएन । 

साँच्चै ‘पुलिसिङ’ गर्ने र ‘एन्टिकरेन्ट’ प्रहरी अधिकृतको देशलाई खाँचो छ । युनिफर्म लगाएर डकैती गर्ने सोच भएकाहरूले संगठन छाडे हुन्छ । पैसा कमाउने सोच भएकाहरूले व्यापार गर्दा हुन्छ ।

जब म डिआइजीबाटै बाहिरिएँ, अब त व्यावसायिक र इमानदार भएर काम रहेनछ, शक्तिकेन्द्र रिझाउनैपर्दाे रहेछ भन्ने सन्देश गयो । जसका कारण राम्रा–राम्रा प्रहरी अधिकृत पनि रमेश खरेलको हालत हुन्छ, देशको अवस्थाअनुसार चल्नुपर्छ भनेर चाकडीवादतर्फ लागे । ०४६ पछि निरन्तर प्रहरी महानिरीक्षक कमजोर भइरहेका छन् । अर्काको भारी बोकेपछि नेतृत्व कमजोर त हुने नै भयो । जसले उसलाई आइजिपी बनायो, उसको आदेश मान्नैप¥यो । उसको पछि लाग्नैप¥यो । पहिला–पहिला माथिल्लो तहमा मात्र हस्तक्षेप हुन्थ्यो, अहिले त तल्लो तहका कर्मचारीलाई पनि हेडक्वार्टरमा विश्वास छैन । हेडक्वार्टरले मलाई प्रमोसन गर्छ, न्याय गर्छ भन्ने भरोसा छैन, अनि उनीहरू नेताहरूको चाकरीमा जानु अन्यथा होइन । 

अहिले गृह मन्त्रालयभन्दा बालुवाटार हाबी छ भन्ने सुनिन्छ । बालुवाटारमा पनि म्याडमहरू हाबी हुुनुहुन्छ । कसरी हुन्छ, पुष्पकमल दाहाल, ओली र देउवालाई रिझाएर बढुवा हुने प्रवृत्ति बढेको छ ।  अहिले त देउवालाई रिझाएर मात्र पनि नहुने रहेछ, म्याडमहरूको हातमा रहेछ । प्रहरीमा सरुवा–बढुवा गर्न यतिवेला म्याडमहरूबीच नै प्रतिस्पर्धा छ रे भन्ने सुनिन्छ । प्रहरीमा यो अति भइसक्यो । संगठन बिग्रियो । सबैजना लम्पसारवादमा लागे । राजनीतिक पेसाकर्मीलाई त देशको के माया छ र ? राज्यका कुनै पनि संयन्त्रलाई बलियो बनाउने उहाँहरूको कुनै सोच नै छैन । अब आउने चुनावमा कसरी जित्ने र सत्ता प्राप्त गर्नेबाहेक उहाँहरूलाई कुनै चिन्ता छैन । 

खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा ‘रातो टिक’ लगाउनुहुन्थ्यो रे, कसलाई बढुवा गर्ने कसलाई सरुवा गर्ने भनेर । यस्तो भएपछि कुन प्रहरीले राम्रोसँग काम गर्छन् ? अहिले अवस्था कस्तो छ भने सरुवा र बढुवाका लागि प्राइभेट गाडी लिएर बेलुका भएपछि प्रहरी अधिकारीहरू शक्तिकेन्द्रमा दौडधुपमा लाग्ने गर्छन् । बढुवामा कार्यसम्पादन मूल्यांकनको मतलब नै हुँदैन । बालुवाटारमा लिस्ट तयार गरेर आइजिपीलाई दिइन्छ । त्यहीअनुसार नम्बर दिएर बढुवा गरिन्छ । यो सिस्टमले पैसा कमाउने र बुझाउने प्रहरीको हातमा संगठन पुगेको छ । इमानदारहरू पाखा लाग्दै गएका छन् । रामकाजी बान्तवा, राजेन्द्रबहादुर सिंह, राजेन्द्रसिंह भण्डारी, कुमार कोइरालाजस्ता इमानदार र क्षमतावान् अधिकारी यसका उदाहरण हुन् ।  

प्रहरीमा लामो समय बिताएको हुनाले यस संगठनको असाध्यै माया लाग्छ । प्रहरीमा यस्तो लम्पसारवादले समाज हतोत्साहित हुन्छ भने अपराधीहरूको शिर ठाडो हुन्छ । ‘ल एन्ड अर्डर’ कायम गर्न सकिँदैन । अराजकताले प्रश्रय पाउँछ । कानुनीराजको अन्त्य हुन्छ, बिचौलियाहरूको राज चल्छ । दण्डहीनताले प्रश्रय पाउँछ, अनि राम्रा मान्छे देशमा टिक्न नसकेर पलायन हुन्छन् । त्यो अवस्थामा भिडतन्त्रमा देश जान्छ । प्रहरी मात्र होइन, सबै संयन्त्रमा यस्तै राजनीतीकरण हुँदै गयो भने देश भिडतन्त्रमा पुग्न धेरै समय लाग्दैन । त्यसपछि जनता श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटार घेर्न पुग्नेछन् । 

प्रहरीमा यो अवस्था आउनुको सबैभन्दा ठूलो दोष अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जान्छ । त्यसकारण यसको सुधार पनि उहाँबाटै हुनुपर्छ । हिजोको दिनमा गल्ती भयो, अब गल्ती हुँदैन भनेर उहाँले भन्नुपर्छ । राज्यका कुनै निकायमा पनि हस्तक्षेप गर्दिनँ भन्न सक्नुपर्छ । ‘ज्वाइँसाब’लाई कानुन मिचेर बढुवा गर्दिनँ भनेर उहाँले प्रतिबद्धता व्यक्त गर्न सक्नुपर्छ । हामीले त पहिल्यैदेखि प्रहरी सेवा आयोगको कुरा गर्दै आएका छौँ । आयोग गठन गरेर पनि प्रहरीलाई सिस्टममा लैजानुपर्छ । यो देशमा राम्रा मान्छे पनि धेरै छन् । अवकाश प्राप्त प्रहरी, पूर्वगृहसचिव हुनुहुन्छ । उहाँहरूलाई त्यस्तो आयोगमा राखेर प्रहरीको सरुवा–बढुवालाई सिस्टमले बाँध्न सकिन्छ । अहिलेकै अवस्थाले त नेपाल प्रहरी महानगरीय प्रहरी पो हुन्छ कि भन्ने डर पनि लाग्छ । 

प्रहरी कमजोर हुनुमा राजनीतिक पेसाकर्मी मात्र होइन, प्रहरी स्वयंको पनि दोष छ । प्रहरीको सुधारमा आइजिपीको ठूलो भूमिका हुन्छ । आइजिपी बलियो भए धेरै ठिक हुन्छ । एउटा जिल्लामा एसपी बलियो हुँदा उसले धेरै काम गर्न सक्छ भने आइजिपीले चाहने हो भने सिंगो संगठन बलियो हुन्छ । त्यसकारण आइजिपीले जसरी आइजिपी भए पनि संगठनलाई बलियो बनाउँछु भनेर प्रतिबद्ध हुनुपर्छ । तपाईंलाई हटाउन सक्लान्, तर एउटा उदाहरण सेट हुन्छ । तपाईं रोलमोडल बन्न सक्नुहुन्छ । काम गरेर देखाउनुपर्छ । 

कुनै पनि आइजिपीले अडान लिएर काम गर्न नसक्नुमा उनीहरूको कमजोरी पनि जिम्मेवार छ । प्रहरीमा एउटा यस्तो घटना छ, एक आइजिपीलाई १३ पन्ने फारम भराएर तर्साएर आफूअनुकूल काममा लगाएका उदाहरणसमेत छन् यहाँ । किनकि ती आइजिपीले पनि बदमासी त गरेकै थिए । बदमासी गरेपछि उनको केही गर्ने नैतिक बल भएन । बदमासी र चाकडी गरेर पदमा पुग्ने मान्छेसँग नैतिक बल हुँदैन । नेक्ससले समातिहाल्छ । कतिपयलाई त ठेकेदारले आइजिपी बनाइदिन्छन्, अनि उनीहरू सिपाहीको लुगामा बदमासी गरेर कमाउँछन् । 

साँच्चै ‘पुलिसिङ’ गर्ने र ‘एन्टिकरेन्ट’ प्रहरी अधिकृतको देशलाई खाँचो छ । युनिफर्म लगाएर डकैती गर्ने सोच भएकाहरूले संगठन छाडे हुन्छ । पैसा कमाउने सोच भएकाहरूले व्यापार गर्दा हुन्छ । प्रहरीको बर्दीमा तपाईंहरूले गरेको पापको फल तपाईंका छोरानातिसमेतले भोग्नुपर्ने हुन्छ । अहिलेका आइजिपीसाबलाई मेरो अनुरोध छ, कसैको भारी बोक्नुभएको छ भने बिसाइदिनुस्, ८० हजार फौजले तपाईंमाथि विश्वास गर्ने वातावरण बनाउनोस् । राम्रो मान्छेलाई संरक्षण गर्नुस्, बजेटको सदुपयोग गर्नाेस् । हतियार खरिदबाट त तपाईं जोगिनुभयो । झन्डै अर्काे सुडानकाण्ड हुन लागेको थियो । सुडानकाण्डमा केके भयो थाहै छ । त्यसमा संलग्न कांग्रेस नेताहरू कसरी जोगिए ? कसैलाई रिझाएर ३० वर्षे हटाउने खेलमा नलाग्नुस्, हो ३० वर्षे सेवाहद ठिक छैन, तर चाकडी गरेर होइन । सबैलाई न्याय हुने गरी काम गर्नाेस्, ८० हजार प्रहरी मात्र होइन, झन्डै तीन करोड नेपालीले तपाईंलाई स्यालुट गर्नेछन् । 
(खरेल अवकाश प्राप्त डिआइजी हुन्) 
 

सुझावित समाचार