१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०८:०५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुनौलो शैक्षिक यात्रा 

एसइई पछिको यात्रा

Read Time : > 4 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०८:०५:००

एसइईको नतिजाले साइन्स समूहबाहेक अन्य विषय अध्ययनमा अधिकांशलाई बाटो खोलिदिएको छ,तर अहिलेको रोजाइले उच्च शिक्षाको यात्रा र आफ्नो करिअर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइर्ई) को नतिजा सार्वजनिक भएपछि यतिवेला लाखौँ विद्यार्थी उच्च शिक्षा अध्ययनको तयारीमा जुटेका छन् । एसइईको नतिजा, आफ्नो चाहना र क्षमताअनुसार लाखौँ विद्यार्थी सुनौलो भविष्यको खोजीमा लागेका छन् । यसका लागि पहिलो निर्णय गर्नुपर्ने विषय हो, कक्षा ११ मा अध्ययन गर्ने सही विषय र शैक्षिक संस्था । कतिपयले यतिवेला विषय र शैक्षिक संस्था छनोट गरिसकेका छन् भने कतिपय अझै अन्योलमा छन् । 

एसइईको नतिजापछि चारैतिर बाटो खुलेकाले विद्यार्थीले आफू कता जाने हो र कुन बाटोले कता लैजान्छ भन्ने गम्भीर सोचेर निर्णय गर्नुपर्नेछ । एसइईको नतिजाले साइन्स समूहबाहेक अन्य विषय अध्ययनमा अधिकांशलाई बाटो खोलिदिएको छ, तर अहिलेको रोजाइले उच्च शिक्षाको शैक्षिक यात्रा र आफ्नो करिअर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाविद् प्रा.डा. पेसल खनाल अभिभावकको दबाब तथा अन्य कारणले आफूअनुकूलको विषय छनोट नगर्दा बीचमै पढाइ छाड्ने समस्या हुने गरेको बताउँछन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ०७८ को एसइईमा कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले सहभागिताका लागि फारम भरेका थिए । तीमध्ये २२ हजार ६ सय ४० अनुपस्थित भए । परीक्षा दिएकामध्ये जिपिए ३.६ देखि ४.० ल्याउने नौ हजार ६ सय ३३ छन् । जिपिए ३.२ देखि ३.६० सम्म ४१ हजार ६ सय २७, जिपिए २.८ देखि ३.२० सम्म ६९ हजार नौ सय, जिपिए २.४ देखि २.८० सम्म ल्याउने ९० हजार सात सय ५८, जिपिए २.० देखि २.४० सम्म एक लाख १२ हजार सात सय ३३, जिपिए १.६ देखि २.०० सम्म एक लाख पाँच सय ९४ छन् । यी अधिकांश विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन सक्छन् । जिपिए १.२ देखि १.६० सम्म ल्याउने ४४ हजार पाँच सय ८६ र जिपिए ०.८ देखि १.२० सम्म तीन हजार दुई सय ८० छन् । 

पाठ्यक्रम विकास केन्द्रले साधारण शिक्षातर्फ कक्षा ११ मा भर्नाका आधार तय गरिसकेको छ । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड (जिपिए) १.६ प्राप्त गरी कक्षा १० मा पढेका अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस औसत ग्रेड ल्याएको हुनुपर्ने उल्लेख छ । तीबाहेकका विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ । यसले केही हजारबाहेकका विद्यार्थीले विज्ञान समूहका विषयबाहेक अध्ययन गर्न सक्ने अवस्था छ । ‘कुनै विषय छनोटका लागि एसइईको ग्रेडसिट हेरेर मात्र थाहा हुँदैन, भित्रैदेखि रुचि देखिनुपर्छ,’ खनाल भन्छन् ।

कक्षा १० को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा होइन, तर एसइईपछि कक्षा ११ र १२ मा अध्ययन गरिने विषयले विश्वविद्यालय शिक्षा प्रवेश र अन्य अवसरलाई निर्धारण गर्दछ । झन्डै पाँच लाख विद्यार्थीको एउटै रुचि र चाहना छैन । केही घन्टा लेखेका आधारमा निर्धारण भएका जिपिएले पूरै भविष्यलाई निर्धारण नगर्न सक्छ, तर आफूले आफैँलाई साक्षी राखेर रुचि र क्षमताअनुसारका विषय पढ्दा राम्रो हुन्छ । अबको मिहिनेतले रुचिलाई पछ्याउने सम्भावना भएमा समेत कम जिपिए आएका कारण रुचिको विषय छाड्न नपर्ने अवस्था हुन्छ । विद्यार्थीको चाहना पूरा हुन र सफलताका लागि विद्यार्थी आफैँले आफैँलाई चिन्ने, सिनियरबाट परामर्श लिएर अन्योल हटाई अबको यात्रा निर्धारण गर्नु उपयुक्त देखिन्छ । सफलता र असफलताको साँचो विद्यार्थीको हातमा छ भने त्यसको वातावरण परिवार र शैक्षिक संस्थाले पनि निर्धारण गरेका हुन्छन् । 

एसइईको ग्रेड कक्षा ११ को भर्नाको मानक बनाए पनि सफलताको मानक भने होइन । जिपिएअनुसारको विषय छनोट गर्दा सबै सफल हुन नसकेका धेरै उदाहरण छन् । अहिले तय गरेको यात्राले भविष्य उज्यालो वा अँध्यारो हुने भन्ने निर्धारण गर्ने भएकाले एक्लै निर्णय गर्न कठिन भएमा अभिभावक, शिक्षक, विद्यालय, आफन्त वा परामर्शदाताबाट समेत सुझाब लिएर निर्णय गर्न सक्छन् । 

आर्थिक अवस्था राम्रो भएका र सहरका कतिपय विद्यार्थीलाई विषय र शैक्षिक संस्था छनोटमा समस्या छैन । एसइई दिइसकेपछि नै कतिपयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विषय छनोट गरी ब्रिजकोर्ससमेत लिइसकेका छन् । आर्थिक अवस्था र नतिजा मध्यम वा सन्तोषजनक नभएकालाई शैक्षिक संस्था र कलेज छनोट चुनौतीपूर्ण छ । महँगा शैक्षिक संस्था सबै राम्रा हुन्छन् भन्ने होइन, तर आर्थिक अवस्थाले चाहनालाई कमजोर बनाउन सक्छन् । निजी संस्था मात्र होइन, उदाहरणीय काम गरेका काठमाडौं उपत्यका र बाहिरका सामुदायिक विद्यालयसमेत उपयुक्त हुन सक्छन् । 

विषयसँगै शैक्षिक संस्था महत्वपूर्ण
विषयको छनोटसँगै शैक्षिक संस्था छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । अध्ययनको वातावरणले विद्यार्थी कुन बाटोमा लाग्ने भन्ने पनि निर्धारण गर्छ । भौतिक पूर्वाधारसँगै शैक्षिक वातावरणले विद्यार्थीको सिकाइमा समेत प्रभाव पार्दछ । विद्यार्थीकेन्द्रित शैक्षिक संस्था र शिक्षकले विद्यार्थीलाई जागरुक बनाउने गर्छन् । यसले विद्यार्थीको सफलताका लागि समेत महत्वपूर्ण भूमिका खेल्दछ । एउटै पाठ्यक्रम पढाउने शैक्षिक संस्थाहरूमा पनि शिक्षक मिहिनेती हुँदा विद्यार्थीको उपलब्धि फरक हुन सक्ने भएकाले शैक्षिक संस्था र शिक्षक महत्वपूर्ण मानिन्छन् । 

०७८ को एसइईमा ३.८ जिपिए ल्याएकी नवलपरासी पूर्वकी सृष्टि पाण्डेले उपयुक्त कलेजको खोजीमा झन्डै एक महिना खर्चिइन् । उनले एसइईपछि साइन्स विषय अध्ययन गर्ने पहिल्यै निर्णय गरेकी थिइन्, तर शैक्षिक संस्थाको विषयमा भने लामो समय अनिर्णीत भइन् । ‘एसइई दिएपछि संस्था छनोट गर्न एकदमै कन्फ्युज भयो, नतिजा नआउँदै बुझ्न थालेको बुझ्दाबुझ्दै एक महिना बित्यो,’ पाण्डेले भनिन् । उनीजस्तै धेरै विद्यार्थीले अन्योललाई गुजारेर विषय र संस्था छनोट गरिरहेका छन् । 

यी हुन् विद्यार्थीले ख्याल गर्नुपर्ने पक्ष  

प्रा.डा. पेसल खनाल शिक्षाविद्

सबैभन्दा पहिले विद्यार्थीले आफ्नो क्षमता पहिचान गर्नुपर्छ । क्षमताअनुसारको विषय र शैक्षिक संस्था छनोट गर्नुपर्छ । आफ्नो छोराछोरीको बारेमा अभिभावकले पनि जानकारी पाउनुपर्छ । कतिपय विद्यार्थीको क्षमता र विषयको रोजाइ मिल्दैन । अभिभावकको दबाब तथा अन्य कारणले आफूअनुकूलको विषय छनोट नगर्दा बीचमै पढाइ छाड्ने समस्या हुने गरेको छ । धेरै अभिभावकले आफ्ना छोराछोरीले साइन्स बढुन् भन्ने चाहना भएको देखिन्छ ।

त्यसका लागि विद्यार्थीको क्षमता कस्तो हुनुपर्छ भन्ने विश्लेषण हुँदैन । साइन्सका लागि म्याथ र साइन्समा राम्रो हुनुपर्छ, उसको रुचि ग्रेडसिट हेरेर मात्र थाहा हुँदैन, भित्रैदेखि रुचि देखिनुपर्छ । विद्यार्थीको पूर्वल्याकत एकातिर र विषय छनोट अर्कातिर भएको देखिन्छ । यसले विद्यार्थीले कम सफलता पाउन सक्छ । विद्यार्थी आफैँ यो गर्न सक्छु भनेर तयार हुनुपर्छ ।

कतिपय अभिभावकले भोलि डाक्टर बनुपर्छ, बायोलोजी पढ भनेर दबाब दिएको देखिन्छ । मन नलागी गरेको निर्णयले नतिजामा असर पर्छ । भाषामा राम्रो विद्यार्थीलाई मानविकीका विषय पढ्न दिऔँ, उसले राम्रो गर्न सक्छ, जिपिए धेरै आएर साइन्स नै पढ्नुपर्छ भन्ने दबाब पार्नुहुँदैन । 

शैक्षिक संस्था छनोटमा पनि उत्तिकै होसियार हुनुपर्छ । राम्रो शैक्षिक संस्थाका केही सूचक छन्, तिनीहरूको अनुशरण गर्नुपर्छ । भौतिक पूर्वाधार मात्र राम्रो शैक्षिक संस्थाको आधार होइन । महँगो र बाहिरको पूर्वाधार अर्थात् हार्डवेयरलाई हेरेर होइन, सफ्टवेयर हेरेर निर्णय गरौँ । सफ्टवेयर हेर्दा शिक्षकको प्रोफाइल, दिगोपन, पूर्णकालीन, रिसर्च तथा विभिन्न योगदान हेर्न सक्छौँ ।

शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यास भएका संस्था छनोट गरौँ । त्यति मात्र होइन, विद्यार्थीको पृष्ठभूमि मिल्ने, सांगठनिक संस्कार भएको र सिकाइको निरन्तर मूल्यांकन गरी प्रतिक्रिया दिने र सुधारमा लैजाने संस्था रोज्नुपर्छ । कलेजमा बाउन्सर राखेर, निरंकुश भएर विद्यार्थीले धेरै सिक्न सक्दैन । स्वतन्त्र वातावरणमा सिकेका विद्यार्थीले राम्रो गर्न सक्छन् । अहिले शिक्षण क्रियाकलापमा आइसिटी प्रयोगलाई प्राथमिकता दिएका र सिकाइका नयाँ प्रणाली अनुशरण गर्ने संस्था छनोट गर्नुपर्छ ।