१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुरमा फैलियो डेंगु, एक महिनामा ६९ जना संक्रमित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

ललितपुरमा पछिल्लो एक महिनायता ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु फैलिएको छ । अधिकारीहरूले आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने चिन्ता जनाएका छन् । कोभिड संक्रमणदरसँगै डेंगु पनि देखिएकाले स्वास्थ्यकर्मी परिचालन अपुग भएको छ । 

असार १५ यताको तथ्यांकअनुसार संक्रमितमध्ये ६१ जना महानगर र अन्य आठजना महालक्ष्मीका छन् । ललितपुर महानगरपालिकाको मानभवन, सानेपा, बागडोल, थसिखेल, महालक्ष्मीस्थान, पाटन, कुमारीपाटी, तिखेदेवल र महालक्ष्मी नगरपालिकाको इमाडोल र लुभु क्षेत्रमा डेंगु भेटिएको छ । यीमध्ये महानगरको वडा नम्बर ५ र १४ मा पर्ने थसिखेल र महालक्ष्मीस्थानमा मात्रै ४२ जना डेंगुका विरामी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले यस वर्ष सोचेभन्दा धेरै डेंगु फैलिएको बताए । ‘ललितपुर क्षेत्रमा डेंगु तीव्र रूपमा फैलिएको छ । अघिल्लो वर्ष बर्खाको वेला भए पनि यसरी फैलिएको थिएन । तर, यसपटक सोचेभन्दा धेरै फैलिएको छ,’ उनले भने, ‘केही ठाउँमा हामीले परीक्षण गरेका छौँ, केही व्यक्ति अस्पतालमार्फत हामीकहाँ आउनुभएको छ । हालसम्म ६९ जनामा डेंगु पहिचान भए पनि अन्य धेरै व्यक्ति संक्रमित हुन सक्ने हाम्रो अनुमान छ ।’

विभिन्न क्षेत्रमा संक्रमित नै भेटिएपछि स्वास्थ्य कार्यालयले सतर्कता बढाएको छ र दैनिक औषधि छर्कने गरेको छ । स्वास्थ्य कार्यालय ललितपुरले डेंगु संक्रमण क्षेत्र नै छुट्याएर लामखुट्टे नष्ट गर्न थालेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख विष्टका अनुसार फोहोर पानी जमेको ठाउँमा डेंगु रोग सार्ने लामखुट्टे भेटिने भएकाले त्यसबारे स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ । ‘अहिले हामीले कुनै–कुनै क्षेत्रमा मात्रै लामखुट्टे मार्ने विषादी छर्किएका छौँ,’ उनले भने, ‘कहाँ–कहाँ डेंगु छ भन्नेबारे हामीले परीक्षण थालेका छौँ, हालसम्मको फैलावट हेर्दा संक्रमित संख्या धेरै हुन सक्छ ।’ 

लामखुट्टेको वासस्थान रहन नदिने, कौसी तथा आँगनमा पानी जम्न नदिने, पानी जमेको सार्वजनिक स्थलमा पुगेर औषधि छर्किएर लामखुट्टे नष्ट गर्नेजस्ता कार्य भइरहेको स्वास्थ्य कार्यालय प्रमुख विष्टले बताए । संक्रमितमध्ये गम्भीर लक्षण देखिएका १३ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अल्का अस्पताल, किस्ट मेडिकल कलेज, पाटन अस्पताल र बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । अन्य १७ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् । अन्य केहीलाई सामान्य लक्षण देखिएकाले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

काठमाडौंका कति संक्रमित छन्, यकिन छैन 
ललितपुरमा डेंगु फैलँदा काठमाडौंमा भने हालसम्म डेंगुका संक्रमितको संख्या यकिन छैन । तर, अस्पतालहरूले भने डेंगुका बिरामी उपचार गर्न आइरहेको जानकारी स्वास्थ्य कार्यालयलाई गराएका छन् । वीर, टिचिङ र सिभिल अस्पतालले डेंगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आएको स्वास्थ्य कार्यालयलाई जानकारी गराएका छन् । 

कोरोना संक्रमण फैलिएकाले त्यसतर्फ ध्यान दिन नपाएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए । उनका अनुसार अस्पतालहरूले केही डेंगुका संक्रमित भेटिएको जानकारी गराएका छन् । स्वास्थ्य कार्यालयले त्यसबारे गृहकार्य र परीक्षण गर्न सकेको छैन । ‘ललितपुरमा फैलँदा काठमाडौं पनि डेंगु फैलिएको हुन सक्छ,’ उनले भने, ‘तर, हामीले कोरोनातर्फ ध्यान दिइरहेकाले त्यसबारे जानकारी छैन ।’ 

कस्तो अवस्थामा फैलन्छ डेंगु ?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो खासगरी पानी जमेको ठाउँमा भेटिने लामखुट्टेको टोकाइबाट सर्छ । पानीभित्र लामखुट्टेले लार्भा जन्माउँछ । त्यो हुर्किन्छ र डेंगु फैलाउँछ । पानी जमेको ठाउँमा बसेको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घरवरपर पानी जम्न नदिने, सरसफाइ गर्ने र कुनै भाँडामा पानी भरेर खुला राख्न नहुने स्वास्थ्य कार्यालय ललितपुर प्रमुख विष्टले बताए । उनका अनुसार लामखुट्टेले पानी जमेकै ठाउँमा लार्भा जन्माउँछ, त्यसबाट डेंगु फैलन्छ । 

कस्ता लक्षण देखिए डराउने ?
डेंगु लागेपछि लक्षणका आधारमा निको वा गम्भीर हुन सक्छ । सामान्य लक्षण देखिए घरमै बस्दा हुन्छ । तर, गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, रिँगटा लाग्ने, बान्ता हुनेलगायत लक्षण डेंगुका हुन् । यी लक्षण देखिएर सामान्य दुखाइ छ भने घरमै उपचार गर्न सकिन्छ । यदि गाह्रो महसुस भएको छ भने तुरुन्त अस्पताल जानुपर्ने स्वास्थ्य कार्यालय प्रमुख विष्टले बताए ।