१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o८२ बैशाख २६ शुक्रबार १९:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुलेखानी तेस्रोको एउटा युनिटमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १९:११:oo

मकवानपुरस्थित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको एक युनिटमा समस्या देखिएको छ। तीनवटा उत्पादन केन्द्र रहेको कुलेखानीको तेस्रो प्लान्टको एउटा युनिटमा समस्या देखिएको हो।

भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि विद्युत् उत्पादनमा समेत गिरावट आएको छ। एक साताअघिबाट उक्त युनिटमा समस्या देखिएपछि कुलेखानी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।

विद्युत् माग बढिरहेका बखत कुलेखानीको युनिटमा समस्या हुँदा विद्युत् आपूर्तिसमेत अनियमित बनिरहेको हो। कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको दुईवटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए।

समस्या देखिएको युनिटको गत मंगलबारदेखि मर्मतकार्य सुरु गरिएको उनले बताए। उनका अनुसार युनिटको आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम तथा टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको छ।

‘कुलेखानी तेस्रोमा ७–७ मेगावाट क्षमताका दुईवटा युनिट रहेको छ। विद्युत् उत्पादन युनिटको दुईमध्ये एउटा युनिटको जेनेरेटर प्लेटमा खराबी देखिएको हो। चिनियाँ प्राविधिकबाट समस्या हल गर्ने काम भइरहेको छ। युनिटको एलाइनमेन्ट नमिलाउँदा समस्या आउँछ। मर्मत गरेर सञ्चालनमा ल्याउन अझै केही दिन लाग्छ,’ उनले भने।

कुलेखानीबाट विद्युत् उत्पादन क्षमता प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट रहेको छ। हाल तेस्रो मर्मतका क्रममा रहेकाले पहिलो पूर्ण क्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएकाले कुलेखानी जलविद्युत् आंशिक रूपमा मात्र सञ्चालनमा रहेको उनले बताए।

कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको उनको भनाइ छ।