नेपाल विद्युत् प्राधिकरणले बेगनास ताल र रूपा तालको पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्ने योजना पुनः अगाडि बढाउने भएको छ । पाँच वर्षअघि प्रारम्भिक अध्ययन गरेर छाडिएको एक सय ५० मेगावाटको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई प्राधिकरणले पुनः अगाडि बढाउन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजना’ चालू आवको वार्षिक कार्यक्रममै समावेश गरेर थप अध्ययन गर्न ४० लाख बजेट छुट्याएको छ ।
प्राधिकरणले विद्युत् विकास विभागबाट २७ कात्तिक ०७४ मा बेगनास–रुपा स्टोरेज आयोजनाको सर्वेक्षण लाइसेन्स पाएको थियो । त्यसपछि जापानी सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा उक्त आयोजनाको प्रारम्भिक अध्ययन भएको थियो । आयोजनाको लागत करिब १४ अर्ब लाग्ने र लगानीअनुसारको प्रतिफल नआउने उक्त अध्ययनको निष्कर्ष थियो । यद्यपि, प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ भने परियोजना अघि बढाउन अडिग रहे ।
उनले परियोजनालाई निरन्तरता दिने प्रक्रिया अघि बढाइरहे । घिसिङको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक भएर आएका हितेन्द्रदेव शाक्यले भने जाइकाको सहयोगमा गरिएको अध्ययनलाई नै देखाएर बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई अघि बढाएनन् । त्यसको विकल्पमा उस्तै प्रकृतिको अर्को आयोजना सय मेगावाटको कुलेखानी–सिस्नेरीलाई अघि बढाए । उक्त आयोजनालाई विद्युत् विकास विभागले २० फागुन ०७७ मा सर्भे लाइसेन्स पनि दिइसकेको छ ।
तर, सरकारले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई साउन ०७८ मा पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्यो । घिसिङ दोस्रोपटक कार्यकारी निर्देशक भएर आएपछि भने दुवै पम्प स्टोरेज नबनाउने बताउँदै आएका थिए । तर, अहिले कुलेखानी पम्प स्टोरेज आयोजनालाई छाडेर आफैँले ल्याएको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई मात्र अगाडि बढाउन उनी लागेका छन् । यद्यपि, मन्त्रालयले कुलेखानी–सिस्नेरी आयोजनाको पनि अध्ययन गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त आयोजना नबनाउने निर्णयमा प्राधिकरण पुगिसकेको एक उच्च अधिकारीले बताए ।
प्राधिकरणका उपकार्यकारी निर्देशक (डिएमडी) रामजी भण्डारीले बेगनास–रुपा पम्प स्टोरेज बनाउने प्रक्रिया फेरि अगाडि बढाउने बताए । ‘पहिला अध्ययनका क्रममा यो आयोजना बनाउन उपयुक्त देखिएको थिएन । पानी स्टोरेज गर्दा आयोजनावरपरको बस्ती डुबानमा पर्ने, सामाजिक मुद्दासमेत उत्पन्न हुनेलगायतका समस्या देखिएको थियो,’ उपकार्यकारी निर्देशक भण्डारीले भने, ‘त्यही भएर पछिल्लो दुई–तीन वर्ष यस आयोजनाबारे केही पनि गतिविधि भएन । तर, अहिले यो आयोजना बनाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ ।’विशेष गरी उक्त आयोजनाको फाइदालाई हेरेर पुनः प्रक्रिया अगाडि बढाउन लागिएको उनको भनाइ छ । ‘यो आयोजना बनाउनुमा फाइदा पनि थुप्रै छन् ।
यो आयोजना पर्यटकका लागि आकर्षणको केन्द्र पनि बन्न सक्छ । त्यसमाथि पिक आवरमा विद्युत् उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘यस्ता पक्षलाई दृष्टिगत गर्दै उक्त आयोजनालाई पुनः अगाडि बढाउने भएका हौँ ।’ उनका अनुसार अब प्राधिकरणले गण्डकी प्रदेश सरकार, सम्बन्धित स्थानीय सरकार र स्थानीय बासिन्दाहरूसँग उक्त आयोजना बनाउने विषयमा छलफल गर्नेछ । उनीहरूले स्वीकृति दिएपछि प्राधिकरणले थप प्रक्रिया अगाडि बढाउने भण्डारीको भनाइ छ । ‘साथै, आयोजनाको वातावरणीय पक्षलगायतबारे पनि पुनः अध्ययन गर्छाैँ । यद्यपि, उक्त आयोजना बनाउन संघीय सरकार पनि लगानी गर्न तयार हुनुपर्यो,’ उनले भने, ‘तर, हामी भने यो आयोजना बनाउनुपर्छ भन्नेमै छौँ ।’
के हो पम्प स्टोरेज आयोजना ?
पम्प स्टोरेज आयोजनामा विद्युत्गृह माथि र तल गरेर दुईवटा ड्याम हुन्छन् । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युत्गृहमा पानी खसालिन्छ । र, विद्युत्गृहबाट खेर जाने पानीलाई तल्लो ड्याममा जम्मा गरिन्छ । सोही तल्लो ड्याममा जम्मा भएको पानीलाई पम्प गरेर पुनः माथिल्लो ड्याममा पठाइन्छ । र, सोही पानीबाट पुनः बिजुली उत्पादन गरिन्छ ।
विदेशी मुलुकहरूमा यस्ता पम्प स्टोरेज आयोजना बने पनि नेपालका लागि भने यो नयाँ प्रविधि हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पहिलो कार्यकालमा यसलाई पहिलो पम्प स्टोरेज प्रोजेक्ट बनाउने गरी लागेका थिए । बेगनास ताल रूपा तालभन्दा ६० मिटरमाथि छ । सो अवस्थामा बेगनास तालको पानी रूपा तालमा झारेर पिक आवरमा दैनिक चार घन्टासम्म विद्युत् उत्पादन गर्ने भनिएको छ । र, रूपा तालमा जम्मा भएको पानीलाई अफ पिक आवरमा पम्पमार्फत बेगनास तालमा जम्मा गर्ने र त्यसबाट पुनः विद्युत् उत्पादन गर्ने परिकल्पना गरिएको छ ।