१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भाइरल संक्रमण उपचारका लागि कान्ति अस्पताल पुगेका बालबालिका र अभिभावक ।
मञ्जु टेलर काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:४५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा भाइरल संक्रमण तीव्र

कान्ति अस्पतालमा मात्रै पुग्छन् दैनिक आठ सयभन्दा बढी बिरामी

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:४५:००

६ र दुई वर्षीय दुवै छोरालाई भाइरल ज्वरोले सताएपछि बानेश्वरकी शर्मिला खड्का बिहीबार कान्ति बाल अस्पताल पुगेकी थिइन् । तर, अस्पतालको ओपिडीमा उनीभन्दा अघि एक सयभन्दा बढी पालो कुरेर बसिरहेका थिए । केही दिनयता बालबालिकामा भाइरल संक्रमण तीव्र बनेपछि अस्पतालमा बिरामीको भिड लागेको हो ।घरनजिकैको क्लिनिकबाट ल्याएको औषधिले ज्वारो निको नभएपछि शर्मिला दुवै बच्चा बोकेर अस्पताल पुगेकी हुन । बिरामी बच्चाहरूसँगै लाइनमा बसिरहेकी शर्मिलाले भनिन्, ‘पालो कुरेको दुई घन्टाभन्दा बढी भइसक्यो । बच्चाहरू रोएकारोयै छन् । पालो आउँदासम्म कसरी कुर्नू ? सम्हाल्नै गाह्रो भइसक्यो ।’

केही दिनयता भाइरलका बिरामीले अस्पतालमा भिडभाड बढेको छ । केही सातायता फैलिएको एडिनो भाइरसले कडा ज्वरो आएपछि अस्पतालमा भिड बढ्न थालेको हो ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार तीन सातायता भाइरल संक्रमणका लक्षणसहितका बिरामीको चाप अस्पतालमा बढ्दै गएको छ । गर्मीको मौसममा इन्फ्लुएन्जा, टाइफाइड, कोभिड जस्ता विभिन्न संक्रमण एकैचोटि फैलिइरहेका कारण बिरामीको चाप बढेको उनको भनाइ छ ।

कान्ति बाल अस्पतालमा मात्रै दैनिक आठदेखि नौ सयसम्म बालबालिका उपचारका लागि पुग्ने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार पछिल्लो एक सातामा ६ हजारभन्दा बढी बालबालिका अस्पताल पुगेका छन् । जसमध्ये करिब ९० प्रतिशत विभिन्न भाइरल संक्रमणका बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालको तथ्यांकअनुसार गत बुधबारदेखि एक सातामा ६ हजार एक सय ५४ जना ओपिडीमा उपचारका लागि पुगेका थिए ।

कान्ति बाल अस्पतालको तथ्यांकअनुसार गत बुधबार आठ सय ९८, बिहीबार सात सय ९७, शुक्रबार आठ सय ५०, शनिबार तीन सय ५५, आइतबार नौ सय २०, सोमबार सात सय ८९, मंगलबार सात सय ९८ र बुधबार सात सय ४७ जना बिरामी उपचारका लागि पुगेका थिए ।

अस्पताल भर्नादर न्यून
भाइरलबाट संक्रमित भएर अस्पताल पुग्नेहरू दैनिक नौ सयभन्दा बढी रहे पनि अस्पताल भर्नादर भने न्यून छ । हाल कान्ति अस्पतालको बिरामी भर्नादर दैनिक औसत ३५ जना मात्रै छ । अर्थात् १ साउनदेखि हालसम्म जम्मा पाँच सय २६ जना अस्पताल भर्ना भएको तथ्यांक छ । पछिल्ला केही सातायता दैनिक अस्पतालमा ३० देखि ४० जना बिरामी भर्ना हुन थालेका छन् । तुलनात्मक रूपमा बिरामीको अनुपातमा भर्नादर न्यून रहे पनि मौसमी भाइरल संक्रमणका कारण यो संख्या अत्यधिक रहेको डा. अजित रायमाझी बताउँछन् । उनका अनुसार कोभिड महामारी उच्च बिन्दुमा पुग्दा गरिएको लकडाउनपछि भाइरल संक्रमण यो वर्ष अत्यधिक बढेको हो । ‘अहिले ओमिक्रोनको बिए फाइभ पनि बढिरहेको छ, एन्फ्लुएन्जाका विभिन्न भाइरल एकैचोटि फैलिइरहेका छन् । जसले अस्पतालमा भिड बढाइरहेको छ, तर गम्भीर समस्याको जोखिम कम देखिएको छ । जसले मृत्युदर पनि घटाएको छ ।’

बेवास्ता नगर्न सुझाब
अधिकांश भाइरल संक्रमणका लक्षणहरू उस्ताउस्तै हुने र बेवास्ता गर्दा जटिल समस्या निम्त्याइरहेका कारण जोखिम बढाइरहेको चिकित्सकहरूले बताएका छन् । बालबालिकामा भाइरलका कुनै पनि लक्षण देखिएकामा परीक्षण गर्न चिकित्सकको सुझाब छ । पछिल्लो दुई सातायता भाइरल संक्रमणबाट अस्पतालहरूमा मात्रै नभई क्लिनिकहरूमा पनि बिरामीको चाप  बढेको छ ।

एडिनो भाइरस फैलियो
हाल एडिनो भाइरसको संक्रमण बालबालिकामा फैलिएका कारण आँखा पाक्ने, रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या लिएर अस्पतालसम्म पुग्नेको संख्या ह्वात्तै बढेको छ । वर्षायामसँगै एडिनो भाइरसका विभिन्न भेरियन्ट फैलिएसँगै अधिकांश बालबालिका संक्रमित भइरहेको चिकित्सकहरूको भनाइ छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठवटा नमुना परीक्षणमा चारजनामा थप संक्रमण देखिएपछि समुदायस्तरमा फैलिइरहेको पुष्टि भएको हो ।

यसअघि गतसाता १३ वटा नमुनामा पिसिआर परीक्षण गर्दा १२ जनामा एडिनो भाइरस संक्रमण भएको पुष्टि भएको थियो । हाल नवजात शिशुदेखि १५ वर्षमुनिका बालबालिकामा भाइरल संक्रमणको जोखिम उच्च देखिएको बताउँछन्, डा. अधिकारी । उनी भन्छन्, ‘एडिनो भाइरस संक्रमण सात वर्षअघि पनि देखिएको थियो । यो भिन्न चार किसिमको हुन्छ, तर कुन भेरियन्ट फैलिइरहेको छ भन्नेचाहिँ पुष्टि भइसकेको छैन । अहिले विशेषगरी आँखा पोल्ने, रातो हुने, सुन्निने, पाक्नेजस्ता समस्या देखिइरहेका छन् भने ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र रुघाखोकी जस्ता लक्षण देखिइरहेका छन् ।’

 गम्भीर बिरामी न्यून
कोभिड, इन्फ्लुएन्जा, टाइफाइड र एडिनो भाइरस संक्रमण भएर बिरामीको चाप बढे पनि गम्भीर बिरामी न्यून रहेको चिकित्सकहरूले बताएका छन् । बालबालिकाको उपचारका लागि सबैभन्दा ठूलो अस्पताल कान्तिको ओपिडीमा बिरामीको भिडभाड रहे पनि इमर्जेन्सी, आइसियू र भेन्टिलेटरका बेड भने खाली रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौला बताउँछन् । ‘सबैजसो संक्रमण एकैचोटि फैलिएका कारण खासगरी स्कुल जाने उमेरका बालबालिका बढी प्रभावित छन् । श्वासप्रश्वासका माध्यमबाट फैलिने भाइरल संक्रमण बालबालिकामा सजिलैसँग सर्ने भएकाले उनीहरूको संख्या बढेको हो । तर, ज्वरो आउने, आँखा पाक्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण मात्र देखिएकाले गम्भीर बिरामी कम छन्,’ उनले भने ।

 एकैचोटि सबैजसो संक्रमण फैलिएका छन्
‘डा. युवानिधि बसौला निर्देशक, कान्ति अस्पताल

एकैचोटि सबैजसो संक्रमण फैलिएका कारण बालबालिका बढी प्रभावित छन् । श्वासप्रश्वासका माध्यमबाट फैलिने भाइरल संक्रमण उनीहरूमा सजिलैसँग सर्ने भएकाले उनीहरूको संख्या बढेको हो । तर, ज्वरो आउने, आँखा पाक्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण मात्र देखिएकाले गम्भीर बिरामी कम छन् ।

ओमिक्रोनको बिए फाइभ पनि देखिएको छ
डा. अजित रायमाझी बालरोग विशेषज्ञ

ओमिक्रोनको बिए फाइभ पनि बढिरहेको छ, एन्फ्लुएन्जाका विभिन्न भाइरल एकैचोटि फैलिइरहेका छन् । जसले अस्पतालमा भिड बढाइरहेको छ, तर गम्भीर समस्याको जोखिम कम देखिएको छ ।