१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:२८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:२८:००

गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धनको छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी

औपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् । 

संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ । शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् । ०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ । 

उपगठबन्धनको गृहकार्य

पाँचदलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ । 

प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् । ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँ । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने । 

संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने संकेत नेपालले गरे । उनले भने, ‘कांग्रेसलाई हामी नै सबै थोक हौँ भन्ने परेको हुन सक्छ । विगतमा पनि सर्वेसर्वा मै हुँ भन्दा धेरै बिग्रिएको छ । त्यसकारण हामी पनि केही हौँ भन्ने समय आएको छ । यसका लागि अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्ति मिलेर जानुपर्ने अवस्था छ,’ नेपालले गठबन्धनभित्र उपगठबन्धनको आवश्यकताबारे भने । 

कांग्रेसलाई दबाबमा राख्न पनि यस्तो मोर्चा चाहिएको नेपालको भनाइ छ । ‘भोलि निर्णय त हुन्छ, तर हात्ती आयो, हात्ती आयो फुस्सा भयो भने के गर्ने ? अन्तिम वेलामा यति लिने भए लेऊ नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने ? त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो । शक्ति निर्माण गरेर अगाडि बढ्दा सम्भावना निकै राम्रो देखेको छु,’ नेपालले भने ।

नेपालले एमालेसँग भने सहकार्यको सम्भावना कमजोर रहेको बताए । ‘एकले अर्काको अस्तित्व नै स्वीकार नगर्नेसँग केही सहकार्य हुन्छ ? जसले अर्काको अस्तित्व नै स्वीकार गर्दैन त्यस्तासँग एकता हुँदैन,’ नेपालले भने, ‘जुन गाउँ जानै छैन, त्यस गाउँको बाटै नसोध्नु भन्छन् नि ! त्यसकारण विचार, धारणा, भावना र मन मिल्नेहरू मिलेर अगाडि बढ्ने हो ।’

माओवादी नेता हरिबोल गजुरेलले पनि पाँचदलीय गठबन्धनभित्र प्रगतिशील धार निर्माणबारे छलफल भइरहेको बताए । ‘पाँचदलीय गठबन्धनभित्र प्रोग्रेसिभ धार बन्छ, विभिन्न चरणमा छलफल भइरहेको छ । छिट्टै टुंगोमा पुग्छ,’ उनले भने । 

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि विभिन्न चरणमा छलफल जारी रहेको बताए । ‘पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा जाने हो । विभिन्न विकल्पमा छलफल भइरहेको छ । विचार मिल्नेहरू नजिकिनु स्वाभाविक हो,’ अध्यक्ष यादवले भने । 

सहमति नजुटे निश्चित क्षेत्रमा तालमेल
प्रगतिशील मोर्चामा सहभागी दलका तर्फबाट ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी गरिएको छ । त्यसमा सहमति नजुटे देशभर प्रगतिशील शक्तिबाट उम्मेदवार उठाउने र निश्चित क्षेत्रमा कांग्रेससँग तालमेल गरेर अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ ।

‘केही ठाउँमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुने, कतिपय ठाउँमा कांग्रेसबाहेक गठबन्धनका अन्य दलको साझा उम्मेदवार हुने स्थिति पनि बन्न सक्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । कांग्रेस वा प्रगतिशील मोर्चा बलियो भएको क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने र एमाले बलियो भएको क्षेत्रमा दोस्रो बलियो शक्तिलाई समर्थन गरेर अगाडि बढ्ने मोडालिटीमा पनि तालमेल हुन सक्ने नेताहरू बताउँछन् । त्यस्तो स्थितिमा सिट बाँडफाँडमा पनि सहज हुने र गठबन्धनका उम्मेदवारको जित पनि निश्चित हुने नेताहरूको बुझाइ छ ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन कसरी गर्ने भन्ने विषयमा अब छलफल हुने बताए । ‘पाँच दलबीच गठबन्धनमै निर्वाचनमा जाने कुरा छ,’ उनले भने, ‘गठबन्धन गरेर जाने सहमति भइसकेपछि सिट बाँडफाँड मिलिहाल्छ ।’ 

एउटै घोषणापत्रको गृहकार्य
माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच एउटै घोषणापत्र बनाएर जाने विषयमा समेत छलफल भएको छ । एउटै घोषणापत्र भयो भने साझा धारणाका साथ जान सकिने र प्रचारमा एकरूपता हुने बुझाइ नेताहरूको छ । 

घोषणापत्रसहितका विषय टुंग्याउन समिति नै गठन गर्नेसम्मको छलफल अघिल्लो बिहीबार भएको थियो । ‘विचार र एजेन्डा मिल्ने भएपछि एउटै घोषणापत्र बनाएर जान समस्या हुने भएन । अघिल्लो चुनावमा पनि हामी एउटै घोषणापत्र लिएर जनतामाझ गएका हौँ,’ माओवादीका प्रमुख सचेतक देव गुरुङले भने । 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार घोषणापत्र बनाउन समिति नै गठन गरेर जाने विषयमा शीर्ष तहमा छलफल भएको छ । प्रचण्ड, नेपाल र यादवबीचको छलफलमा भुसाल पनि सहभागी थिए । भुसालका अनुसार एउटै घोषणापत्र बनाएर जाने विषयमा कांग्रेससँग भने छलफल भइसकेको छैन ।

एउटै चुनावचिह्नबारे समेत छलफल
प्रगतिशील शक्तिबीच एउटै निर्वाचन चिह्नमा जान सकिन्छ कि सकिन्न भन्ने विषयमा पनि छलफल भएको छ । एउटै चुनाव चिह्न लिएर जाँदा प्रचारमा सहज हुने, तर समानुपातिकमा पनि उम्मेदवार थोरै हुँदा सिटमा असर पर्नेबारे समेत छलफल भएको छ । छुट्टाछुट्टै चुनाव चिह्न हुँदा समानुपातिकमा मत धेरै आउने विश्लेषण नेताहरूको छ । कानुनी हिसाबले पार्टी एकता भएन भने निर्वाचित जनप्रतिनिधिलाई कुन पार्टीको कसरी मान्ने भन्ने विषयमा समेत कुराकानी भएको शीर्ष छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार सबै विषयमा छलफल भए पनि टुंगो भने लागिसकेको छैन ।