१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनु आचार्य काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात महिनामा भित्रिए दुई लाख ८५ हजार पर्यटक

Read Time : > 2 मिनेट
अनु आचार्य, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०६:२३:००

कोभिड महामारीले थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किने संकेत गरेको छ । संक्रमण फैलिन कम हुँदै गएसँगै विदेशी पर्यटक आगमन बढ्न थालेको पर्यटन बोर्डले जनाएको छ । सन् २०२२ को पहिलो सात महिना (जनवरी–जुलाई)मा हवाईमार्गबाट दुई लाख ८५ हजार पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ । जुलाई महिनामा मात्रै विभिन्न देशबाट ४४ हाजर चार सय ६२ पर्यटक नेपाल घुम्न आएका छन् । कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा हवाई मार्ग हुँदै ५८ हजार आठ सय ११ पर्यटक नेपाल भित्रिएका थिए ।

कोभिड महामारी सुरु भएपछि सन् २०२० को जुलाईमा दुई सय ११, सन् २०२१ को जुलाईमा दुई हजार नौ सय ९१ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को जुलाईको तुलनामा अहिले नेपाल भित्रिने पर्यटक ७६ प्रतिशतले सुधार आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । ‘पछिल्लो समय पर्यटक आगमन बढ्दै गइरहेको छ, यसले पर्यटन लयमा फर्किँदै गएको संकेत देखाउँछ,’ निर्देशक लामिछानेले बताए, ‘आगामी सिजनबाट पर्यटक आगमन उत्साहजनक छ ।’

 भारतीयको संख्या धेरै 
अहिले नेपाल भ्रमणमा आइरहेका कुल पर्यटकमध्ये धेरै भारतीय रहेका छन् । सन् २०२२ को जुलाईमा कुल साढे ४४ हजार पर्यटक भित्रिँदा भारतीय पर्यटकको संख्या १७ हजार दुई सय ९९ रहेको छ । छिमेकी मुलुक भारतमा अत्यधिक गर्मी बढेको र कोभिड संक्रमण पनि फैलिन कम भइरहेकाले धेरै घुम्न आइरहेको पर्यटन व्यवसायीको अनुमान छ । पोखरामा भारतीय नम्बर प्लेटका गाडी र पर्यटक धेरै देखिन थालेको बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेलले बताए । उनले भने, ‘मनसुन सुरु भए पनि एयरपोर्ट, जहाजदेखि पर्यटकीय गन्तव्यहरू भारतीयले नै भरिभराउ देखिन्छन् ।’ 

जुलाईमा चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएको देखिन्छ । नेपालमा भारतीयपछि सबैभन्दा धेरै पर्यटक आउने चिनियाँ हुन् । तर, चीन सरकारले कोभिडपछि अझै आफ्ना नागरिकलाई घुमफिरमा निस्कन स्वीकृति नदिँदा चिनियाँ आउन सकेका छैनन् । यदि चिनियाँ नागरिक पनि नेपाल आउन थालेको भए समग्र पर्यटक आगमन करिब सन् २०१९ कै हाराहारीमा रिकभरी भइसकेको हुने पर्यटन व्यवसायी बताउँछन् । 

यस्तै, जुलाईमा दक्षिण एसिया (सार्क) मुलुकबाट १९ हजार नौ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये बंगलादेशबाट एक हजार आठ सय ७४ जना पर्यटक रहेका छन् । पछिल्लो समय बंगलादेशी नागरिकको घुम्न जाने गतिलो गन्तव्य नेपाल हुन थालेको छ । यस्तै, अन्य एसियाली मुलुकबाट चार हजार एक सय ९५ जना पर्यटक आएका छन् भने युरोपबाट नौ हजार एक सय २१ जना, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । 

 ७० प्रतिशत रिकभरी
कोरोना महामारीपछि पछिल्ला महिनामा पर्यटक आगमन ७० प्रतिशतले रिकभरी भएको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । ‘अरू मुलुकमा जस्तो नेपालमा कोरोनाको भयावह अवस्था छैन, कोभिडका कारण अरू देशमा मृत्युदर उच्च रह्यो, तर नेपालमा मुत्यूदर पनि कम छ,’ उनले भने, ‘व्यवसायीहरूले पनि सुरक्षित रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, आगामी दिनमा पर्यटक संख्या बढ्दै जाने देखिन्छ ।’ 

नेपालमा पर्यटक आगमन बढाउन प्रचार–प्रसारका कार्यक्रमलाई तीव्रता दिइरहेको लामिछानेले बताए । उनले भने, ‘नेपालमा पर्यटक आगमन बढाउन केही दिनअघि मात्रै ७३ बुँदे कार्ययोजना अघि बढाएका छौँ, सो कार्ययोजनाअनुरूप अगाडि बढ्न सकेमा धेरै पर्यटक भिœयाउन सकिन्छ ।’ पछिल्लो समय भारत, बंगलादेश, एसिया र युरोपियनलगायत मुलुकबाट आउने पर्यटकको संख्या उच्च छ । अब मार्केटिङ गर्दा पनि तीनै मुलुकहरूलाई बढी फोकस गर्ने उनको भनाइ छ ।

 विश्वव्यापी नै पर्यटक बढ्दै
कोभिड महामारीमा धेरै देशले संक्रमण फैलिन नदिन लकडाउन तथा निषेधाज्ञा जारी गरेपछि विश्वमै सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको थियो । तर, कोभिड महामारी कम हुँदै गएपछि अन्तर्राष्ट्रिय जगत्मा पर्यटकको संख्या बढ्दै गइरहेको देखिन्छ ।विश्व पर्यटन संगठन (युएन–डब्लुटिओ)को विश्व पर्यटन ब्यारोमिटरका अनुसार सन् २०२२ को पहिलो पाँच महिनामा दुई अर्ब ५० करोड पर्यटक विभिन्न मुलुकमा भ्रमणमा निस्किएका छन् । जबकि, सन् २०२१ को जनवरीदेखि मेसम्म ७७ करोड पर्यटकले विश्व भ्रमण गरेका थिए । यो सन् २०१९ मा कोरोना महामारीभन्दा पहिलाको तुलनामा आधा (४६ प्रतिशत) हो । 

युएन–डब्लुटिओका महासचिव जुराब पोलोलिकास्भिलीले भनेका छन्, ‘आफ्नो बाटोमा उभिएका चुनौतीको सामना गर्दै विश्वका धेरै भागहरूमा पर्यटन पुनरुत्थानले गति लिएको छ ।’ अब आर्थिक र भूराजनीतिक चुनौतीले पर्यटन क्षेत्रलाई असर गर्न सक्ने उनको भनाइ छ । यसका लागि सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । अन्तर्राष्ट्रिय पर्यटनको बढ्दो आर्थिक र भूराजनीतिक चुनौतीका बीच पनि महामारीको प्रभावबाट उम्किँदै बलियो र स्थिर पुनरुत्थानको संकेत गरेको उनले बताएका छन् ।