मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ५ बिहीबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमण अनिश्चित : राष्ट्रसंघीय महासभामा जाने गृहकार्य सुरु

Read Time : > 2 मिनेट
२०७९ श्रावण ५ बिहीबार ०६:२२:००

परराष्ट्र मन्त्रालयले असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमणको गृहकार्य गरेको थियो । तर, अन्तिम समयमा भ्रमण अनिश्चित बनेको छ । अब पहिलो साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने गरी प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक अमेरिका भ्रमण अनिश्चित भएपछि संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन न्युयोर्क जाने तयारी सुरु भएको छ । परराष्ट्र मन्त्रालयले असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म प्रधानमन्त्रीको अमेरिका भ्रमणको गृहकार्य गरेको थियो । तर, स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्ने सरकारको निर्णयपछि भ्रमण अनिश्चित भएको थियो ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको औपचारिक अमेरिका भ्रमण नभई संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन न्युयोर्क जाने गरी तयारी थालेको छ । संयुक्त राष्ट्रसंघको ७७औँ महासभा २८ भदौमा सुरु हुने तय भएको छ । ४ देखि १० असोजसम्म उच्चस्तरीय सम्बोधनको कार्यक्रम छ । उच्चस्तरीय सेगमेन्ट नाम दिइएको त्यो साता विश्वभरिका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

परराष्ट्र प्रवक्ता एवं संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्– 
संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ, बाँकी कुरा कार्यक्रम तय भइसकेपछि सार्वजनिक गर्नेछौँ ।

त्यही सम्बोधनका लागि प्रधानमन्त्री देउवाको भ्रमणको तयारी भइरहेको छ । ‘संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ,’ परराष्ट्र प्रवक्ता एवं संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘बाँकी कुरा कार्यक्रम तय भइसकेपछि सार्वजनिक गर्नेछौँ ।’ गत वर्ष परराष्ट्रमन्त्री नारायण खड्का महासभामा सहभागी भएका थिए ।

लम्सालले पनि प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमण तत्काल नहुने संकेत दिइन् । ‘एउटा मितिका सन्दर्भमा भ्रमणको तयारी भएको थियो । द्विपक्षीय व्यस्तता र सहमतिका कारणले त्यो मितिमा भएन,’ उनले भनिन् । अब प्रधानमन्त्रीको औपचारिक अमेरिका भ्रमण हुने–नहुनेबारे उनले थप बताइनन् । 

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमण सुरुमा ३० असारमा हुने गरी छलफल भएको थियो । पछि अमेरिकाको आग्रहअनुसार ३ साउनमा प्रधानमन्त्री वासिङटन जाने गरी कार्यतालिकामा समेत छलफल भएको थियो । ‘मिति सार्वजनिक गरिएको थिएन, तर पछिल्लोटक ३ साउनमा प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने गरी कुराकानी लगभग टुंगिएको थियो,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर, नयाँ परिस्थितिका कारण भ्रमणका मिति लम्बियो । त्यो मितिमा हुन नसक्ने जानकारी मात्रै आयो, बाँकी छलफल हुन बाँकी छ ।’ दुई साताअघि परराष्ट्र प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण अपेक्षित रहेको भन्दै तयारी भइरहेको बताएकी थिइन् । 

सरकारले संघीय र प्रदेश निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा भएपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण सम्भव नहुने कूटनीतिक अधिकारी बताउँछन् । प्रधानसेनापति प्रभुराम शर्माले १३ देखि १७ असारमा अमेरिका तथा संयुक्त राष्ट्रसंघको भ्रमण गरेका थिए । 

एसपिपी कार्यान्वयन नगर्न ६ असारमा मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्रीको अमेरिका भ्रमण पछि सर्नुको एउटा कारण हुन सक्ने उच्च कूटनीतिक अधिकारीले बताएका छन् । कूटनीतिक तहमा भएका संवादमा भने अमेरिकाले त्यसको कुनै जनाउ नदिएको परराष्ट्र स्रोतले बतायो । 

‘हामी अझै पनि प्रयास गर्दै छौँ । नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा प्रधानमन्त्रीको भ्रमण होस् भन्ने दुवै पक्षको चाहना छ,’ ती कूटनीतिक अधिकारी भन्छन्, ‘दुई देशबीच एसपिपी मात्र एजेन्डा छैनन्, अरू पनि छन् । एसपिपीसम्बन्धी निर्णयले दुई देशको सम्बन्धमा धेरै तलमाथि हुँदैन ।’ 

अमेरिकी राजदूतावासका उच्च अधिकारीले नेपालले एसपिपीअन्तर्गत सहयोग नलिए पनि अरू माध्यमबाट सहकार्य जारी रहने बताएका छन् । ‘नेपालले एसपिपी नलिने निर्णय एउटा पक्ष भयो । तर, हाम्रो सम्बन्ध र सहकार्यका अरू पक्ष र माध्यम छन् । त्यसमार्फत नेपाललाई हामी निरन्तर सहयोग गर्छौँ,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने । 

प्रधानमन्त्री देउवाले यसअघि २३ देखि २८ वैशाख ०५९ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । उनीपछिका कोही पनि प्रधानमन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका छैनन् । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानमन्त्रीको भ्रमण गराउन कूटनीतिक सक्रियता बढाएका छन् । 

‘एसपिपीसम्बन्धी निर्णयमा अध्ययन जारी’
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपीका विषयमा नेपाल सरकारले पठाएको चिठी कार्यान्वयन गर्नेबारे अध्ययन भइरहेको बताइन् । ‘अमेरिकासँग भइरहेका सहयोगका सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायसँग समन्वय गरेर अघि बढ्छौँ । सबै निकायसँग निकट सहकार्यका आधारमा यसलाई टुंगोमा पु¥याउनुपर्छ भन्नेमा छौँ,’ लम्सालले भनिन् । 

प्रधानमन्त्री कार्यालयले ९ असारमा एसपिपी स्वीकार नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको थियो । तर, परराष्ट्रले त्यसबारे अमेरिकालाई अहिलेसम्म चिठी लेखेको छैन । मन्त्रिपरिषद्को बैठक संख्या १०/०७९ को निर्णयअनुसार मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्रसचिव पौड्याललाई चिठी लेखेर एसपिपी कार्यान्वयन नगर्न भनेका थिए । एसपिपी कार्यान्वयन नगर्दा उत्पन्न हुने सम्भावित परिदृश्यबारे अध्ययन भइरहेकोे परराष्ट्रले जनाएको छ ।