मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल काठमाडाैं
२०७९ श्रावण ४ बुधबार ०८:३०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

अब सरकारी र सार्वजनिक अस्पतालबाट मात्रै  स्वास्थ्य बिमा कार्यक्रम, निजी अस्पतालबाट सेवा बन्द

Read Time : > 3 मिनेट
गणेश लम्साल, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार ०८:३०:००

पूर्वको विराट, नोबेल र प्रस्तावित बी एन्ड सी मेडिकल कलेज तथा पश्चिमको लुम्बिनी मेडिकल कलेजद्वारा सेवा बन्द गरेको घोषणा 

सरकारले १ साउनबाट सरकारी र सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएकाले पूर्वका तीन शिक्षण अस्पतालले सेवा बन्द गरेका छन् । विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र प्रस्तावित बी एन्ड सी मेडिकल कलेजले आइतबार राति १२ बजेबाट लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको जनाएका छन् । अगाडि भर्ना भएका बिरामीको हकमा भने डिस्चार्ज नहुँदासम्म नियमित सेवा रहने ती अस्पतालले जनाएका छन् । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारलाई सहयोग गर्न बिमा कार्यक्रम बन्द गरेको बताए । ‘आर्थिक वर्ष ०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिइने उल्लेख भएकाले निजी मेडिकल कलेजले सेवा दिनुको कुनै अर्थ नभएको निष्कर्षसहित बन्द गरिएको हो,’ उनले भने ।

‘स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य एकाइ स्थापना गरिनेछ ।’ सरकारले बजेट वक्तव्यमा स्पष्ट भनेकाले अब बिमाबाट सेवा दिँदा भुक्तानी नहुने भएकाले स्थगित गरेको कार्कीको भनाइ छ ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले १ साउनबाट सरकारी तथा सामुदायिक स्वास्थ्यप्रदायक संस्थाबाट मात्रै बिमाको सेवा उपलब्ध गराउने पारित गरिएको र त्यसपछि स्वास्थ्य बिमा सुचारु गर्ने वा नगर्ने कुनै जानकारी नभएकाले अन्योलको परिस्थितिमा सेवा दिन नसक्ने बताए । आइतबार राति १२ बजेबाट लागू हुने गरी आकस्मिक, बहिरंग र अन्तरंगका सबै सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । 

बी एन्ड सीले भुक्तानी गर्न बाँकी सबै रकम दिएको र सरकारले सरकारी र सामुदायिकबाहेक निजीले पनि बिमाको सेवा दिन सक्ने भनेको खण्डमा मात्रै सेवा सुचारु गर्न सक्ने जनाएको छ । विराट मेडिकल कलेजका सञ्चालक डा. कार्कीले पनि बाँकी सबै रकम भुक्तानी नगर्दासम्म अब सेवा दिन नसक्ने बताए । ‘बरु ४० करोड माया मार्न सक्छौँ, थप बाँकी रकम बढाउन सक्ने अवस्थामा हामी छैनौँ,’ उनले भने । 

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपालले पनि बाँकी सबै रकम भुक्तानी नहुँदासम्म सेवा दिन नसक्ने बताए । ‘सरकारले अस्पतालहरूलाई बिमामार्फत उपचार गर्न लगाएर करोडौँ रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्न बाध्य भएका छौँ,’ नोबेल अस्पतालका सञ्चालक डा. सुनील शर्माले भने । उनका अनुसार सरकारले करोडौँ रकम नदिँदा अस्पतालहरू धराशायी बन्ने अवस्था सिर्जना भइसकेको छ ।    

सरकारले पूर्वमा यी तीन अस्पताललाई बिमाको रिफरल अस्पतालका रूपमा तोकेको थियो । सबै प्रकारका सेवा उपलब्ध हुने भएपछि सरकारले यी अस्पताललाई रिफरल अस्पतालमा राखेको हो । एमआरआई, सिटी, क्याथ ल्याबजस्ता अत्याधुनिक उपकरणबाट सेवा दिएका शिक्षण अस्पतालले हात झिकेपछि दैनिक सेवा लिने बिमा गरेका बिरामीको व्यवस्थापनमा चुनौती थपिएको छ । निजी शिक्षण अस्पतालले दिएका सबै सेवा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा छैन ।

तीन शिक्षण अस्पतालको तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत दैनिक ४५ सय बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । तर, अब यी बिरामी उपचारका लागि कहाँ पठाउने भन्नेमा स्वास्थ्य बिमा बोर्ड नै अलमलमा परेको छ । बिमा बोर्डका सूचना अधिकारी शम्भु ज्ञवाली सेवा बन्द भएपछि कसरी जाने भन्ने निर्णय लिन नसकेको बताउँछन् । ‘बोर्डले स्वास्थ्य मन्त्रालयसमक्ष जवाफ मागेको छ, तर पाएको छैन,’ उनले भने । स्वास्थ्य बिमा बोर्डले सरकारले निजीमा सञ्चालन नगर्ने भनेको खण्डमा निर्णय लिन नसक्ने उनले बताए । मन्त्रालयले जवाफ दिएमा बजेट बनाउन सहज हुने उनको तर्क छ । हालसम्म बोर्डले निजीले दिने सेवामा समेत बजेट बनाउँदै आएको थियो । 

विराट, नोबेल र बी एन्ड सीले सेवा बन्द गरेपछि त्यहाँ आउने बिरामीलाई अन्यन्त्र ‘डाइभर्ट’ गरिने भएको छ । रिफरल अस्पताल भएकाले पूर्व क्षेत्रका बिमितहरू यी अस्पताल जाने गरेका थिए । अब भने विराट र नोबेल मेडिकल कलेज रिफर भएर आएका सबै बिरामीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोसी अस्पताल विराटनगर पठाइने स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी ज्ञवालीले बताए । हालसम्म निजी, सामुदायिक र सरकारी गरी चार सय ४९ स्वास्थ्य संस्था बिमा कार्यक्रममा आबद्ध छन् । जसमध्ये ४९ वटा स्वास्थ्य संस्था निजी अस्पताल मात्र छन् । सरकारले गत १५ जेठमा प्रस्तुत गरेको ०७९/८० को बजेट वक्तव्यमा १ साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालमा मात्रै सञ्चालन हुने जनाएको थियो ।

लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटलले पनि स्वास्थ्य कायक्रम कार्यक्रम स्थगित गरेको जनाएको छ । हस्पिटलले मंगलबार सूचना जारी गर्दै राति १२ बजेदेखि बीमा कार्यक्रम स्थगित गरिएको जनाएको हो । सो अस्पतालमा १ भदौ ०७३ देखि रेफरल सेन्टर प्रथम विन्दुको रूपमा बीमा कार्यक्रम सञ्चालन भइरहेको थियो । 

के हो स्वास्थ्य बिमा कार्यक्रम ?
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियन्त्रित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । आमनागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएको हो । स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ ०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रम हाल ७७ जिल्लाका सात सय ४५ पालिकामा पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार ३० प्रतिशत घरपरिवार बिमामा आबद्ध भएका छन् । करिब ५४ लाख नागरिक अहिले स्वास्थ्य बिमामा सेवाका लागि गाँसिएका छन् । सरकारले प्रतिपरिवार वार्षिक ३५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँचजना सदस्यलाई वार्षिक एक लाखबराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ ।