
नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएकी १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका– १६ का २० वर्षीय सिद्धार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट– २ का २५ वर्षीय विष्णु पछाई रहेका छन्। असार २३ गते राति काठमाडौं महानगरपालिका– १ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताला फोडी करिब १२ लाख रुपैयाँबराबरको सुन तथा चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूबाट सुनको तिलहरी, सिसादानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट एक–एक थान, चाँदीको करुवा, पाता, गिलास र माला दुई–दुई थान, दियो पाँच थान, दियो बाल्ने ११ थान, कचौरा चार थान, चम्चा तीन थान र विभिन्न सिक्काहरू एक सय २४ थान प्रहरीले बरामद गरेको छ। जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।