मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पोखरा महानगरपालिका–११, फूलबारीस्थित भानुपार्कमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।
२०७९ असार ३० बिहीबार ०७:१३:००
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

घाँसीकुवा मासिने अवस्थामा

Read Time : > 1 मिनेट
२०७९ असार ३० बिहीबार ०७:१३:००

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारका कारण व्यास–१२ स्थित घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । 

उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हट्ने भएकाले संरक्षणका लागि समयमै ध्यान दिन स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ (हालको व्यास–५) मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँस काटेर आएको घाँसीले आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गरेका थिए :
भरजन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । 
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भैकन आज यस्तो ।

हाल कुवा रहेको पारिपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताए । 

पृथ्वी राजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्नुसट्टा कुवापारिको बुल्दी खोलाकिनारलाई उठाएर पार्क संरक्षण गर्न सकिने स्थानीयवासीको सुझाब छ । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताए । ‘जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो,’ उनले भने, ‘भत्काएर इतिहास मेट्नु हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।’ 

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन् । हाल घाँसीकुवा रहेकोभन्दा दुई सय मिटर पर उत्तरतिर करिब एक सय रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाको सहमतिमा भानुघाँसी उद्यान बनाउने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिए । 

चिनियाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने काम गरिरहेको छ । चाइना एन्ड कम्युनिकेसनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ ।

 ‘नेपाली भाषा एकीकरणमा आदिकविको योगदान महत्वपूर्ण’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन् । भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले दुई शताब्दीअघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गरेको उल्लेख गरे । उनले भने, ‘गण्डकी प्रदेश आफैँमा महत्वपूर्ण प्रदेश हो । भौगोलिक रूपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश नै हो ।’