मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार २८ मंगलबार ०८:१८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको चुनावी रणनीति : वामगठबन्धनबारे ‘पर्ख र हेर’को रणनीति

Read Time : > 3 मिनेट
२०७९ असार २८ मंगलबार ०८:१८:००

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनविरुद्ध अधिकांश ठाउँमा एक्लै लडेको प्रमुख विपक्षी दल एमालेले आगामी निर्वाचनमा भरपर्दो सहयात्री खोज्ने रणनीति तय गरेको छ । १९ असारमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले चुनावी तयारीका लागि गरेको निर्णय सर्कुलर गर्दै एमाले अध्यक्ष केपी ओलीले चुनाव जित्ने गरी भरपर्दो सहयात्रीसँग सहकार्य गर्ने स्पष्ट गरेका छन् । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तारूढ गठबन्धनको विकल्पमा घोषित रूपमै अर्को गठबन्धन नबनाउने नीति लिए पनि एमालेले आवश्यकताका आधारमा राजनीतिक शक्तिहरूसँग चुनावी सहकार्यको बाटो भने खुला राखेको छ । यसबाहेक एमालेले वामगठबन्धन बनाउने विषयमा मौनता साँधेर यसलाई पर्ख र हेरका रूपमा लिएको छ । 

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखा बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन । तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्री खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ १९ असारमा ओलीले जारी गरेको सर्कुलरमा छ । तर, त्यस्तो भरपर्दो सहयात्री को हो भन्नेबारे किटान गरिएको छैन । ओली धरै नेताहरूसँग व्यक्तिगत संवादमा छन् । 

१९ असारमा एमाले अध्यक्ष केपी ओलीले जारी गरेको सर्कुलर

राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखा बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन । तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्री खोज्ने कुरामा केन्द्रित हुनुपर्छ । 

ओलीले भरपर्दो सहयात्रीको खोजी गर्ने भने पनि त्यस्तो सहयात्री राजनीतिक ध्रुवीकरण तीव्र पार्दै पार्टी प्रवेश अभियानबाट आर्जित हुने बताएका छन् । गठबन्धन रहिरहेसम्म केही गर्न सक्दैनौँ या नयाँ गठबन्धनविना अगाडि बढ्नै सक्दैनौँ भन्ने मनोविज्ञान बदल्न तथा पार्टीपंक्तिलाई आप्mनो शक्तिमाथि भरोसा दिलाउन र आत्मविश्वास बढाउन जरुरी रहेको ओलीको सर्कुलरमा छ ।

‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने, खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजना बनाई कार्यान्वयन गर्ने’ चुनावी तयारीबारेको ओलीको निर्देशनमा छ । स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो । खासगरी, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने तर ती पार्टीबाट नेता–कार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई एमालेले पछ्याएको हो । 

ओलीले सत्तारूढ गठबन्धन टुट्ने सम्भावना न्यून रहेको औँल्याउँदै एक्लै लड्ने र पराजित गर्न सकिने आत्मविश्वासका साथ तयारी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘आफ्नो शक्ति र सामथ्र्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने’, ओलीले भनेका छन्, ‘गठबन्धनवालाले स्थानीय चुनावबाट पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ ।’ सत्तारूढ पाँच दलको गठबन्धनमा रहेका वाम दल माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय लिएपछि एमालेले वामगठबन्धन बनाउने विषयमा भने मौनताको नीति लिएको छ । यसलाई पर्ख र हेरको रूपमा राख्ने एमालेको योजना छ । 

स्थानीय तहको निर्वाचनमा जस्तै राजनीतिक ध्रुवीकरणलाई तीव्रता दिँदै पार्टी प्रवेश अभियानलाई पहिलो प्राथमिकतामा राखेर संघ र प्रदेश निर्वाचनको तयारी अगाडि बढाउने एमालेको योजना छ । अहिलेको सत्तारूढ गठबन्धनको विकल्प राजनीतिक ध्रुवीकरण र पार्टी प्रवेश अभियान भएको निष्कर्षसहित ओलीले त्यसैअनुसार तयारी गर्न पार्टीपंक्तिलाई १९ बुँदे चुनावी तयारीसम्बन्धी निर्देशन दिएका छन् । सत्तारूढ गठबन्धन भत्काउन सकिने, तर अहिलेको अवस्थामा एमाले सत्तास्वार्थका लागि त्यस्तो गोटी चाल्ने खेलमा सामेल नहुने प्रस्ट्याउँदै ओलीले स्थानीय निर्वाचनबाट प्राप्त मतलाई थप सुदृढ र विस्तार गर्ने गरी आफ्नै सामथ्र्यमा चुनाव जित्ने गरी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

स्थानीय तहमा एमाले एक्लैले ३४ प्रतिशत मत प्राप्त गरेकाले बहुमतका लागि बाँकी १६ प्रतिशत बढाउने गरी योजनाका साथ तयारी गर्नुपर्ने उनको जोड छ । ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने, नयाँ पुस्तामा विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने र कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने’ ओलीको सर्कुलरमा छ । 

त्यस्तै, स्थानीय निर्वाचनमा गठबन्धनको योजना र षड्यन्त्र सामना गरेर लोकप्रिय मतसहित पहिलो दल भएको तथ्यलाई स्थापित गर्ने गरी निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने र प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने कामको अगुवाइ गर्न एमालेले पार्टीपंक्तिलाई निर्देशित गरेको छ । ‘यो स्थानीय निर्वाचनमा सत्तागठबन्धनको घेराबन्दी, आक्रमण र राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद सर्वाधिक लोकप्रिय मत (३४ प्रतिशत)सहित हाम्रो पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको छ । निर्वाचनको ट्रेन्ड हेर्दा इतिहासकै न्यून मत (२० प्रतिशतभन्दा बढी) प्राप्त गरेको ०६४ को निर्वाचनयता हाम्रो मत निरन्तर बढ्दै गएको छ’, सर्कुलरमा छ, ‘पार्टी विभाजनको प्रयास अस्वीकृत भएको छ । त्यसैले निर्वाचनमा पार्टी पराजित भएको होइन, गठबन्धनका योजना र षड्यन्त्रको सामना गर्न एवं जनताको विश्वास जित्न सफल भएको हो भन्ने मुख्य सन्देशलाई पार्टीपंक्ति र जनतामाझ स्थापित गर्ने ।’ 

त्यस्तै, मत वृद्धिका लागि मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदाताको नाम समावेश गर्न अभियान सञ्चालन गर्ने र दोहोरिएका नाम हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने, आमजनसमुदायमा पार्टीका नीति र अजेन्डाको व्यापक प्रचार गर्ने, एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्नेलगायतका काम गर्न निर्देशन गरिएको छ । 

मत रक्षामा ध्यान दिने, कार्यकर्तालाई विन्यास गरेर परिचालित गर्ने, मतदाता शिक्षालाई व्यापक पार्ने र मतदाताका घरघरमा जाने, कार्यकर्ता परिचालन, युवा परिचालन र स्वयंसेवक टिम निर्माणमा रहन गएका कमीबाट पाठ सिक्दै युवा, विद्यार्थी, ट्रेड युनियन, महिला, खेलाडी, भूपू सैनिक तथा प्रहरी संगठनका सदस्यहरूलाई यस मामिलामा अधिकाधिक परिचालन गर्ने जस्ता काम गर्न एमालेले कार्यकर्तालाई निर्देशित गरेको छ । त्यस्तै, चुनावी तयारीअन्तर्गत नै असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइसक्न, स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने काम अगाडि बढाउन, पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न निर्देशित गरिएको छ ।