मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७९ असार २८ मंगलबार ०७:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हैजाको ‘रेड जोन’मा  राजधानीकै एउटा वडा 

Read Time : > 1 मिनेट
२०७९ असार २८ मंगलबार ०७:२८:००

राजधानी काठमाडौंभित्रकै एउटा वडालाई हैजाको ‘रेड जोन’ घोषणा गरिएको छ । कागेश्वरी–मनोहरा नगरपालिकाको वडा नम्बर ६ लाई सरकारले हैजाको ‘रेड जोन’मा राखेको हो । 

स्वास्थ्य मन्त्रालयले एउटै वडामा हैजाका ६ भन्दा बढी बिरामी पुष्टि भए उक्त वडालाई अति जोखिममा वर्गीकरण गरेर ‘रेड जोन’मा राख्ने गरेको छ । कागेश्वरी–मनोहरा– ६ मा आठजनामा हैजा संक्रमण पुष्टि भएको छ । 

संघीय सरकारले संक्रमण नियन्त्रणको जिम्मा स्थानीय तहलाई दिए पनि परिस्थिति जटिल बनेकाले केन्द्र सरकार नै ‘रेड जोन’ घोषणा गरेर नियन्त्रणका लागि पहल लिएको छ । ‘आठजनामा हैजा संक्रमण पुष्टि भएकाले कागेश्वरी–मनोहरा– ६ रेड जोनमा परेको छ । वडा नम्बर ७ र ९ मा पनि हैजाका लक्षण मिल्ने बिरामी भेटिएको भन्ने छ,’ स्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘विश्व स्वास्थ्य संगठनको टोलीसहित स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।’

२ असारयता काठमाडौं उपत्यकामा हैजाको संक्रमण निरन्तर बढिरहेको छ । सोमबारसम्मको तथ्यांकअनुसार उपत्यकाभर २७ संक्रमित पुष्टि भएका छन् । कागेश्वरी–मनोहराबाहेक काठमाडौं महानगरपालिकामा ११, ललितपुर महानगरपालिकामा तीन, चन्द्रागिरि नगरपालिकामा दुई, कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चाँगुनारायण नगरपालिकामा एक–एकजनामा हैजा पुष्टि भएको छ । २७ मध्ये पाँच संक्रमित बालबालिका छन् । एकजना चार वर्षभन्दा कम उमेरको रहेको तथ्यांकमा उल्लेख छ । 

स्वास्थ्य मन्त्रालयले ६ देखि २० बिरामी देखिएको वडालाई अति जोखिममा वर्गीकरण गरेको छ भने एकदेखि दुई केस देखिए सामान्य अवस्था र तीनदेखि पाँच केस देखिए जोखिममा राखेको छ । बर्सातको समयसँग सडकमा हप्तौँसम्म उठ्न नसकेको फोहोरका कारण हैजाको संक्रमण फैलिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । 

गत वर्ष कपिलवस्तु र सप्तरीमा आठजनामा हैजा पुष्टि भएको थियो । तर, यसपालि एक महिनाको बीचमै २७ जनामा पुष्टि भएको छ । घारा र कुवासँगै खासगरी बिक्रीमा राखिएका जारको पानीमा हैजाका जीवाणु देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।