मण्डला थिएटरमा मञ्चन भइरहेको ‘इनसाइड आउटसाइड’ले युद्धका कारण निम्तिएको अस्थिरता र त्रासदीले समाजमा गहिरोसँग पारेको मनोवैज्ञानिक प्रभाव महसुस गराउँछ । दर्शकलाई नै पात्र बनाइएको हुनाले जनयुद्धबारे सुनेका तर प्रत्यक्ष नभोगेका मानिस पनि यो नाटकमा इन्गेज भएपछि गहिराइमा पुगेर त्यस परिस्थितिलाई बुझ्न सक्छन् । अर्थात्, मस्तिष्कमा ‘स्टोर’ भइराखेको कहालीलाग्दो आतंकको चित्र एकाएक जीवित बनेर निस्किन्छ । वा, भनौँ खाटो बसिसकेको घाउ फेरि चहर्याएर दुख्छ ।
जनयुद्धमा साथीभाइ वा आफन्त गुमाएका, अपांग भएकाहरू कसरी बाँचिरहेका होलान् ? उनीहरूको घाउ आलै छ वा खाटा बसिसक्यो ? नाटकमा इन्गेज भइसकेपछि जोकोहीको दिमागमा यो प्रश्न घुम्छ । दर्शकलाई आँखामा पट्टी लगाइदिएर अपरिचित मानिसले मञ्चभित्र लैजान्छन् । अनि भन्छन्, ‘अब तपाईं स्वतन्त्र हुनुहुन्छ ।’ । अब, ती अपरिचित हराउँछन् । बारुदको गन्ध नाकमा ठोकिन्छ । आँखामा पट्टी लगाएको मानिस अलमलमा छ : पाइला कहाँ र कसरी चाल्ने ? पानीको गड्गडाहट र चट्याङसँगै सुनिन्छन्, भोका कुकुर, डराइरहेका चरा र मृत्युको मुखमा पुगेका मानिसको चीत्कार, गोलीका आवाज : ड्याङ..., ड्याङ..., ड्याङ... । निस्पट्ट अँध्यारो : बसिरहने छुट छैन । हिँड्न बाटो देखिँदैन ।
डराई–डराई चलेका तपाईंका पाइलासँग ठोक्किन आइपुग्छन्, थोत्रा कपडा, रित्तिएका भाँडा, छरिएका चामलसँगै धेरै शंकास्पद वस्तुहरू । जसले तपाईंलाई प्रकाशको महत्व, गन्धको असर, स्पर्शको अर्थ तथा भोक तिर्खाको अनुभव गराउनेछन् । जीवन–मृत्युको दोसाँधबीच आफ्ना पाइला अघि बढाइरहन हिम्मत कसरी जुटाउने ? जवाफ तपाईंका इन्द्रियले नै दिनेछन् ।
कलाकार र दृश्यविना नै स्तरीय नाटक सिर्जना गर्न सक्नु निर्देशक तथा लेखक रामप्रसाद ढकालको खुबी हो । एक घण्टाको यस नाटकमा जति अघि बढ्यो, त्यति ‘थ्रिल र थ्रेट’ मात्रै अनुभव हुन्छ ।
‘हामीले यस नाटकमार्फत दर्शकका धेरैभन्दा धेरैै ज्ञानेन्द्रियलाई सक्रिय गराउने प्रयास गरेका छौँ । आँखा मात्र नभएर अरू सेन्स पनि एक्टिभ हुन्छन् । आँखा बन्द हुँदा कान सक्रिय हुन्छ । डरले तपाईंको मस्तिष्कलाई अलर्ट बनाइराख्छ,’ निर्देशक ढकालले भने, ‘धेरै ज्ञानेन्द्रिय प्रयोग हुने भएकाले मानिसका बुझाइ पनि फरक–फरक हुन्छन् । तपाईंले आफ्नै विवेक लगाएर बुझ्नुहुन्छ, मैले आफ्नै ।’
दर्शकलाई नै नाटकको पात्र बनाएर अभिनय गराउँदै, भित्र बाहिर नाटकको दृश्य ।
प्रयोगात्मक नाटक
नाटकलाई संवादको सीमामा बाँध्न हुँदैन भन्ने मान्यता राखेर ढकालले रंगमञ्चमा प्रयोग गर्दै आएका छन् । यही नाटक बनाउने क्रममा उनले धेरै मानिससँग कुराकानी गरे । यस क्रममा १० दिन उनले रोल्पाको थवाङमा बिताएका थिए । त्यहाँका मानिससँग भेटेर उनीहरूका आन्तरिक र बाह्य भावना संकलन गरेको ढकाल बताउँछन् ।