१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार २३ बिहीबार १०:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेयरका लागि किनिएको गाडी स्वास्थ्य संस्थालाई हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७९ असार २३ बिहीबार १०:०१:००

निर्वाचित भएदेखि नै निजी गाडी प्रयोग गर्दै आएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउने सरकारी गाडी नगरका वडाहरूमा विशेषज्ञ क्लिनिक सञ्चालनका लागि प्रदान गरेका छन् । वडामा क्लिनिक चलाउन सहज होस् भनेर उनले मेयरको सरकारी गाडी उपमहानगरको स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

उक्त गाडी नगरका १९ वटै वडामा हरेक महिना विशेषज्ञ क्लिनिक सञ्चालनमा प्रयोग गरिने हमालले बताएका छन् । नगरका सबै वडामा प्रत्येक महिनामा एक दिन दुईजना विशेषज्ञ डाक्टरसहित क्लिनिक सञ्चालन गर्ने घोषणा उनले यसअघि गरेका थिए । आगामी १ साउनबाट सञ्चालन हुने क्लिनिकमा अल्ट्रासाउन्ड, इसिजी र रगत जाँच निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ । 

आफूले उपमहानगरबाट पाउने सरकारी गाडी नचढ्ने र तलब, भत्तालगायत कुनै सुविधा नलिने घोषणा गरेका हमालले विपन्नलाई घरदैलोमै स्वास्थ्य उपचार सुविधा दिन नियमित रूपमा वडा क्लिनिक सञ्चालन गर्न लागिएको बताए । ग्रामीण क्षेत्रका विपन्न नागरिकले आर्थिक अभावका कारण उपचार नपाउने अवस्था आफूले देखेको बताउँदै हमालले नगरवासी उपचारबाट कोही वञ्चित नहोऊन् भनेर वडामै गएर सेवा दिइने जानकारी दिए । ‘विपन्नले कुखुरा बेचेर उपचार गराउनुपर्ने बाध्यता छ । 

कतिपय घरमा कुखुरा भएन भने उपचार नपाउने अवस्था छ,’ उनले भने, ‘विपन्न नागरिक उपचार सुविधाबाट वञ्चित नहोऊन् भनेर क्लिनिक सञ्चालन गर्न लागेका हौँ ।’ क्लिनिकमा एकजना फिजिसियन र एकजना प्रसूतिरोग विशेषज्ञ डाक्टरले सेवा दिने उनले जानकारी दिए । क्लिनिकका लागि दुईजना चिकित्सकको सेवा–सुविधा धनगढीस्थित भाटभटेनी सुपरमार्केटले पाँच वर्षसम्म व्यहोर्नेछ । 

अल्ट्रासाउन्डलगायत केही उपकरण प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उपमहानगरले जनाएको छ । क्लिनिकमा निःशुल्क रूपमा औषधि वितरणका लागि विभिन्न संघसंस्थासँग समन्वय भइरहेको मेयर हमालले बताए । ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानअन्तर्गत विभिन्न व्यक्ति र संघसंस्थालाई क्लिनिक सञ्चालनमा सहयोग गर्नसमेत उपमहानगरले आग्रह गरेको छ ।

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख कृष्णबहादुर बोहराले क्लिनिक सञ्चालनको कार्यतालिका तयार पारिएको जानकारी दिए । बहुसंख्यक वडावासीलाई पायक पर्ने स्थानमा तोकिएको दिनमा प्रत्येक महिना क्लिनिक सञ्चालन हुने उनले बताए ।

उपमहानगरबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हमालले गत वैशाख महिनाको तलब सुविधा धनगढीको गौशालालाई हस्तान्तरण गरेका छन् । क्लिनिकमा प्रयोग गरिने गाडी तत्कालीन मेयर नृपबहादुर वडका लागि उपमहानगरले गत वर्ष खरिद गरेको थियो ।