१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ असार २१ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेलाई निःशुल्क स्वास्थ्य सेवा

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ असार २१ मंगलबार ०७:०७:००

सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध योगदानकर्ताको औषधि, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा सुविधालाई नगदरहित बनाइएको छ । योगदानकर्ताले कोषले तोकेका स्वास्थ्य संस्था पुगेर कुनै पनि रकम भुक्तानी नगरी सुविधा लिन सक्नेछन् । कोषले नेपालका विभिन्न स्थानका एक सय २६ स्वास्थ्य संस्थासँग उपचार सेवाका लागि सम्झौता गरेको छ । सुविधा उपलब्ध गराएबापत स्वास्थ्य संस्थाले अनलाइनमार्फत नै कोषसँग दाबी गर्ने भएको छ । सोमबार एक कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको अनलाइन सुविधाको उद्घाटन गरेका छन् ।   

 यस्ता छन् सुविधा 
सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि चार प्रकारका योजना सञ्चालन गरेको छ । जसमध्ये दुईवटा योजना स्वास्थ्यसँग सम्बन्धित छन् । स्वास्थ्यसँग सम्बन्धित यी सेवालाई रियल टाइम र सहज बनाउन कोषले नगदरहित अनलाइन सेवा सञ्चालन गरेको कोषका प्रमुख कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

कोषले सञ्चालनमा ल्याएको सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना पहिलो हो । यो सुविधाभित्र योगदानकर्ताले ओपिडी र आइपिडीअन्तर्गतका सम्पूर्ण उपचार खर्च दाबी गर्न पाउनेछन् । त्यस्तै, औषधि बिलबमोजिमको खर्च, महिला योगदानकर्ता वा योगदानकर्ताकी पत्नीको नियमित गर्भ परीक्षण र ६ हप्तासम्मको सुत्केरी खर्च, जन्मेदेखि तीन महिनासम्मको बच्चाको उपचार खर्च पनि योजनाभित्र पर्छ । ओपिडीअन्तर्गत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्म रकम प्राप्त गर्न सकिनेछ । आइपिडीअन्तर्गत एक आर्थिक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्मको अस्पतालमा भर्ना भएर गरिने उपचार खर्च सीधै भुक्तानी हुनेछ । 

प्रसूति बिदाबापत पारिश्रमिकसहितको ६० दिन बिदाको व्यवस्था छ । त्योबाहेक कोषमा आबद्ध योगदानकर्ताले ३८ दिनसम्मको मासिक पारिश्रमिकको ६० प्रतिशत रकम भुक्तानी गर्नेछ । त्यस्तै, बिरामी बिदाबापत वार्षिक १२ दिनबाहेक ७९ दिनसम्म बिरामी बिदा बसेमा कोषमा आबद्ध योगदानकर्ताले पारिश्रमिकको ६० प्रतिशत रकम भुक्तानी पाउनेछ । प्रसूति स्याहारबापत महिला योगदानकर्ता वा योगदानकर्ताकी पत्नीले प्रसूति स्याहारबापत प्रतिशिशु तीन महिना नहुँदासम्म उपचार खर्च १५ हजार रुपैयाँ कोषले भुक्तानी गर्नेछ । 

त्यस्तै, दोस्रो सुविधा दुर्घटना तथा अशक्तता सुरक्षा योजना रहेको छ । यो सुविधाअन्तर्गत रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारको सम्पूर्ण खर्च कोषले व्यहोर्नेछ । अन्य दुर्घटनाको सात लाख रुपैयाँसम्मको खर्च व्यहोर्नेछ । अशक्तताबापतको सुविधा रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी पूर्ण अशक्तता भएको खण्डमा योगदानकर्ता काममा नफर्किंदासम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बिदा अवधिको भुक्तानी पाउनेछ । स्थाथी पूर्ण अशक्तता भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन अशक्तता वृत्ति पाउनेछ ।