मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ असार १६ बिहीबार ०६:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाँकी केयरगिभर पनि एक महिनाभित्र इजरायल पठाइने

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ असार १६ बिहीबार ०६:३४:००

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का लागि इजरायल सरकारले बाँकी नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार बाँकी रहेका नेपाली कामदार पहिलेकै प्रक्रियाद्वारा इजरायल पठाइनेछ । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण करिब चार महिना नेपाली केयरगिभर इजरायल जान पाएका थिएनन् । अहिले समस्या समाधान भएपछि बाँकी नेपाली कामदारका लागि इजरायल फेरि खुलेको हो ।

इजरायलले गत ५ माघदेखि नेपालबाट कामदार लैजान सुरुवात गरेको थियो । हालसम्म दुई सय ९७ कामदार इजरायल गइसकेका छन् । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण इजरायलले भिसा जारी गर्न बन्द गरेको थियो । नेपाल सरकार र इजरायल सरकारबीच भएको सहमतिअनुसार इजरायल सरकारले नेपालबाट केयरगिभर लैजाने निर्णय भएको थियो । सम्झौताअनुसार इजरायलले भाषा परीक्षा र अन्तर्वार्तामार्फत एक हजार एक सय ७५ नेपाली कामदार छनोट गरेको थियो । इजरायलको आन्तरिक समस्या समाधान भएपछि बाँकी नेपाली कामदार फेरि लैजाने भएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । बाँकी रहेका कामदारलाई आगामी एक महिनाभित्र इजरायल लगिनेछ । 

 पुनः स्वास्थ्य जाँच गर्नुपर्ने
अब इजरायल जाने कामदारले पुनः केही स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । विभागका अनुसार इजरायल सरकारले टिभी, हेपटाइटिस, सेफलिस, गनोरिया र एचआइभी एड्स परीक्षण गर्नुपर्ने विभागका निर्देशक सुनुवारले बताए । त्यस्तै, स्वास्थ्य परीक्षणका लागि यसअघि परीक्षण गरिएको स्वास्थ्य संस्थासँग नै समन्वय गरिने उनले बताए ।  आगामी दिनमा प्रत्येकपटक सयजनाभन्दा बढी कामदार पठाइने विभागका निर्देशक सुनुवारले बताए । ‘यसअघि कोभिडको समस्या थियो । त्यसैले पनि कुनै चरणमा सयभन्दा पनि कम कामदार पठाइयो । तर, अबका दिनमा कम्तीमा एक चरणमा सयजना पठाइनेछ’ उनले भने । यसका लागि एयरलाइन्ससँग पनि छलफल गरिने उनले बताए । तर, एयरलाइन्सको टिकट मूल्य भने नबढ्ने उनले बताए । यसअघि जाने कामदारले टिकटबापत करिब ६० हजार भुक्तानी गरेका थिए । उनीहरू आबुधाबी ट्रान्जिट हुँदै इजरायल पुग्ने गरेका थिए । 

इजरायलले आफ्नोतर्फबाट सबै बाटो खोले पनि विभागले भने आन्तरिक तयारीका लागि केही समय लाग्ने बताएको छ । स्वास्थ्य परीक्षण, एयरलाइन्स, भ्याक्सिनलगायतका विषयमा अन्तिम छलफल हुन बाँकी रहेको विभागका निर्देशक सुनुवारले बताए । ‘इजरायलले हेपटाइटिसको परीक्षण गर्नु भनेको छ । तर, हेपटाइटिसमा पनि कुन वर्गको परीक्षण गर्नुपर्ने हो भन्नेजस्ता भित्री तत्वमा निर्णय गर्न बाँकी छ’ उनले भने । सबै निर्णय भए पनि कामदारका लागि सूचना जारी गरिने उनले बताए । लामो समयदेखि इजरायल सरकारले भिसा जारी गर्न नसकेपछि वैकल्पिक माध्यमका रूपमा अनअराइभल भिसामार्फत इजरायल पठाउने विभागले तयारी गरेको थियो । इजरायल सरकार र नेपाल सरकारबीचको छलफलपछि अनअराइभललाई विकल्पको रूपमा छनोट गरिएको थियो ।

सो प्रक्रियाअनुसार इजरायलस्थित रोजगारदाता छनोट गरेका आधारमा नेपाली कामदारको संख्या निर्धारण गर्ने । इजरायलले छनोट गरी पठाएको कामदारहरूलाई अध्यागमन विभागले पेपर भिसा जारी गर्ने । सोही पेपर भिसाका आधारमा कामदारलाई इजरायल उडाइने विभागको योजना थियो । नेपाली कामदारलाई रोजगारदाताले विमानस्थलबाट नै लिएर जाने सहमतिसमेत भएको थियो । तत्पश्चात् कामदारलाई रोजगारदाताले कामदार भिसा जारी गर्ने निर्णय भएको थियो । 

 निर्माण कामदार लैजान पनि इच्छुक
इजरायल सरकारले नेपालबाट निर्माण क्षेत्रका लागि पनि कामदार लैजान इच्छा देखाएको छ । निर्माण क्षेत्रका लागि छुट्टै सम्झौता गर्न पनि इजरायल सरकार सकारात्मक भएको छ । इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्न सम्झौता पनि भइसकेको छ । यसबाट इजरायली प्रविधिक भित्र्याएर मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने सरकारको विश्वस्त रहेको छ ।