मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३१ मंगलबार o९:२७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमबिबिएस र बिडिएस दोस्रो वर्षका विद्यार्थी ‘ब्यारियर’ हटाउन माग गर्दै अनशनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार o९:२७:oo

अब परीक्षा लिन सकिँदैन : आइओएम

एमबिबिएस र बिडिएस दोस्रो वर्षमा लगाइएको ‘ब्यारियर’ हटाउन माग गर्दै विद्यार्थी रिले अनशनमा बसेका छन् । एमबिबिएस र बिडिएसमा अध्ययनरत विद्यार्थीले दोस्रो वर्षमा चारपटकभन्दा बढी परीक्षा दिन पाउँदैनन् । चार वर्षमा पास नगर्ने विद्यार्थीको नियमअनुसार भर्ना रद्द गरी कलेजले रेस्टिकेट गर्छ । 

यही व्यवस्था हटाउन माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डिन कार्यालयअगाडि विद्यार्थीले रिले अनशन सुरु गरेका छन् । चारपटक परीक्षा दिँदा पनि एमबिबिएस र बिडिएस दोस्रो वर्ष उत्तीर्ण गर्न नसकेका विद्यार्थी अन्तिम मौका दिन माग गर्दै रिले अनशनमा बसेका हुन् । तीन महिनाको समय दिएर अन्तिम मौका दिन उनीहरूले आइओएमसँग माग राखेका छन् । 

तर, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले भने थप परीक्षा लिन नसक्ने बताएको छ । ‘विगतमा तीनपटक मात्रै ब्यारियरको व्यवस्था थियो,’ सहायक डिन प्रेमराज ज्ञवालीले भने, ‘समय थपेर चारपटक बनाउँदा पनि पास गर्न नसक्ने विद्यार्थीका लागि पाँचपटक परीक्षा दिने व्यवस्था लागू गर्न सम्भव हुँदैन ।’

आइओएमका अनुसार मेडिकल शिक्षा पढ्ने विद्यार्थी एकैपटकमा पास हुन सक्दैनन् भने उनीहरू चिकित्सक बन्न योग्य हुँदैनन् । ‘अझ चारपटकसम्म पनि पास नहुनेले यो विषय छाडेर फरक विधामा अध्ययन गर्नु उपयुक्त हुन्छ,’ ज्ञवाली भन्छन्, ‘यस्ता विद्यार्थी चिकित्सक बनेको खण्डमा समाजमा कस्तो सेवा दिन्छन् सबैले सोच्नुपर्छ ।’

‘समयमै कलेजबाट आउट हुँदा विद्यार्थीलाई अर्को विषय पढ्न सहज हुन्छ भनेर दोस्रो वर्षमा ब्यारियरको नियम लगाइएको हो,’ सहायक डिन ज्ञवालीले भने, ‘छोराछोरीको चाहनाभन्दा पनि बाबुआमाको जबर्जस्तीले चिकित्सक बन्न लाग्दा यस्तो समस्या आएको हो ।’

विगत पाँच दिनदेखि आइओएमअगाडि रिले अनशन बसेका विद्यार्थी राजीव दास अन्तिम एकपटक मौका दिन अनुरोध गर्छन् । ‘तेस्रो, चौथो र पाँचौँ वर्ष जति ब्यारियरमा पास गरे पनि हुन्छ, तर दोस्रो वर्षमा किन नियम लगाइयो भन्नेमा हाम्रो आपत्ति हो,’ दासले भने । पीडित विद्यार्थीका अनुसार ०६७ सालमा एकपटक मौका दिएको नजिर भएकाले सोही आधारमा परीक्षा लिनुपर्छ । अनशनरत विद्यार्थीले बताएअनुसार करिब तीन सय ‘ब्यारियर’मा परेका विद्यार्थी छन् । तर, आइओएम भने बढीमा ३० जना भएको बताउँछ । 

पीडित विद्यार्थीले दुई वर्ष पढाएर पूरै पाँच वर्षको रकमसमेत कलेजहरूले लिएकाले आफूहरू थप पीडामा परेको गुनासो गरेका छन् । यदि पुनः परीक्षा दिलाउन नसक्ने भए आफूहरूसँग लिएको रकम फिर्ता गरेर मार्गप्रशस्त गर्न पनि माग राखेका छन् । 

चिकित्सा शिक्षामा पहिलो र दोस्रो वर्षलाई बेसिक फेज भन्ने गरिन्छ । त्यस्तै तेस्रो, चौथो र पाँचौँलाई क्लिनिकल फेज भनिन्छ । बेसिक फेज पास नगरी क्लिनिकल फेजमा जान पाइँदैन । पीडित विद्यार्थी मधुप झाका अनुसार पटक–पटक फेल भएकै कारण कम्तीमा पनि पाँचजनाले आत्महत्याको बाटो रोजेका छन्, दशौँ विद्यार्थी डिप्रेसनमा पुगेका छन् । थप दुर्घटना हुन नदिन पनि ब्यारियरको नियम हटाउनुपर्ने उनीहरूको तर्क छ ।