नयाँ पत्रिका समाचार प्रभाव
ऋण दिएर मिटरब्याज असुल्नुका साथै जग्गासमेत हडपेर सप्तरीका विपन्न परिवारको उठीवास लगाएका साहुकार रामदेव साह तेली धरानमा बस्दै आएका छन् । धरान उपमहानगर– १९ धनकुटे रोडमा भव्य घर (तस्बिर) बनाएर उनी परिवारसहित बसिरहेका थिए । प्रहरीले खोजी गर्न थालेपछि भने अहिले सबै फरार छन् । तस्बिर : देवेन्द्र कार्की/नयाँ पत्रिका
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । विपन्न नागरिकमाथि रामदेवले गरेको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि उनले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका हुन् ।
गोविन्द परियार, प्रधानमन्त्रीका प्रेस संयोजक
प्रधानमन्त्रीले नयाँ पत्रिकामा प्रकाशित समाचार पढेपछि गृहमन्त्रीलाई टेलिफोन गरेर रामदेव तेली कहाँ कस्तो अवस्थामा छ, खोजतलास गरेर तत्काल पक्राउ गर्न र अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा प्रधानमन्त्री दृढ हुनुहुन्छ ।
‘प्रधानमन्त्रीले नयाँ पत्रिकामा प्रकाशित समाचार पढेपछि गृहमन्त्रीलाई टेलिफोन गरेर रामदेव तेली कहाँ कस्तो अवस्थामा छ, खोजतलास गरेर तत्काल पक्राउ गर्न र अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा प्रधानमन्त्री दृढ हुनुहुन्छ ।’
मिटरब्याजी रामदेवले विपन्न नागरिकमाथि गरेका ज्यादतीबारे नयाँ पत्रिकाले बिहीबार ‘सप्तरीमा पनि साहुकारको आतंक : ऋणको ६ गुना असुलेर पनि जग्गा फिर्ता नदिँदा विपन्नको उठीवास’ शीर्षकमा र शुक्रबार ‘खुँखार मिटरब्याजी रामदेवबाट पीडित महिलाको बिलौना : १० लाख ऋणको ३२ लाख असुल्यो, १६ कट्ठा जग्गा पनि कब्जा राख्यो, ब्याज मिनाहा गर्छु भनेर तीन वर्षसम्म ‘यौन शोषण’ गरिरह्यो’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि प्रहरीले पनि सक्रियता बढाएको छ । सप्तरी प्रहरीले साहुकार रामदेवसहितका पीडिकहरूको खोजी गर्न विशेष टोली नै खटाएको छ । बिहीबार मात्रै प्रहरीले धरानबाट रामदेवका छोरा नन्दकिशोरलाई पक्राउ गरेको थियो ।
नन्दकिशोर साहमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद
विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साह तेलीका छोरा नन्दकिशोरमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । शुक्रबार सप्तरी जिल्ला अदालतले साहमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको हो ।
बिहीबार धरानबाट पक्राउ परेका नन्दकिशोरलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएर म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।
मिटरब्याजी रामदेवको अत्याचारबाट पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएका थिए । उनीहरूले साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध जाहेरी दर्ता गराएका थिए । बाँकी सबै अहिले फरार छन् ।
मिटरब्याजीमाथि कारबाही गर्न सांसदको माग
सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन तथा कानुनी कारबाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसदहरूले नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
महोत्तरीका सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीविरुद्ध नयाँ पत्रिका दैनिकले गरेको रिपोर्टिङ प्रशंसनीय रहेको, तर राज्य संयन्त्र अझै मिटरब्याजीमाथि कारबाहीका लागि तयार नरहेको बताए । ‘नयाँ पत्रिकामा लगातार समाचार आएका छन्, म धन्यवाद दिन चाहन्छु । सप्तरीको खडक नगरपालिका, धरान उपमहानगरपालिका– १९ धनकुटे चोकको समस्या र सप्तरीको बोधेपुरको समस्या समाचारमा उठाइएको छ ।
यस्तै, किर्ते तमसुक बनाएर लाखौँ ऋण दिएका विपन्न नागरिकबाट करोडौँ असुल्ने श्याम परदेशी र रामबाबु राय यादवजस्ता खुँखार मिटरब्याजी साहुकारले सर्लाहीमा गरेको उत्पीडनको फेहरिस्त लामो छ,’ सांसद पोखरेलले भने, ‘यो वर्ष गृह मन्त्रालयले अपराधको सूचीमा मिटरब्याजीलाई सामेल गरेको छ । यो मधेसको मात्रै नभएर देशको समस्या हो । तर, उनीहरूलाई कारबाही गर्न कानुन, पुलिस, प्रशासन र अदालत सबै तयार भइसकेका छैनन् ।’
सांसद पोखरेलले मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रेका सर्लाहीका डाचाराज वाग्लेको रहस्यमय मृत्यु भएको, तर राज्यबाट छानबिनका नाममा औपचारिकता पूरा गरेको बताए । ‘मिटरब्याजीविरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमनविरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भयो । नेपाल सरकारले सिआइबीमार्फत अनुसन्धान पनि गर्यो । तर, अनुसन्धान औपचारिकता पूरा गर्ने खालको मात्र भयो,’ उनले भने, ‘मुद्दालाई औपचारिक प्रक्रिया पूरा गरी टुंग्याउने मात्र हेतुले दायर गरेको देखिन्छ । सत्यतथ्य पत्ता लगाउने गरी उच्चस्तरीय अनुसन्धान गरियोस् । म सरकारको ध्यान आकृष्ट गराउँछु ।’
सांसद पोखरेलले मिटरब्याजीका कारण जनता प्रताडित रहेको भन्दै पीडितले कहिले न्याय पाउँछन् भन्ने प्रश्न गरे । ‘महोत्तरी जिल्लाको भंगाहा नगरपालिकामा चर्को मिटरब्याजीका कारण जनता प्रताडित रहेका छन् । विगत वर्षहरूमा भंगाहा नगरपालिका– ६ का साहुकारद्वय राजकरण साह, रघुवीर साह र भंगाहा नगरपालिका– ५ का अनुरुद्र साहले स्थानीय दलित, थारू र अन्य समुदायका ३७ जनाभन्दा बढी व्यक्ति र परिवारको जग्गाजेथा हडपेका छन्,’ उनले भने, ‘साहुकार राजकरण साह जिल्ला अदालतका खरिदार रहेकाले पनि स्थानीय प्रशासनसँगको मिलेमतोमा उल्टै पीडित किसानविरुद्ध जिल्ला अदालत जलेश्वर महोत्तरीमा विगत दुई वर्षदेखि मुद्दा चलाइरहेको छ । तारेखमा किसान धाइरहेका छन् । ती नागरिकले न्याय पाउने कि नपाउने ?’
प्रेम सुवाल
नेमकिपा सांसद प्रेम सुवालले कानुन हातमा लिनेहरूमाथि कारबाही गर्न माग गरे । ‘बजेट वक्तव्यमा मिटरब्याजी नियन्त्रण गर्ने उल्लेख छ । तर, गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकार मिटरब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको समाचार आएका छन् । कतिपय पदाधिकारीले आफन्तलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरूले गरेको देखियो नि !’ उनले भने ।
प्रधानमन्त्रीले नयाँ पत्रिकामा प्रकाशित समाचार पढेपछि गृहमन्त्रीलाई टेलिफोन गरेर रामदेव तेली कहाँ कस्तो अवस्थामा छ, खोजतलास गरेर तत्काल पक्राउ गर्न र अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा प्रधानमन्त्री दृढ हुनुहुन्छ ।