मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Saturday, 22 March, 2025
सौरभ यादव राजविराज
२o७९ जेठ २७ शुक्रबार o६:२७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुँखार मिटरब्याजी रामदेवबाट पीडित महिलाको बिलौना : १० लाख ऋणको ३२ लाख असुल्यो, १६ कट्ठा जग्गा पनि कब्जामा राख्यो, ब्याज मिनाहा गर्छु भनेर तीन वर्षसम्म ‘यौन शोषण’ गरिरह्यो

सप्तरीमा पनि साहुकारको आतंक

Read Time : > 3 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार o६:२७:oo

सप्तरीका मिटरब्याजी साहुकार रामदेव साह तेलीले विपन्न नागरिकमाथि गरेका ज्यादतीका अरू दर्दनाक घटना पनि सार्वजनिक हुँदै छन् । १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका– २ (तत्कालीन रामपुर–जमुवा गाविस)की दिलादेवी (नाम परिवर्तन)ले ब्याज मिनाहा गरिदिने आश्वासन दिएर रामदेवले तीन वर्षसम्म ‘यौन शोषण’समेत गरेको भन्दै प्रहरी र न्यायालय गुहारेकी छिन् । 

दिलादेवीले लिएको १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख असुलिसकेका छन् । ‘ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी’ आफ्नो नाममा ल्याएको १५ कट्ठा १५ धुर जग्गा पनि उनले फिर्ता गरेका छैनन् । तत्कालीन रामपुर–जमुवा गाविसको कित्ता नम्बर १८९ को १७ धुर, कित्ता नम्बर १८१ र १८७ को एक–एक कट्ठा, कित्ता नम्बर ४३ को सात कट्ठा ११ धुर र कित्ता नम्बर ५७३ को पाँच कट्ठा सात धुर जग्गा साहुकारले कब्जा गरेको दिलादेवीले बताइन् । 

०६७ मा दिलादेवीका श्रीमान् रोजगारीका लागि मलेसिया गएका थिए । घरनजिकै तुलनात्मक थोरै राम्रो ठाउँमा जग्गा किन्ने विषयमा उनले श्रीमानसँग सल्लाह गरिन् । श्रीमान् पनि सकारात्मक भएपछि तत्काल ऋण खोजेर जग्गा किन्ने निधो गरिन् । गाउँमा ऋण दिन चिनिएका उनै साहुकार रामदेव थिए । दिलादेवीले उनीसँग १० लाख ऋण लिएर सात कट्ठा ११ धुर जग्गा किनिन् । नयाँ किनेकोसहित उनको नाममा रहेको सबै जग्गा साहुकारले ‘ऋण तिरेपछि फिर्ता हुन्छ’ भनेर आफ्नो नाममा राख्यो । 

श्रीमानले विदेशबाट पठाएको पैसा दिलादेवीले साहुकार रामदेवलाई तिर्दै गइन् । यो क्रम करिब १० वर्षसम्म चलिरह्यो । ‘ऋण तिरिसकेपछि सबै फिर्ता हुन्छ भनेको थियो । तर, १० लाखको ३२ लाख तिरिसकेँ । अझै पनि जग्गा दिन मान्दैन,’ दिलादेवीले भनिन् । 

श्रीमानले विदेशबाट पठाएको पैसा साहुकार रामदेवलाई तिर्न दिलादेवी उनको घर जान्थिन् । दुई–तीन वर्षपछि उनले ‘कति पैसा तिर्न बाँकी छ’ भनेर सोध्न थालिन् । रामदेवले ‘ब्याज नै धेरै छ’ भनेर तर्साउँथे । केही समयपछि उनले दिलादेवीमाथि ‘यौन शोषण’ पनि गर्न थाले । ‘ऋण मिनाहा गर्छु भनेर तीन वर्षसम्म बारम्बार बलात्कार गरे,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘ब्याजको पैसा तिर्न गएको वेला कोठामा बोलाएर बलात्कार गर्थ्यो, दुईपटक त गर्भवती पनि भएँ, तर औषधि खुवाएर गर्भ तुहायो ।’

डेढ वर्षअघि श्रीमान् विदेशबाट फर्किएपछि दिलादेवीले साहुकारले आफूमाथि गरेको सबै ज्यादती सुनाइन् । श्रीमान्सहित उनीहरूले रामदेवलाई भेटे । र, आफ्नो जमिन फिर्ता गरिदिन आग्रह गरे । ‘ऋण तिरिसकेका छौँ, हाम्रो जग्गा फिर्ता गरिदिनु भनेर पटक–पटक आग्रह गर्‍यौँ । तर, जग्गा त पाइहाल्छौ, तिर्नुपर्ने पैसा अझै धेरै छ, फुर्सदमा आउनु, हिसाब गरौँला भन्छ ।’ पत्नीलाई ‘यौन शोषण’ गरेको विषयमा सोध्दा उल्टै धम्की दिएको दिलादेवीका पतिले बताए । 

साहुकारले पटक–पटक ‘यौन शोषण’ गरेको भन्दै दिलादेवी न्यायका लागि गत १२ मंसिरमै उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । जिप्रकाले इप्रका कल्याणपुरमा पठायो । तर, कल्याणपुर प्रहरीले उजुरी लिनै मानेन । ‘धेरै ढिलो भयो, अहिले निवेदन लिन मिल्दैन भन्यो,’ उनले भनिन् । कानुन व्यवसायीको सल्लाहअनुसार त्यसपछि उनले १३ मंसिरमा हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाइन् । २१ पुसमा परमादेशको माग गर्दै दिलादेवीले उच्च अदालत जनकपुरको राजविराज इजलासमा पनि निवेदन दिइन् । 

‘०७८ मंसिर १२ गते हामी बलात्कार गर्ने साहुकार रामदेवमाथि जाहेरी हाल्न पुग्दा कल्याणपुर प्रहरीले जाहेरी लिन मानेन,’ पीडित महिलाका पतिले भने, ‘त्यसपछि भोलिपल्ट १३ मंसिरमा हामीले जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठायौँ । ०७८ पुस २१ गते उच्च अदालतको राजविराज इजलासमा पुगेर परमादेश माग गर्दै निवेदन चढायौँ ।’ आफूहरूजस्ता निमुखामाथि अत्याचार गर्ने साहुकारलाई हदैसम्म कारबाही हुनुपर्ने उनले बताए । 

पीडित दिलादेवीले सरकारबाट पनि न्याय नपाए अब आफूसँग मर्नुको विकल्प नभएको बताइन् । ‘श्रीमान्ले १० वर्षसम्म विदेशमा कमाएको पैसा साहुलाई तिरेरै सकियो । भएको जग्गा पनि उसैले कब्जा गरेको छ । बाँच्ने अरू आधार पनि छैन,’ उनले भनिन्, ‘न्याय पाइएला भन्ने अन्तिम आशा बाँकी छ, अब सरकारबाट पनि न्याय पाइएन भने हामीलाई मर्नुबाहेक अर्को विकल्प छैन ।’

मिटरब्याजी रामदेव तेली फरार, छोरा नन्दकिशोर धरान बजारबाट पक्राउ

सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फरार भएका छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो ।

बिहीबारको नयाँ पत्रिकामा रामदेवको ज्यादतीबारे समाचार प्रकाशित भएपछि प्रहरीले उनको खोजीमा तदारुकता देखाएको छ । ‘सप्तरी प्रहरीको एक टोली रामदेवसहितका आरोपीलाई खोज्दै बिहीबार उनको धरानस्थित घर पुगेको थियो । घरमा कोही भेटिएनन् । बजार क्षेत्रबाट उनका छोरा नन्दकिशोर पक्राउ परेका छन्,’ एसपी काफ्लेले भने, ‘रामदेवसहित अन्य फरारको पनि खोजी गरिरहेका छौँ ।’

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए । 

संसदमा साहुकारमाथि कारबाही गर्न माग
सांसदहरूले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीवास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका छन् । बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी र सिराहामा साहुकारहरूको ऋणले किसानहरूको उठीवास हुने कारुणिक अवस्था देखिएको भन्दै मिटरब्याजीको पहिचान गरी कारबाही गर्न माग गरे । 

पीडितको जाहेरी दर्ता गर्न उच्च अदालतको परमादेश
उच्च अदालत जनकपुरको राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडित (दिलादेवी)को जाहेरी दर्ता गर्न गत २० जेठमा परामादेश दिएको छ । तर, प्रहरीले भने अहिलेसम्म त्यसबारे जानकारी नभएको जनाएको छ । न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोख्रेलको संयुक्त इजलासले ‘निवेदक (पीडित)लाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनू’ भनेर प्रहरीका नाममा परमादेश गरेको थियो । सप्तरीका एसपी अविनारायण काफ्लेले परमादेशबारे जानकारी आइनसकेको बताए । ‘अहिलेसम्म त्यस विषयमा कुनै जानकारी आएको छैन, आयो भने हामी कानुनबमोजिम अगाडि बढ्छौँ,’ उनले भने ।