१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसलाई घाटा नभए पनि गठबन्धन प्रभावकारी हुन सकेन : प्रदीप पौडेल  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:oo:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनको सम्बन्धमा पार्टीभित्रै फरक–फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले पार्टीभित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि दाबी गरे । 

नेता पौडेलले गठबन्धनका कारण कांग्रेसलाई घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पारे  ।  ‘गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ, उथलपुथल बनाएको छ, पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन । गठबन्धन पनि प्रभावकारी हुन सकेन । त्योभन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई जिताउनको निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘त्यसैले पहिला त हाम्रो सम्पूर्ण शक्तिलाई नेपाली कांग्रेसको उम्मेदवार जिताउनको निम्ति खर्चिने परिस्थिति हामी निर्माण गरौँ । त्यसपछि थप उपलब्धिको निम्ति गठबन्धन गर्ने स्थिति बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।’ 

गठबन्धन गर्दा पार्टीभित्र सम्पूर्ण नेताहरूको एउटै धारणा आउने गरी अगाडि बढ्ने स्थिति हुनुपर्ने नेता पौडेलले बताए । ‘कन्फ्युजन भएको, फरक– फरक कुरा गरेको स्थितिले गठबन्धनलाई प्रभावकारी बनाउन सकेन । केन्द्रीय तहबाट गठबन्धनका बारेमा जुन निर्णयहरू गरिएको छ । स्थानीय तहले त्यसलाई लागू नगरेको स्थिति पनि छ,’ उनले भने, ‘त्यसैले यो ढंगको गठबन्धनले अपेक्षित परिणाम दिन सक्दैन ।’ 

गठबन्धन गणितका लागि मात्रै नभई संविधान र समृद्धि तथा निश्चित उद्देश्यका निम्ति भएको सन्देश जानुपर्ने उनको भनाइ छ । उनले भने, ‘कसैलाई कमजोर बनाउन, गणितीय उपलब्धि हासिल गर्न मात्रै होइन । यसको वैचारिक साझा एजेन्डा हुनुपर्छ । त्यस अवस्थामा मात्रै गठबन्धन उपलब्धिमूलक हुन सक्छ भन्ने मलाई लाग्छ ।’

केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताए । उनले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गरे । उनले आगामी दिनमा गठबन्धन गर्दा साझा एजेन्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनुपर्ने बताए । 

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका पौडेलले स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै मत पाएको पनि बताए । 

नेता पौडेल संयोजकत्वको उपसमितिले  स्थानीय तह निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको पनि उनले जानकारी दिए । उनका अनुसार अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई १३२ पृष्ठ लामो प्रतिवेदन बुझाएको छ । 

ad
ad