मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ज्योति मलहोत्रा
२०७९ जेठ २६ बिहीबार ०७:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पाकिस्तान–इजरायल सम्बन्धमाथि प्रश्न

Read Time : > 2 मिनेट
ज्योति मलहोत्रा
२०७९ जेठ २६ बिहीबार ०७:४९:००

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले स्विट्जरल्यान्डको डाभोसमा उपस्थित दिग्गजसामु उनको देशमा पाकिस्तानी–अमेरिकी प्रतिनिधिमण्डलसँग भेटेको खुलाए । हर्जोगको भनाइले पाकिस्तानमा बबन्डर सिर्जना गर्‍यो । सेहबाज सरिफको नेतृत्वको सरकारले प्यालेस्टाइनीलाई बेवास्ता गर्दै इजरायलसँग सम्बन्ध सुधार्न खोजेको आलोचना खेप्यो । सन् १९४८ देखि पाकिस्तानको औपचारिक नीति प्यालेस्टिनीले तिनको देश नपाएसम्म इजरायललाई मान्यता नदिने भन्ने छ । तर, भित्रभित्रै पाकिस्तानी सेना र राजनीतिक संस्थापनले दशकौँदेखि इजरायलसँग सम्बन्ध खुलाउने अनौपचारिक प्रयास गरिरहेका छन् । तर, खुला रूपमा कुनै पनि सरकारले इजरायलसँग सम्बन्ध विकास गरेर पनि प्यालेस्टाइनको समस्या समाधानमा पहल गर्न सकिन्छ भन्ने साहस देखाएका छैनन् । 

प्यालेस्टिन इतिहासको सबैभन्दा लाजमर्दो अध्यायमध्ये एक अल–जजिराकी पत्रकार सिरिन अबु–अकलेहको हत्या हो । अबु अकलेहलाई नजिकैबाट गोली हानेर मारियो र उनको जनाजा (मुस्लिम धर्मावलम्बीको मलामी) मा पनि इजरायली सैनिकले आक्रमण गरे । तर, बितेका केही वर्षमा संसार धेरै परिवर्तन भएको छ । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा बनेको अब्राहम एकर्डका कारण इजरायल र विभिन्न अरबी मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित भए । यो नयाँ विकासक्रमले अरब विश्व र यहुदी मुलुकबीच नयाँ सम्बन्ध सिर्जना गरेको छ । 

पाकिस्तान र इजरायलबीच सार्वजनिक रूपमा सम्बन्ध सुधारका प्रयास नभएका होइनन् । इमरान खान सरकारले पहिलोपटक एकजना यहुदी पाकिस्तानी नागरिक फिसेल बेन्चोल्डलाई यहुदी पूजास्थलको भ्रमण अनुमति दियो । भर्खरै इजरायली राष्ट्रपति आइज्याक हर्जोगले इजरायलमा पाकिस्तानी–अमेरिकीहरूको प्रतिनिधि मण्डललाई भेटेको खुलाए । प्रतिनिधिमण्डलमा पाकिस्तानी सरकारी टेलिभिजन पिटिभीका पत्रकार अहमद कुरेशी पनि थिए । 

विचारधाराका आधारमा दुई ध्रुवमा रहेका मुलुकबीच सम्बन्ध सामान्य बनाउनुपर्ने यथार्थ पाकिस्तानी सेना र राजनीतिक प्रतिष्ठान दुवैले बुझेका छन् । विशेषगरी पाकिस्तानको अर्थतन्त्र नाजुक छ र उसको शिरमाथि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तरबार झुन्डिएको छ । तैपनि, डाभोसमा हर्जोगको बयानपछि विपक्षी नेताहरूले सरकारविरुद्ध कडा प्रतिक्रिया दिए । इमरान खानले पाकिस्तानी–अमेरिकी प्रतिनिधिमण्डलमा कुरेसीलाई समावेश गरेर सरकारले आमजनताको प्रतिक्रिया जाँच्न खोजेको आरोप लगाए ।

ठूलो विरोधबीच सरिफ सरकारले सोमबार पत्रकार अहमद कुरेसीलाई पिटिबीबाट बर्खास्त गर्‍यो । पाकिस्तानको परराष्ट्र मन्त्रालय ‘प्यालेस्टाइनीहरूले तिनको मुलुक नपाएसम्म इजरायललाई मान्यता नदिने’ पुरानो नीति पुनः दोहोर्‍याउन बाध्य भयो । पाकिस्तानले यसो भनिरहँदा केही अरबी मुस्लिम राष्ट्र भने अगाडि बढेको देखिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुन अन्त्यमा गर्ने पश्चिम एसिया भ्रमणको अवसरमा रियाद र जेरुसेलमको पनि भ्रमण गर्दै छन् । भ्रमणमा लाल सागरका दुई टापु साउदी अरबलाई हस्तान्तरण गरिने कार्यक्रम पनि समावेश छ, जसले इजरायल–साउदी अरबको सम्बन्धमा न्यान्योपन थप्ने आशा छ । यी टापु केही समयदेखि इजरायल र इजिप्टको नियन्त्रणमा थिए ।

विभिन्न अरबी मुलुकले इजरायलसँग कूटनीतिक सम्बन्ध बनाउँदै गर्दा आर्थिक रूपमा साउदीमाथि निर्भर पाकिस्तानले रणनीतिक यथार्थलाई ध्यान दिएर इजरायलसँग सम्बन्ध बनाउला कि पुरानो आफ्नो अडानमा अडिग रहला ? 
 

पत्रकार कुरेसीले उनको इजरायल भ्रमणलाई विपक्षीले विवादमा तानेपछि इमरान खानको पार्टीको पाखण्डलाई औँल्याएका छन् । उनका अनुसार उनीसँगै इजरालय भ्रमणमा रहेका बेन्खल्दलाई इजरायल यात्रा गर्न खानकै सरकारले अनुमति दिएको थियो । उल्लेख्य के छ भने पिटिआई नेता सिरिन मजारीले सन् २००५ मा इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजको निर्देशकको जिम्मेवारीमा रहँदा उनका तत्कालीन हाकिम विदेशमन्त्री खुर्सिद कसुरीले टर्कीमा इजरायलका विदेशमन्त्रीसँग गरेको भेटघाटबारे बोल्न अस्वीकार गरेका थिए ।

टर्कीमा कसुरीले इजरायली विदेशमन्त्री सिल्भान सालोमसँग गरेको भेटघाटले २००५ मा पाकिस्तानी राजनीतिमा आँधी ल्याएको थियो । तर, कसुरीको विवादित भेटपछि त्यही वर्ष न्युयोर्कमा तत्कालीन राष्ट्रपति तथा सेनाप्रमुख परवेज मुसर्रफ र इजरायली राष्ट्रपति एरियल सेरोनबीच भेटवार्ता भएको थियो । सन् २०२० मा ककेसस क्षेत्रका दुई मुलुक आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा इजरायल र पाकिस्तानका सेना अजरबैजानका पक्षमा थिए । यस पक्षधरताका लागि पाकिस्तानको निर्णय सहज थियो, एक मुस्लिम देश भएकाले पाकिस्तानले अजरबैजानको साथ दिएको थियो । तर, इजरायलले भने इरानलाई घेर्न अजरबैजानलाई सहयोय गर्ने धेरै ठूलो रणनीतिक खेल खेलिरहेको थियो ।

इरान र इजरायलबीच भित्रभित्र छद्मयुद्ध चलिरहेको छ । पाकिस्तान लामो सिमाना जोडिएको मुलुक इरानलाई चिड्याउन चाहँदैन । तर, उसले पहिलेदेखि साउदी अरबसँग सम्बन्ध कायम गरेर इरानलाई सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ ।पाकिस्तान पछिल्लो समय साउदी अरबमाथि आर्थिक रूपमा निर्भर हुँदै गएको छ । सेहबाज सरिफले प्रधानमन्त्री भएलगत्तै रियादको भ्रमण गरेका थिए । भ्रमणमा साउदी अरबले पूर्ववर्ती इमरान खान सरकारलाई नै प्रतिबद्धता जनाएको ४.२ बिलियन डलरको विद्यमान ऋणलाई निरन्तरता दियो । साउदी युवराज मोहम्मद बिन सलमानले सम्भवतः इजरायलसँग सम्बन्ध सुधार गर्ने बाइडेनको आग्रहलाई सहमति जनाउन सक्छन् । त्यसवेला पाकिस्तान साउदी निर्णयलाई अस्वीकार गर्ने थोरै देशमध्ये एक हुनेछ । समयसँगै पाकिस्तानले रणनीतिक यथार्थ हेर्दै नैतिक सिद्धान्तलाई बलिदान देला कि आफ्नो अडानमा अडिग रहला ? पाकिस्तानले जे निर्णय लिए पनि आगामी महिना वा दिन पाकिस्तान–इजरायल सम्बन्धको उतारचढाव रोचक रहनेछ ।

द प्रिन्टबाट