१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्साको प्रवेश परीक्षामा ११ सय विद्यार्थीको उत्तरपुस्तिका रद्द

हचुवामा रद्द गरी अन्याय भएको विद्यार्थीको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५५:oo

गत चैत अन्तिम साता सञ्चालन भएको स्नातक तहको चिकित्सा शिक्षाको प्रवेश परीक्षामा झन्डै ३५ हजार विद्यार्थी सहभागी भएका थिए । तीमध्ये करिब एक हजार एक सय विद्यार्थीको उत्तरपुस्तिका रद्द भएको छ । लामो समय तयारी गरेर परीक्षा दिएका कतिपय विद्यार्थीले उत्तरपुस्तिका रद्द भएको विषय जानकारी नपाएको भन्दै न्यायका लागि अदालत पुगेका छन् । आयोगले भर्ना प्रक्रिया अघि बढाएपछि विद्यार्थीले भने सडकमा विरोध प्रदर्शनको तयारी गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले योपटक धेरै विद्यार्थीको परीक्षा रद्द भएको बताए । उनका अनुसार विद्यार्थीले रोल नम्बर लेख्न नजानेको, गलत लेखेको तथा प्रश्नपत्रको सेट नलेखेका कारण उत्तरपुस्तिका रद्द भएको हो । ‘यसपटक धेरै विद्यार्थीको परीक्षा रद्द भएको छ, चिकित्सा शिक्षा अध्ययन गर्नेको यति धेरै रद्द हुँदा दुःख लागेको छ,’ काफ्लेले भने, ‘विद्यार्थीको प्रवेशपत्र, निर्देशिका र उत्तरपुस्तिकामा लेखिएका व्यवस्थालाई समेत विद्यार्थीले पालना गरेनन्, मेसिनले उनीहरूको कपी रिड गर्न सकेन ।’ 

सेट नलेखेको, रोल नम्बर नभएको, गल्ती गरेको विषयमा धेरै छलफल भएको र लोकसेवा आयोगमा समेत यस्ता उत्तरपुस्तिका रद्द हुने भएकाले आयोगले सोही व्यवस्था गरेको उनले बताए । विद्यार्थीको त्रुटि आयोगले सच्याउँदा भोलि विद्यार्थीको उत्तरका विषयमा समेत प्रश्न उठ्ने भएपछि आयोगले रद्दको निर्णय गरेको उनको भनाइ छ । विद्यार्थीले परीक्षाको नियमअनुसार प्राविधिक प्रक्रिया पूरा नगरेकाले कम्प्युटरले पढ्न नसकेको र विद्यार्थीले प्रक्रिया पूरा नगरेकालाई स्वीकार नगरेको उनले बताए । सदस्य–सचिव काफ्लेले विद्यार्थीले पुस्तक र विषयवस्तु रटान मात्र नगरी विधि र प्रक्रियामा सचेत रहनुपर्ने पक्षलाई ध्यान दिनुपर्ने बताए ।

परीक्षा रद्द भएका विद्यार्थी आफूहरूको नतिजा सार्वजनिक हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका छन् । विद्यार्थीहरूले आफ्ना उत्तरपुस्तिका परीक्षण गरी नतिजा निकाल्न माग गर्दै सर्वोच्च पुगेका थिए । अदालतले आयोगलाई समेत छलफलमा बोलाएको थियो । विद्यार्थीहरूले अदालतले प्रमाणसहित बोलाएको, तर आयोगले भर्ना प्रक्रिया सुरु गरेको गुनासो गरेका छन् । अदालतमा रिट दायर भए पनि भर्ना प्रक्रिया रोक्न नभनेका कारण काम अघि बढेको आयोगको भनाइ छ । विद्यार्थीले गरेको गल्ती सच्याएर नतिजा निकाल्न सुरु गरेमा फेरि अर्को समस्या आउने आयोगका एक अधिकारीले बताए । सर्वोच्च अदालतमा यो रिट धेरैपटक ‘हेर्न नभ्याइने’ मा परेको छ । 

 कारण नै जानकारी नपाएको विद्यार्थीको गुनासो
प्रवेश परीक्षाको नतिजा किन रद्द भयो भन्ने विषयमा समेत धेरै विद्यार्थीले जानकारी नपाएको गुनासो गरेका छन् । चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिएका सुरज यादवले चिकित्सा शिक्षा आयोगले अदालतमा छलफल नगरी भर्ना प्रक्रिया सुरु गरेको बताए । वर्षौंदेखि गरेको मिहिनेत खेर जान नदिन आफूहरू अदालत पुगिसकेको र अब सडकसम्म पुग्ने उनको भनाइ छ । ‘मेरो गल्ती के हो भन्नेसमेत मैले थाहा पाएको छैन,’ उनले भने, ‘मैले अघिल्लो वर्ष पहिलोपटक प्रयास गर्दा नै ५० प्रतिशतभन्दा माथि आएको थियो, अहिले सबै लेखेको थिएँ ।’ एमबिबिएस, बिडिएसलगायतका कार्यक्रम अध्ययन गर्ने चाहनामा बाधा सिर्जना भएको उनले बताए । केही वर्षयता चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै कार्यक्रमको एकीकृत प्रवेश परीक्षा लिने गरेको छ ।

ad
ad