मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Monday, 16 December, 2024
२o७९ जेठ २३ सोमबार o७:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माडीको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार o७:२६:oo

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने माडी नगरपालिका–९ को बाँदरझुलालाई छुट्टै वडा बनाइने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले माडीको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा बनाउने निर्णय गरेको हो । जनसंख्या र भूगोलसँगै स्थानीयको समस्याका आधारमा बाँदरझुलालाई वडा नम्बर १० बनाउने निर्णय गरिएको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । ‘जंगलको बीच र सीमावर्ती क्षेत्रमा रहेको यो ठाउँलाई छुट्टै वडा बनाए जनताले आफैँले आफ्नो ढंगको विकास र पूर्वाधार निर्माण गर्थे । उहाँहरूको माग पनि त्यही छ । भौगोलिक हिसाब फरक भएकाले फरक वडा नै बनाएर लैजाँदा सहज हुन्थ्यो कि भन्ने हो,’ उनले भनिन् । 

कार्यपालिका बैठकले गरेको यो निर्णयलाई १० असारसम्म नगर सभाबाट पारित गरेर संघीय मन्त्रिपरिषद् बैठकमा पेस गरिने महतोले बताइन् । मन्त्रिपरिषद्ले पनि यो विषयलाई सदर गरेमा यसअघि नौ वडा रहेको माडीमा १० वडा हुनेछन् । बाँदरझुलासहित कृष्णानगर, बगैईं, प्याउली, गणेशकुञ्ज, गोविन्दबस्तीलगायत क्षेत्र अहिले वडा नम्बर ९ मा पर्छन् । बाँदरझुलामा ०४८ देखि बस्ती बस्न सुरु भएको थियो । अहिले बाँदरझुलामा सात सय ५० घरधुरी छन् । त्यहाँको जनसंख्या झन्डै चार हजार रहेको माडी नगरपालिका विपत् व्यवस्थापन स्रोत व्यक्ति गोविन्द न्यौपानेले जानकारी दिए ।

 आफ्नो जीवनकालमा लालपुर्जा हात पर्ने आस मारिसकेका यहाँका जनता लालपुर्जा पनि पाउने र छुट्टै वडा बन्ने चर्चाले खुसी देखिएका छन् । नापी कार्यालयका अधिकृतले यहाँको जग्गा फिल्डमै पुगेर नापजाँच गरिसकेको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले बताए । अहिले बसोवास भएको र भोगचलन गरेको जग्गा छुट्याउने काम सकिएको उनले बताए । भूमि आयोगले लालपुर्जा दिनेमा आशावादी रहेको कार्यपालिका सदस्य राजकुमार प्रजाले बताए । भरतपुरबाट करिब ८६ किलोमिटर दक्षिण–पूर्वका बाँदरझुलावासीले वर्षौंदेखि लालपुर्जाका लागि संघर्ष गर्दै आएका थिए । निकुञ्जले अतिक्रमित क्षेत्र भनेर विकास निर्माणको काममा रोक लगाउँदा यहाँ ठूला विकासे परियोजना, भवन, बाटो निर्माणका काम निर्बाध हुन सकेका छैनन् । किसानले ट्र्याक्टर लगाएरसमेत बारी जोत्न पाउँदैनन् । बस्तीमा बिजुली पुग्न सकेको छैन । बाँदरझुलामा चेपाङ, जनजाति तथा दलित बसोवास बढी छ । 

संघीय निर्वाचनमा पार्टी एकीकरणको नारा बोकेर माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली माडी पुगेर एउटै मञ्चबाट बाँदरझुलावासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसपछि बनेको ओली सरकारले तीन वर्षसम्म कुनै सम्बोधनसमेत गरेन । यो ठाउँ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट संघीय सांसद माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् । ओलीले प्रचण्डसँगको दूरीपछि माडीलाई रामको जन्मभूमिको नाराले उचाले । त्यसपछि बाँदरझुलालाई नुमानझुलाका रूपमा प्रचार गर्न खोजिएको छ ।