
कोवाङमा ल्याइएका १२ जनाको शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडाैं पठाउने तयारी
मुस्ताङको थासाङ गाउँपालिका– २ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।
विमानमा सवार २२ जनाकै शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौं पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ ।
दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।
कोवाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडाैं पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घन्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार दुई सय मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घन्टा उकालो हिँड्नुपर्छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुकाएकाहरूको शव संकलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बाग्लुङको बडिगाड गाउँपालिका– ७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए ।