मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १६ सोमबार ११:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश

उदयपुरवासीले पाँच दशकदेखि देखेको सपना बल्ल साकार हुँदै

Read Time : > 1 मिनेट
२०७९ जेठ १६ सोमबार ११:०२:००

चर्चा सुरु भएको पाँच दशकपछि उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल बजेटमा समावेश भएको छ । त्रियुगा नगरपालिका १ र २ मा प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल पहिलोपटक बजेटमा समावेश भएको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल निर्माण गरिने घोषणा गरे ।

विमानस्थल निर्माण अध्ययनका लागि गठन गरिएको प्रारम्भिक अध्ययन समितिका कोषाध्यक्ष रुद्र अधिकारीले पाँच दशकपछि नै भए पनि बजेटमा परियोजना परेको सुनेर खुसी लागेको बताए । ‘प्रस्ताव गरिएको पाँच दशकपछि आज आगामी आर्थिक वर्षको बजेट भाषणमा सगरमाथा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरिने कुरा सुनेर ज्यादै खुसी लागेको छ,’ अधिकारीले भने, ‘अब विमानस्थल बन्ने आशा पलाएको छ ।’ 

उदयपुरमा विमानस्थल बनाउने चर्चा ४९ वर्षअघिबाट सुरु भएको थियो । केही समयअघि विमानस्थलको काम अघि बढाउने भन्दै वन क्षेत्रमा रूख कटानका लागि छपानसमेत भएको अधिकारीले बताए । यसअघि सगरमाथा विमानस्थल चुनावी नारा मात्र बन्ने गरेको थियो । विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ भने प्रारम्भिक प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिसकिएको छ । केहीअघि रूख कटानको काम सुरु गर्ने भनिए पनि बजेट अभावले अघि बढ्न सकेको थिएन । प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकन हुनुभन्दा अगाडि तीन अलग–अलग ठाउँमा तीनपटक सारेर शिलान्यास गरिएको थियो । हाल सो विमानस्थल त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा निर्माण गर्ने भनिएको छ ।

जोगिदहमा बर्खामा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने भएकाले निर्माण गर्न उपयुक्त हुने प्राविधिक प्रतिवेदनले ठहर गरेको छ । प्रस्तावित डिजाइनमा एक हजार सात सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाइ रहेको धावनमार्ग, ७२ मिटर लम्बाइ र १८ मिटर चौडाइ रहेको ट्याक्सी वे, चार सय ४३ मिटर लम्बाइ र १८ मिटर चौडाइ रहेको अर्को ट्याक्सी वे रहने गरी डिजाइनको प्रस्ताव गरिएको छ ।