१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Friday, 09 May, 2025
आइतबार सम्पर्कविहीन भएको तारा एयरलाइन्सको विमान । फाइल तस्बिर
२o७९ जेठ १६ सोमबार o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

भेटिएन सम्पर्कविहीन तारा एयरको विमान

विमानको जिपिएसले छाडेको अन्तिम सिग्नल, एनटिसी सिमले देखाएको लोकेसन र भेडागोठालाहरूले दिएको सूचनाअनुसार मानापाथी हिमालको फेदीमा दुर्घटना भएको आशंका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार o६:१८:oo

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन तारा एयरको विमान साँझसम्म खोज्दा पनि भेटिएन । चालक दलका तीन सदस्यसहित २२ जना सवार विमान सम्पर्कविहीन भएपछि नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेको थियो । साँझसम्म यकिन नभएपछि सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिने तयारी छ । 

पोखरा विमानस्थलबाट बिहान ९:५५ मा उडेको कल साइन ‘९ एन–एइटी’ विमान १०:०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । सकुशल उडान भएको भए १०:१५ मै जोमसोममा अवतरण हुन्थ्यो । सामान्यतः पोखरा–जोमसोम हवाई यात्रा १८ देखि २० मिनेटको मात्रै हो । विमानको जिपिएसले छाडेको अन्तिम सिग्नल, विमानमा रहेकाहरूको मोबाइल सिम ट्र्याकिङमा देखिएको लोकेसन तथा स्थानीय भेडागोठालाहरूले दिएको सूचनाअनुसार म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ । 

‘विमानको जिपिएसले छाडेको अन्तिम सिग्नल तथा चालक दलका सदस्य र यात्रुको मोबाइल ट्र्याकिङ गर्दा मानापाथी हिमालको फेदीवरिपरिसम्म लोकेसन देखिएको छ । त्यही आसपास दुर्घटना हुन सक्ने आशंकामा खोजी सुरु भएको छ,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले भने, ‘साँझसम्म केही ठाउँमा खोजी गर्दा भेट्न सकिएन । संकेत गरिएको ठाउँसम्म पुग्न मौसमको खराबी र हाई अल्टिच्युडका कारण सम्भव भएन । साँझ परेपछि खोजी रोकिएकाले भोलि बिहानैबाट पुनः खटिने तयारी छ ।’ दुर्घटना संकेत गरिएको क्षेत्रमा पुग्न म्याग्दीको नारच्याङबाट हिँडेर आठ घन्टाभन्दा बढी समय लाग्ने उनले बताए । 

सेना, प्रहरीसँगै रेस्क्यु टोलीका १६ जना पोखराबाट सेनाको एमआई हेलिकोप्टरमा उद्धारमा खटिएका छन् । दिउँसो १ बजेपछि उद्धारमा निस्किएको यो टोलीले मौसम प्रतिकूलका कारण धेरै समय खोजी गर्न सकेन । कुहिरो र हुस्सुले समस्या भएपछि फर्किएको यो टोली जोमसोममा छ । उता सेनाको ६० जनाको एउटा टोली पैदलै घटनास्थलतर्फ गएको छ । ६० जनाको सैनिक टोली दुर्घटना भएको आशंका गरिएको स्थानभन्दा करिब दुई घन्टा नजिकको दूरीसम्म पुगेको पोखराको विजयपुरस्थित पश्चिम कमान्डका प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले बताए । 

‘हेलिकोप्टरमा गएको उद्धार टोलीले मौसम प्रतिकूलताका कारण खासै खोजी गर्न सकेन । बाक्लो हुस्सु र कुहिरो लागेकाले समस्या भयो । पैदल गएको सेनाको ६० जनाको टोली दुर्घटना भएको आशंका गरिएको स्थानभन्दा करिब दुई घन्टा नजिकको दूरीसम्म पुगेको छ । रात परेपछि टोली सुरक्षित स्थानमा वास बसेको छ,’ उनले भने, ‘सोमबार बिहानैदेखि पैदल र हवाईमार्गबाट खोजी हुन्छ । हेलिकोप्टरबाट जाने टोलीलाई पनि डोरी लगाएर तल झारेर आशंका गरिएको स्थानमा खोज्ने तयारी छ । ’ स्थानीय भेडागोठालाहरूले पनि मानापाथी हिमाल फेदीमा विमान दुर्घटना भएको सूचना दिएको उनले बताए । नेपाली सेनाको बाहेक फिस्टेल र डाइनेस्टी एयरको हेलिकोप्टर पनि खोजी र उद्धारमा खटिएका छन् । ताराको सम्पर्कविहीन विमानभन्दा अघि पोखराबाट बिहान ९ः३० बजे समिट एयरको दुई विमानले जोमसोमको सकुशल उडान भरेका थिए । त्यस्तै, समिटको एक विमान जोमसोमबाट पोखरा आएको थियो । 


पोखरा विमानस्थलमा दिनभर भिड
विमान सम्पर्कविहीन भएको खबर सुनेपछि पोखरा विमानस्थलमा दिनभर भिड लागेको थियो । हराएको विमानका यात्रु भने कास्कीबाहिरका भएकाले उनीहरूका परिवार तथा आफन्त विमानस्थलमा देखिएनन् । यात्रुका केही साथीभाइ विमानस्थलमा बुझ्न आएका थिए । तीमध्ये केही रोइरहेका थिए । पोखरा–जोमसोम दिनमा १५–१५ उडान हुँदै आएकोमा आइतबार सम्पर्कविहीन भएकोसहित जाने तीन र आउने एक गरी जम्मा चार उडान मात्रै भए । बाँकी १३ उडानमा जोमसोम जान आएका यात्रुका कारण पनि विमानस्थलमा भिड लागेको थियो । 

यी हुन् विमानमा सवार
विमानमा चालक दलका सदस्यहरू पाइलट प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा सवार थिए । त्यस्तै, यात्रुहरू इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, वैभवी बान्डेकर, युवी विल्नर र मेइक ग्रिटग्राफ थिए । १९ यात्रुमा १३ नेपाली, दुई जर्मन र चार भारतीय छन् । 

पोखरा–जोमसोम  उडानका ती दुई दुर्घटना, ६ वर्षअघि तारा एयरकै विमान दुर्घटना
१२ फागुन ०७२ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कल साइन ‘९ एन–एएचएच’ विमान दुर्घटनामा परेको थियो । उडेको १० मिनेटमै सम्पर्कविहीन भएको विमान म्याग्दीको तत्कालीन दाना गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त दुर्घटनामा चालक दलका तीन सदस्य र २० यात्रु गरी २३ को मृत्यु भएको थियो । 

 १० वर्षअघि दुर्घटनामा परेको थियो अग्नि एयर 
१ जेठ ०६९ मा जोमसोमका लागि पोखराबाटै उडेको ‘९ एन–एआइजी’ विमान पनि दुर्घटना भएको थियो । जोमसोम विमानस्थलनजिकै मुस्ताङको तत्कालीन मार्फा गाविस– ५ मा पर्ने डाँडामा ठोक्किएर भएको दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । ६ जना घाइते भएका थिए ।