
आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमुनि दुर्घटना भएको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता नारायण सिलवालले हिमालको फेदमुनि रहेको गहिरो ठाउँमा जहाज दुर्घटना भएको खबर स्थानीयबाट प्राप्त भएको जानकारी दिए।
‘स्थानीयले मानापाथी हिमालमुनि दुर्घटना भएको खबर हामीलाई दिएका छन्। हाम्रो टोली त्यहाँ अझै पुगेको छैन,’ सिलवालले नयाँ पत्रिकासँग भने। सेनाको फौज त्यस क्षेत्रमा जाँदै गरेको उनले जानकारी दिए।
उक्त ठाउँ मुस्ताङको कोभाङबाट चार घन्टा पैदल हिँडेपछि पुगिन्छ। आइतबार पोखराबाट जोमसोमका लागि छुटेको तारा एयरको जहाज बिहान १०ः७ बजेदेखि सम्पर्कविहीन भएको थियो।