लिपुलेकको चासो चिन्ता राख्ने सरकार हराएको छ
सिमानामा पहरेदार नागरिकको घरबार हराएको छ ।
नेतृत्व नै लम्पसार परेर कानमा तेल हालेर बसेपछि
राष्ट्रियता जोगाऊँ भन्ने नागरिकको आधार हराएको छ ।।
दार्चुलामा पहिलोपटक आयोजना भएको बृहत् साहित्य महोत्सवमा विमोचित मुक्तक संग्रह ‘छुटेका यादहरू’बाट लिएको पंक्ति हो यो । देश–विदेशमा दार्चुलाको साहित्य र संस्कृति चिनाउने उद्देश्यले दुई दिन चलेको साहित्य महोत्सवमा देशभरबाट कविहरूले आफ्ना सिर्जनामार्फत सदरमुकाम खुलामञ्चको रौनक बढाएका छन् ।
ताराकिशन फान्डेन इन कर्पोरेसनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा दार्चुलामा सहित्य महोत्सव भएको हो । साहित्यको दायरा सुदूरपूर्वमा मात्र नभई सुदूरपश्चिमसम्म पनि खोज्ने अभियानका साथ महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ ।
शनिबार सकिएको साहित्य महोत्सवको पहिलो दिन शुक्रबार कविता, गजल, मुक्तक वाचन गरिएको थियो । यस्तै, लेखकद्वय नरेन्द्र बडाल र लोकेन्द्र बमले मुक्तक संग्रह ‘छुटेका यादहरूबाट’ मुक्तक वाचन गरेका थिए ।
नाभी, गुञ्जी र कुटी वर्षौंवर्षदेखि रोइरहेछन्
लिपुलेक लिम्पियाधुरा रातदिन आँखा धोइरहेका छन् ।
कालापानीको विलापले मुक्तिका लागि तम्सिएका
नेपाली आमाका सच्चा सपुतहरूको मन छोइरहेको छ ।।
जिल्लाको संस्कृतिले आगन्तुक कवि, समालोचक र प्राध्यापकहरूको मन छोएको छ । लिम्पियाधुरा नजिकैका बस्ती रहेको व्यासी सौका समुदायले परम्परागत पहिरनसहित झाँकी प्रस्तुत गरेका थिए ।
उपन्यासकार निलम कार्की निहारिकाले व्यासीहरूको पहिरन र संस्कृति मौलिक भएको बताइन् । ‘सीमाक्षेत्रका सच्चा पहरेदारका रूपमा रहेका व्यासी साैँका समुदायको पहिरन र उनीहरूको भाषा संस्कृति अन्य समुदायको भन्दा फरक छ । छुट्टै मौलिक पहिचान बनाएका उनीहरूको संस्कृतिलाई जिल्लामा मात्र नभई काठमाडौँसम्म पुर्याएर ब्रान्ड बनाउनुपर्छ,’ निहारिकाले बताइन् ।
दार्चुलाको संस्कृतिले काठमाडौं झकझकाउनुपर्छ : मल्ल
नाटककार आशेष मल्लले दार्चुलाको संस्कृतिले अब काठमाडौँ झकझाउनुपर्ने वेला भएको बताए । उनले भने, ‘पर्यटक भित्र्याउन यहाँको भर्जिन संस्कृति बिक्री गर्नुपर्छ । त्यसका लागि यस्ता साहित्य सम्मेलन जिल्लामा मात्र नभई काठमाडौँमा प्रस्तुत हुने वातावरण बनाउनुपर्छ ।’
दार्चुलाको व्यासी सौका समुदायको संस्कृति हेर्न र बुझ्नलायक छ । दुहुँको सरौ होस् या व्यासीको छलिया नाच यहाँको प्रमुख विशेषता हुन् । जिल्लाको संस्कृतिको संरक्षण र पहिचान गर्न यहाँका महिला अग्रसर रहेको प्राध्यापक डा. लक्ष्मण गौतमले बताए ।
प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले यहाँको कला संस्कृति जगेर्ना गर्न सके मात्रै पर्यटक भित्र्याउन सकिने बताए । ‘दार्चुलाजस्तो सुन्दर ठाउँमा लुकेको संस्कृतिलाई अब बाह्य देशसम्म पुर्याउनतिर लागौँ,’ उनले भने ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले सुदूरपश्चिमको संस्कृति पहिचान गराउन सक्दो प्रयास गरिरहेको बताए । ‘यहाँको संस्कृति र साहित्य चिनाउने हाम्रो प्रयास निरन्तर छ,’ उनले भने ।
सुदूरपश्चिमभित्र पनि दार्चुलाको संस्कृति र साहित्य मौलिक छ । काठमाडौँबाट टाढा लाग्ने दार्चुलामा देखिएका नयाँ–नयाँ संस्कृति र साहित्यले पूर्वबाट आएकाहरूको मन त जित्यो । आयोजक संस्थाले दार्चुलाको साहित्य र संस्कृतिलाई अमेरिकासम्म पुर्याउने योजना बनाएको छ । साहित्य महोत्सवमा श्रीओम श्रेष्ठ, ज्ञानु अधिकारी, निलम कार्की, गोपीकृष्ण ढुंगानालगायत प्राज्ञिक व्यक्तिले आफ्नो प्रस्तुति राखेका छन् ।
व्यासी सौका समुदायको झाँकी, दुहु र व्यासीको सरौ नाच, महाकाली नगरपालिकाको गौरापर्वको नाच, मालिकार्जुनको दमाहा बाजा, छलिया नाचलगायत महोत्सव निकै आकर्षक भएको थियो ।
देशभरका साहित्यकार, पत्रकार र कविहरूको दार्चुलामा भएको भेलाले दार्चुलाको वर्णन पुनः कलमको मसीले लेखाउनेमा जिल्लावासी मात्र होइन, कार्यक्रमका सहभागी पनि आशावादी छन् । त्यसैले त भनिएको छ–
कलमको खिया पखालेर लेख्ने वेला आएको छ
काठमाडाैँले कालापानी देख्ने वेला आएको छ ।
खोसी नै लागेको भूमिबाट दुस्मनहरू हटाएर
आफैँ धर्तीमा पाइला टेक्ने वेला आएको छ ।।