१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमबिबिएस अन्तिम वर्षका विद्यार्थीको अनिवार्य प्रयोगात्मक सिकाइविना नै परीक्षा लिँदै त्रिवि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५२:oo

दुई महिना बिरामीको उपचारमा खटिएर सिक्नुपर्ने विद्यार्थीलाई एक–दुई हप्ता मात्रै क्लिनिकल पोस्टिङ गराएर परीक्षा लिने तयारी

त्रिभुवन विश्वविद्यालयले एमबिबिएस अन्तिम वर्षका विद्यार्थीको अनिवार्य सिकाइअन्तर्गत क्लिनिकल पोस्टिङ नै पूरा नगरी परीक्षा लिने तयारी गरेको छ । त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालयले महाराजगन्ज क्याम्पसका ७२ विद्यार्थीलाई मात्र हेरेर अन्य झन्डै आठ सय विद्यार्थीको सिकाइमाथि खेलबाड गर्दै परीक्षाको तयारी गरेको हो । 

एमबिबिएस अन्तिम वर्षका विद्यार्थीले अनिवार्य क्लिनिकल पोस्टअन्तर्गत दुई महिना बिरामीको उपचारमा खटिएर सिक्नुपर्ने हुन्छ । तर, आइओएमले यस्तो सिकाइबाट नै वञ्चित गरेर परीक्षाको तयारी गरेको छ । डिन कार्यालयले साउनमा परीक्षा गर्न सूचना सार्वजनिक गरेपछि अन्य मेडिकल कलेजले साउनसम्म तोकेको क्लिनिकल पोस्टिङ नै घटाएर परीक्षाको तयारी थालेका छन् । उनीहरू एक–दुई हप्ता मात्रै सिकाइमा सहभागी हुन पाए । यस्तो निर्णयबाट महाराजगन्ज क्याम्पसबाहेक अन्य सबै मेडिकल कलेजमा अध्ययनरत झन्डै आठ सय विद्यार्थीले प्रयोगात्मक विषय सिक्न नपाएको गुनासो छ । 

आइओएम डिन प्रा.डा.दिव्या सिंह शाह भन्छिन्–क्यालेन्डरअनुसार परीक्षा हुन्छ

अघिल्ला वर्ष पाँचवर्षे कार्यक्रमलाई ६ देखि साढे ६ वर्षसम्म लागेकाले अहिले शैक्षिक क्यालेन्डरअनुसार परीक्षाको तयारी गरिएको हो । पोस्टिङ नभएको विषयमा सम्बन्धित कलेजलाई सोध्नुपर्छ । क्यालेन्डर सबैसँग छलफल गरेर नै बनाइएको हो ।

‘हाम्रो शैक्षिक पाठ्यक्रमअनुसार एक विषयमा ६ हप्तासम्म हस्पिटलमा क्लिनिकल पोस्टिङ हुनुपर्छ । क्रेडिट आवर कम भएका विषयमा थोरै पनि हुन सक्छ,’ एक विद्यार्थीले भने, ‘कुनै कलेजमा क्रेडिट आवर धेरै भएको विषयमा समेत एक हप्ता पोस्टिङ गरेर सकाएको छ, यसले गुणस्तरमा असर गर्छ ।’

किस्ट, आर्मी, केएमसीलगायत त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा भर्खरै पोस्टिङ भइरहेको थियो । केहीले साउनसम्मका लागि पोस्टिङको तालिका बनाएका थिए । बालरोगसम्बन्धी विषयमा ६ हप्ता क्लिनिकल पोस्टिङ हुनुपर्ने आर्मी मेडिकल कलेजका विद्यार्थीले पनि एक हप्ताजति मात्रै काम गर्न पाए । 

महाराजगन्ज क्याम्पसले कोभिड महामारीका वेला एक महिना पोस्टिङ गरेको र त्यसैलाई आधार बनाएर आफूहरूले कोर्स सक्न नपाउँदै परीक्षाको सूचना निकालेको अन्य कलेजका विद्यार्थीको गुनासो छ । उनीहरूले आइओएमविरुद्ध चिकित्सा शिक्षा आयोगमा उजुरीसमेत दिएका छन् । आफूहरू अन्यायमा परेको विषयमा कलेजसमेत चिन्तित भए पनि महाराजगन्जसँग द्वन्द्व हुने भएकाले खुलेर बोल्न नसकेको पाँचौँ वर्षका विद्यार्थी बताउँछन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाह भने शैक्षिक क्यालेन्डरअनुसार नै परीक्षा गर्न लागिएको दाबी गर्छिन् । ‘अघिल्ला वर्ष पाँचवर्षे कार्यक्रमलाई ६ देखि साढे ६ वर्षसम्म लागेकाले अहिले शैक्षिक क्यालेन्डरअनुसार परीक्षाको तयारी गरिएको हो,’ उनले भनिन्, ‘पोस्टिङ नभएको विषयमा सम्बन्धित कलेजलाई सोध्नुपर्छ । क्यालेन्डर सबैसँग छलफल गरेर नै बनाइएको हो ।’ तर, आइओएमले विगतमा पनि महाराजगन्ज क्याम्पसका विद्यार्थीको आवश्यकताअनुसार अरूलाई बेवास्ता गरेर काम गर्ने गरेको पीडित विद्यार्थीको गुनासो छ । अरू कलेजका विद्यार्थीले कोर्स सकाउँदा र महाराजगन्जमा समयमा नसकिँदा तेस्रो वर्षमा एक वर्षको कार्यक्रम सकाउनै दुई वर्ष लागेको विद्यार्थीले बताए । 

चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको उजुरी

पीडित विद्यार्थीले क्लिनिकल पोस्टिङ नसकाई परीक्षा लिन लागेको भन्दै आइओएमविरुद्ध चिकित्सा शिक्षा आयोगमा उजुरी गरेका छन् । ‘हामी किस्ट मेडिकल कलेजको पोस्टिङ साउनसम्म रहेको, आर्मी र गण्डकी मेडिकल कलेजको असारसम्म, युनिभर्सल मेडिकल कलेजको असारसम्म रहेको जानकारी गराउन चाहन्छौँ,’ समस्या समाधानका लागि आग्रह गर्दै आयोगका उपाध्यक्षलाई लेखेको पत्रमा विद्यार्थीले भनेका छन्, ‘शैक्षिक मापदण्डअनुसार महाराजगन्ज मेडिकल कलेजबाहेक अन्य सबै कलेजको असारसम्म पोस्टिङ रहेको, तर नसकिँदै परीक्षा साउनमा तोकिएकाले यो निवेदन पेस गरेका छौँ ।’ महाराजगन्ज क्याम्पसको पनि क्रेडिट आवर नै नपुगी परीक्षा लिन लागेको भन्दै अदालतमा रिट हाल्ने तयारीसमेत गरेका छन् । 

ad
ad