१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ८ आइतबार ०८:२०:००
Read Time : > 3 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको उदय

Read Time : > 3 मिनेट
२०७९ जेठ ८ आइतबार ०८:२०:००

१३ मध्ये चार स्थानीय तहमा जित निकाल्दै बन्यो पहिलो दल

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा सानदार जित हासिल गरेको छ । सत्तारूढ गठबन्धनका उम्मेदवारलाई हराउँदै नागरिक उन्मुक्तिले दुई नगरपालिकासहित चार पालिकाको नेतृत्व जितेर कैलालीमा सबैभन्दा बढी पालिका जित्ने पार्टी बनेको छ । 

टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । टीकापुरबाहेक तीनै तहको उपप्रमुख नागरिक उन्मुक्तिले नै जितेको छ । 

कानुनी व्यवधानले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएका रेशमले श्रीमती रञ्जिता श्रेष्ठको नाममा गत माघमा निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । ०७४ को निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली १ अन्तर्गतका सबै पालिकामा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीले जितेका टीकापुर र जोशीपुर पूरै तथा भजनी र जानकीका केही वडा क्षेत्र नम्बर १ अन्तर्गत पर्छन् । यी थारू बहुल भएका पालिका हुन् । 

टीकापुर नगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनलाई तीन हजार मतान्तरले हराउँदै नागरिक उन्मुक्तिका रामलाल डगौरा थारू विजयी भए । थारू नौ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत प्राप्त गरे । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह सात हजार ९५५ मत पाएर विजयी भए । नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मा सात हजार ८०२ मत पाएर पराजित भइन् । टीकापुरका नौमध्ये नागरिक उन्मुक्तिले दुई वडा जितेको छ ।

जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । गठबन्धनबाट कांग्रेसका र बन्सराम बडायकलाई चौधरीले एक हजार ५३५ मतको अन्तरले हराए । चौधरीले चार हजार ९०३ र बडायकले तीन हजार ३६८ मत पाए । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया चार हजार ५८१ मत ल्याएर विजयी भइन् । माओवादी केन्द्रका दीर्घराज बिनाडी तीन हजार ९६१ मत पाएर पराजित भए । जोशीपुरका सातमध्ये चार वडामा नागरिक उन्मुक्तिका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

भजनी नगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध तीन हजार ७६८ मतान्तरले केवल चौधरी मेयरमा निर्वाचित भए । उनले आठ हजार ९६६ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका शेरबहादुर चौधरीले पाँच हजार १९८ मत प्राप्त गरे । उपमेयरमा नागरिक उन्मुक्तिकै राजु तिरुवा सात हजार ६२२ मत पाएर विजयी भइन् । कांग्रेसका गोकेन्द्र भण्डारी चार हजार ४९० मत पाएर पराजित भए । भजनीका नौवटा वडामध्ये नागरिक उन्मुक्ति पार्टीले तीन वडा जितेको छ । 

जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै गणेश चौधरी र उपाध्यक्षमा लालमती रावत विजयी भए । चौधरीले सात हजार १५१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत पाए । उपाध्यक्षमा निर्वाचित कठरियाले ६ हजार ५६२ र निकटतम् प्रतिस्पर्धी एमालेकी गीता चौधरीले चार हजार ८५८ मत पाइन् । जानकीमा नागरिक उन्मुक्तिले नौमध्ये पाँच वडा जितेको छ ।

१३ वटा पालिका रहेको कैलालीमा कांग्रेसले तीन, एमाले र माओवादीले दुई–दुई र एकीकृत समाजवादीले एक स्थानीय जितेका छन् । अन्तिम मतपरिणाम आउन बाँकी रहेको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित छ ।

के थिए चुनावी मुद्दा ?
संविधान जारी हुनुअघि ०७२ भदौमा थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लियो । घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाए । टीकापुर क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम घटना भएपछि फरार भए । उनीसहितलाई अभियुक्त बनाएर अदालतमा मुद्दा चल्यो । रेशम भने फरार अवस्थामै ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरीसहित आठजनालाई जन्मकैदको सजाय भएको छ । 

घटनाको दोस्रो दिन टीकापुर क्षेत्रमा थारू समुदायका केही घरमा तोडफोड र आगजनी भयो । घटनापछि कैलालीको पूर्वी क्षेत्रमा थारू र पहाडी समुदायबीचको सामाजिक सद्भाव खलबलियो । थरुहट पक्षले अधिकारको आन्दोलनका क्रममा भएको घटना निर्दोषलाई जेल हालिएको भन्दै विरोध गर्दै आएको छ । टीकापुर घटना राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्ने उसको तर्क छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई प्रमुख चुनावी मुद्दा बनाएको थियो । रेशमकी पत्नी अञ्जिताले आफ्ना श्रीमान् र टीकापुर घटनामा जेलमा रहेका थारू समुदायका व्यक्तिको न्यायका लागि भन्दै अनुनय गरिन् । टीकापुर घटनाको ‘न्यायका लागि एक मत’ भन्ने नाराले व्यापकता पायो । यही मुद्दाले नागरिक उन्मुक्ति पार्टीलाई ठूलो सफलता मिलेको धेरैको बुझाइ छ ।

टीकापुरका नागरिक अगुवा भीमराम चपाई नागरिक उन्मुक्तिको जितमा रेशमसँग जोडिएको मुद्दाले थारू, पछि परेका जानजातिका मतदातालाई भावनात्मक रूपमा आकर्षित गरेको ठान्छन् । ‘बाटो, बिजुली, शिक्षा, स्वास्थ्यजस्ता विकासभन्दा पहिचानको आन्दोलनमा हामीमाथि अन्याय भयो भन्ने प्रमुख मुद्दा थियो । रेशमजीसँग जोडिएको भावनाको विषय पनि भयो,’ चपाईले भने, ‘पहिचानको मुद्दाले पछि परेको वर्गलाई पनि जोड्यो ।’ नागरिक उन्मुक्तिले थारू समुदायका मत मात्रै पायो भन्न नमिल्ने उनको भनाइ छ । पार्टीका कमिटीहरूमा दलित, पहाडी मूलका व्यक्तिलाई पनि जिम्मेवारी दिइनुले पहाडी समुदायको मत पनि नागरिक उन्मुक्तिलाई तान्न सजिलो भएको चपाईको बुझाइ छ ।

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर पनि टीकापुर घटनाको मुद्दाले बहुसंख्यक थारू समुदायलाई आकर्षित गरेको हुन सक्ने बताउँछन् । पार्टी गठन भएको छोटो समयमै ठूलो उपलब्धि हासिल गर्नुमा पार्टीको नीति, सिद्धान्त, चुनावमा उठाएका विकासका मुद्दाभन्दा भावनात्मक विषयले प्रधानता पाएको देखिएको उनको बुझाइ छ । ‘टीकापुर घटनामा रेशम चौधरीसहित थारू समुदायका केही व्यक्ति जेलमा छन् । उनीहरूको मुक्तिका कुरा उहाँहरूले उठाउनुभयो । यसले बहुसंख्यक थारू समुदायलाई भावनात्मक रूपमा आकर्षित गरेको देखिन्छ,’ कुँवरले भने, ‘टीकापुर घटनाको सहानुभूतिले मतदातालाई आकर्षित गर्‍यो ।’ निर्वाचन आयोगले गत १८ माघमा नागरिक उन्मुक्ति पार्टी दर्ताको प्रमाणपत्र दिएको थियो । यो पार्टीले कैलालीका ११ तहमा उम्मेदवार उठाएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले ०७४ र अहिलेको चुनावमा व्यक्त जनमतले रेशम दोषी होइनन् भन्ने देखाएको बताइन् । चुनावमा आफ्नो पार्टीले टीकापुर घटनालाई प्रमुखताका साथ उठाएको, तर जातीयताका आधारमा चुनाव जित्यो भन्नु गलत भएको उनको भनाइ छ । टीकापुर घटनामा थारू समुदायमाथि अन्याय भएको र निर्दोषलाई जेल हालिएको विषय जनतालाई बुझाउन खोजेको उनले बताइन् । ‘हामीले मूलतः टीकापुर घटनाको विषयलाई उठायौँ । योसँगसँगै विकासका मुद्दा पनि थिए,’ उनले भनिन्, ‘रेशमजीकै पहलमा यो पार्टी गठन भएको हो । उहाँलाई साथसमर्थन गर्नेहरूले हामीलाई सहयोग गरे ।’